निर्वाचन नजिकिँदै गर्दा एकपछि अर्को सरुवा गर्दै प्रशासनमा चरम हस्तक्षेप

गृह प्रशासनलाई लयमा ल्याउने सचिवकै सरुवा


–सचिव सरुवामा नै हेरिँदैन विज्ञता 

–मन्त्रीहरुद्वारा एसम्यान सचिवको खोजी 

 काठमाडौं। 

२१ फागुनको निर्वाचन नजिकिँदै गर्दा सरकारले कर्मचारी प्रशासनमा हस्तक्षेपको पारो बढाउन थालेको छ । निर्वाचन आउनै लाग्दा गृह मन्त्रालय लगायतका विभिन्न महत्त्वपूर्ण मन्त्रालयमा सचिवहरुको सरुवा गर्दै सरकारले निर्वाचनलाई झनै शंकास्पद बनाउन थालेको पाइएको छ । 

यसैक्रममा सरकारले सोमबार गृह मन्त्रालय लगायत विभिन्न मन्त्रालय र निकायका सचिवहरुको सरुवा गरेको छ । निर्वाचनमा शान्ति सुरक्षा र अमनचयन राख्न मुख्य भूमिका खेल्ने गृहमन्त्रालयकै सचिवको सरुवा गरेर सरकारले शान्ति सुरक्षाको अवस्थालाई खेलबाड गर्न खोजेको आरोप गृह मन्त्रालयकै कर्मचारीहरुको छ । 

गृह प्रशासन सुधारको लागि हरपल दत्तचित्त रहँदै आएका गृहसचिव रामेश्वर दंगाललाई अन्यायपूर्ण रुपमा हटाइएको छ । जेनजी आन्दोलन पछि सुशासन कायम गर्न र निर्वाचन गराउन भन्दै बनेको वर्तमान सरकारले कर्मचारी प्रशासनमा अनावश्यक हस्तक्षेप गरी सुशासनलाई कमजोर बनाउने काम गरेको कर्मचारीको आरोप छ  । जेनजी सरकार बनेलगत्तै ३ महिना अघि यही सरकार र गृहमन्त्री ओमप्रकाश अर्यालले नै गृहमा ल्याएका  सचिव दंगाललाई ३ महिनामा नै हटाउनुले गृहमन्त्रीको कार्यसम्पादनमाथि नै गम्भीर प्रश्न चिन्ह सिर्जना गरेको छ । 

जेनजी आन्दोलनको क्रममा सबैभन्दा बढी  तारोमा परी खरानी नै भएको गृहमन्त्रालयलाई लयमा ल्याउन र त्यहाँको कामलाई प्रभावकारी बनाउन गृहसचिव दंगालले नीकै महत्त्वपूर्ण भूमिका खेलेका थिए । दंगाल गृहसचिवको रुपमा आउँदा गृह मन्त्रालय अस्तव्यस्त अवस्थामा रहेको थियो । त्यतिखेर गृहसचिवको रुपमा जान प्राय सबै सचिवहरुले  अनिच्छा व्यक्त गरेका थिए । तर, रक्षा मन्त्रालयमा रहेका  दंगालले गृहमन्त्रालयमा गई खरानी भएको मन्त्रालयलयलाई लयमा ल्याउन अहोरात्र खटिएका थिए । त्यतिखेर गृहमन्त्रालय अन्तर्गत रहेको कर्मचारी व्यवस्थान प्रक्रिया भद्रगोल रहेको थियो । २०–२२ जना उपसचिव र ५–६ जना सहसचिवहरु वरण्डा शाखामा राखेर जिम्मेवारीविहीन बनाइएको थियो । जब सचिवको रुपमा दंगाल आए उनले ती सबै कर्मचारीहरुलाई व्यवस्थापन गरे । 

त्यसैगरी गृह मन्त्रालयले गर्नुपर्ने कैयौ महत्त्वपूर्ण नीतिगत निर्णय सहितका दर्जनौं  फाइलहरु पेण्डिङमा राखिएको थियो । सचिव दंगालले ती सबै फाइलहरुलाई राफसाफ गरिदिएका थिए । यसैगरी प्रहरीमा कमाण्ड कन्ट्रोललाई चुस्त राख्नुका साथै मुलुकको समग्र शान्ति सुरक्षाको अवस्थालाई सुदृढ राख्न गृहसचिव दंगालले महत्त्वपूर्ण भूमिका खेलेका थिए । ध्वस्त र खरानी भएको  गृहमन्त्रालयलाई छोटो समयमा नै लयमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका  सचिव दंगाललको एक्कासी सरुवा भएपछि मन्त्रालयमा रहेका अधिकांश कर्मचारीहरु अचम्ममा परेका छन् । मन्त्री अर्यालले केही  बद्मास, कामचोर, र तर मार्न पल्केकका कर्मचारीहरुको कुरा सुनेर गृहसचिव दंगाललाई हटाएको र यसले आगामी दिनमा गृह प्रशासनमा ठुलो समस्या आउन सक्ने चेतावनी कर्मचारीहरुले दिएका छन् ।दंगाल निजामती सेवामा  हक्की स्वभावका सुधारक सचिवका रुपमा परिचित छन्   ।

 गृहसचिव दंगाललाई  लोकसेवा आयोगमा सरुवा गरी गृह मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई लगिएको छ । श्रेष्ठलाई एसम्यान सचिव बनाउने उद्देश्य सहित गृहमा लगिएको दावी कर्मचारीहरुको छ । यसैगरी लोकसेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लगिएको छ । यसैगरी राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेलाई श्रम रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ भने युवा तथा खेलकुद मन्त्रालयका सचिव डा हरि लम्साललाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । श्रम मन्त्रालयका सचिव कृष्णहरि पुश्करलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ भने उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेललाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । सरकारले सचिव सरुवामा कुनै मापदण्ड र विज्ञता समेत नहेरी हचुवाका आधारमा सरुवा गर्दै आइरहेको भन्दै सरकारको आलोचना भएको छ ।