प्रश्नपत्र निर्माणदेखि ‘मोडेरेसन’ गर्नेमाथि कारबाही हुने


–परीक्षा स्थगित गर्न दबाब

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयमा शिक्षाशास्त्र संकाय स्नातकोत्तर तह (एमएड) दोस्रो सेमेस्टर शिक्षा तथा विकास विषयको ७ वटा प्रश्नपत्र हुबहु दोहोरिएको विषयमा प्रश्नपत्र निर्माणदेखि मोडेरेसन गर्ने शिक्षकमाथि समेत कारबाही गर्ने तयारी भएको छ ।
त्रिविका उपकुलपति प्राडा दीपक अर्यालले प्रश्नपत्र दोहोरिएको विषय गम्भीर त्रुटि भएको बताउँदै सो प्रश्नपत्र निर्माण कार्यमा संलग्नमाथि कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

प्रश्नपत्र हुबहु आएको विषयमा नेपाल समाचारपत्रले प्रश्नपत्रसहित समाचार प्रकाशित गरेको थियो । लगत्तै शिक्षाशास्त्र संकाय डीनको कार्यालयमा बसेको बैठकले छानबिन समिति गठन गरेको छ । स्रोतका अनुसार उपकुलपति प्राडा अर्यालले करिब ७ हजार विद्यार्थी सहभागी परीक्षाको गतवर्षकै प्रश्नपत्र दोहोरिएपछि पुनः परीक्षा लिन परीक्षा प्रमुख एवं रेक्टर रजिष्ट्रार केदार रिजाललाई निर्देशन दिनुभएको छ ।

‘सकभर पुनः परीक्षा हुन्छ, यदि त्यसो नभएमा प्रश्नपत्र निर्माण र मोडेरेसन गर्नमाथि कारबाही गर्ने तयारी गरेको छ’ –स्रोतले भन्यो । शिक्षाशास्त्र संकायका डीन प्राडा वेदराज आचार्यले प्रश्नपत्र दोहोरिएको विषय सञ्चारमाध्यममा समाचार आएपछि मात्र आफूलाई जानकारी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘परीक्षा सकिएको करिब दुई सातापछि मात्र जानकारी पाएँ, त्यसमा हाम्रो गम्भीर गल्ती भएको छ ।’ उहाँका अनुसार सो विषयमा छानबिन गर्न समिति गठन भएको छ । उहाँले गोप्यताका कारण समितिको नाम भन्न नमिल्ने बताउनुभयो ।

७–७ वटा प्रश्नपत्र हुबहु आउँदा पनि डीन आचार्यले ३ वटामात्र हुबहु आएको दोहो¥याइरहनुभएको छ । उहाँले यस विषयमा सम्बन्धित सबैसँग सोधपुछ गरी समिति गठन गरेको जानकारी दिनुभयो । उपकुलपति प्राडा अर्यालले यस विषयमा प्रतिवेदन आएपछि मात्र थप कारबाही हुने बताउनुभयो ।

सो विषयमा जानकारी लिन रेक्टर प्राडा अर्याललाई सम्पर्क गर्दा मोबाइल स्विच अफ गरिएको थियो । विगतको नजिर अनुसार छानबिन र आवश्यक कारबाही अघि बढाउनुपर्छ । उपकुलपति प्राडा अर्यालले भन्नुभयो– ‘समिति बनाएर छानबिन गर्न र गलत गर्नेमाथि कारबाही गर्न निर्देशन दिनेछ ।’