बिलबिनाका मोबाइल पार्ट्ससहित बस र ४ जना स्टाफ नियन्त्रणमा


काठमाडौं ।

बिलबिनाका मोबाइल पार्ट्स बोकेको बससहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मिति २०८२ साल पुस १६ गते बिहान ६ः१५ बजे काठमाडौं जिल्ला नागार्जुन नगरपालिका–४ स्थित बाफल चोकमा धनगढीबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४९५ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरिएको हो।

प्रहरीका अनुसार बसको डिक्कीभित्र लुकाइ राखिएको अवस्थामा बिलबिनाका २८ कार्टुन मोबाइल पार्ट्स फेला परेका थिए। बरामद सामानमा २७ बोरामा प्याक गरिएको १५ सय पिसका दरले जम्मा ४० हजार ५०० पिस टेम्पर्ड ग्लास रहेका छन्। ती टेम्पर्ड ग्लासको प्रतिपिस अन्दाजी मूल्य ३५ रुपैयाँका दरले कुल मूल्य १४ लाख १७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ। यसैगरी, एक बोरामा १०० पिस एयरपड्स फेला परेका छन्।

ती एयरपड्सको प्रतिपिस अन्दाजी मूल्य ८ सय रुपैयाँका दरले ८० हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ। बरामद सबै सामानको जम्मा अन्दाजी मूल्य १४ लाख ९७ हजार ५ सय रुपैयाँ रहेको छ। घटनापछि बस, बसका चार जना स्टाफ तथा बरामद सामानलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि वृत्त स्वयम्भुमा राखिएको काठमाडौं प्रहरीले जनाएको छ। बिलबिनाको सामान ओसारपसार कसरी र कसको संलग्नतामा भएको हो भन्ने विषयमा आवश्यक छानबिन भइरहेको प्रहरीले जानकारी दिएको छ।