दोषारोपण होइन आत्मसमीक्षा गरौं


देश आज गम्भीर राजनीतिक, आर्थिक र नैतिक संक्रमणको मोडमा उभिएको छ । यस्तो संवेदनशील घडीमा हाम्रा नेताहरूले हरेक समस्याको दोष केवल भू–राजनीति, बाह्य शक्ति वा परिस्थितिमाथि थोपर्ने पुरानै प्रवृत्ति दोहो¥याइरहनु दुर्भाग्यपूर्ण छ । वास्तविक समस्या त्यसभन्दा गहिरो छ । नेतृत्व र आम जनताबीच टुटेको भरोसा, कमजोर चरित्र र विगतका गम्भीर त्रुटिहरूको आत्मस्वीकृतिको अभाव नै आजको संकटको मूल जड हो ।

हिजो शासन सञ्चालन गर्दा गरिएका गलत निर्णय, भ्रष्ट अभ्यास, सत्ताको दुरुपयोग र जनअपेक्षाप्रतिको उपेक्षाबाट पाठ सिक्नुको सट्टा आज पनि उही गल्ती दोहो¥याउने संकेत देखिनु चिन्ताजनक छ । अब नेताहरूले आत्मसमीक्षासहित सार्वजनिक रूपमा त्रुटि स्वीकार गर्दै आगामी दिनमा गल्ती नगर्ने स्पष्ट प्रण गर्नै पर्छ । जनतासँग पुनः नाता जोड्ने पहिलो आधार नै यही हो ।
हाल बालेन साह र रवि लामिछानेबीच भएको सातबुँदे सहमतिले पुराना राजनीतिक दलहरूलाई स्वाभाविक रूपमा दबाबमा पारेको छ । पुराना दलहरू आत्तिएको देखिनु संयोग होइन ।

यो दबाब उनीहरूले हिजो गरेका अक्षमता, अहंकार र भ्रष्ट प्रवृत्तिको प्रतिफल हो । आज वैकल्पिक शक्तिको उदय आकस्मिक होइन; त्यो पुराना दलहरूकै असफल शासनको परिणाम हो भन्ने तथ्य स्वीकार गर्नै पर्छ । तर यसको अर्थ पुराना दलहरूलाई पूर्णरूपमा निषेध गर्दै अघि बढ्नुपर्छ भन्ने होइन । इतिहासले बारम्बार सिकाएको पाठ के हो भने, अनुभव र जोशबीच सन्तुलन नबनाई समृद्धि सम्भव हुँदैन । पुरानाहरूको अनुभव र नयाँहरूको ऊर्जा, इमानदारिता र प्रतिबद्धता एक–आपसमा जोडिन सके मात्र देशले दिगो विकासको बाटो समाउन सक्छ ।

यसै कारण, नयाँ र वैकल्पिक शक्ति भनेर चिनिएका दल तथा नेतृत्वले पनि पुरानाहरूप्रति सत्तोसराप र प्रतिशोधको राजनीति गर्नु शोभनीय हुँदैन । उनीहरू झनै उदार, लोकतान्त्रिक मूल्यमा अडिग र विकासप्रति स्पष्ट प्रतिबद्ध देखिनु आजको आवश्यकता हो । विकल्प हुनु भनेको विरोध मात्रै होइन; राम्रो अभ्यास प्रस्तुत गर्नु पनि हो । वैकल्पिक शक्तिहरूबीच देखिएको एकतालाई नकारात्मक दृष्टिले हेर्नु पनि गलत हुनेछ । यदि यो एकता पद, शक्ति वा सस्तो लोकप्रियताका लागि होइन, विगतका शासकहरूको गल्ती र भ्रष्ट प्रवृत्तिबाट पाठ सिकेर मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता र दण्डहीनता अन्त्य गर्न केन्द्रित छ भने यसले देशलाई विकासको चरणतर्फ धकेल्न सक्छ ।

तर नयाँ शक्ति भनिएका दलहरुले पनि पुराना नेताहरुकै जस्तो चरित्र कुनै हालतमा अपनाउन हुँदैन । कता–कता नयाँ शक्तिका नेताहरुमा पनि पदलोलुप प्रवृत्ति हाबी हुने पो हो कि भन्ने चिन्ता र चासो देखिन थालेको छ । यस प्रकारका चिन्ता र चासोबाट उनीहरुले पाठ सिक्न जरुरी छ । पुराना नेताहरुको जस्तो भ्रष्ट संस्कृति नयाँ नेताहरुमा किमार्थ पनि देखिनुहुँदैन ।

अन्ततः आजको प्रश्न पुराना बनाम नयाँ होइन, सही बनाम गलतको हो । जनताले अब भाषण होइन, चरित्र सुधार, स्पष्ट योजना र कार्यान्वयन खोजेका छन् । दोषारोपणको राजनीति त्यागेर आत्मसमीक्षा, सहकार्य र समन्वयको बाटो रोज्न सके मात्र लोकतन्त्र बलियो हुन्छ र देशले सही दिशामा गति लिन्छ । यही आजको राष्ट्रिय आवश्यकता हो ।