गाँजासहित ७ जना पक्राउ


हेटौंडा ।

हेटौंडामा प्रहरीले मंगलबार राति करिब १ बजे यात्रुबाहक बसबाट गाँजा बरामदसँगै ७ जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुरको मनहरी गापा वडा–७, मनहरी बजारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले गाँजा बरामद गरेको हो ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र. ०१–००६ ख ७७०१ नम्बर यात्रुबाहक बसका यात्रीहरुलाई शंका लागेर खानतलासी गर्ने क्रममा उनीहरुले लुकाइल्याइएको अवस्थामा प्रतिवन्धित लागुऔषध गाँजा ५३ किलो ५ सय ७० ग्राम फेला परेको हो । उक्त लागुऔषध बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमतिसहित थप अनुसन्धान कार्य भइरहेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गापा वडा–९ अठारे घर भइ हाल चितवन राप्ति नपा–१ पिप्ले बस्ने वर्ष ४८ का होमराज अधिकारी, मकवानपुर राक्सिराङ गापा–९ अठारे बस्ने वर्ष ३० का हीरालाल प्रजा, वर्ष १९ का सुकराम प्रजा, वर्ष १९ का रामशरण प्रजा, वर्ष २५ की विन्दुमाया प्रजा, वर्ष २९ की रञ्जिता प्रजा र वर्ष ३० की शुक्रमाया प्रजा छन् ।