बाजुरा ।
अब बाजुराका करदाताले कर चुक्ता गर्न जिल्लाबाहिर धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । नेपाल सरकारको निर्णयअनुसार करदाता सेवा कार्यालय अछाम खारेज भएसँगै पुस ६ गतेदेखि कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) बाजुराबाटै करदाता सेवा सञ्चालनमा आएको हो । सेवा सुरु भएको दुई दिनमै १५० सेवाग्राहीले प्रत्यक्ष लाभ लिएका छन् ।
जिल्लाको विकट हिमाली क्षेत्र बामका स्थानीय तथा कृषक समूहका अगुवा कर्णबहादुर रोकायाले करचुक्ताका लागि वर्षेनी अछाम पुग्नुपर्दा पाँच दिन समय र १५–२० हजार रुपियाँ खर्चिनुपर्ने बाध्यता रहेको बताउनुभयो । ‘अब जिल्लामै सेवा पाएपछि चार हजार रुपियाँमै एकै दिनमा काम सकियो’, उहाँले खुसी व्यक्त गर्नुभयो । करचुक्तापछि घरेलु, भेटनरीलगायतका कामसमेत एकै दिन सम्पन्न गरी साँझसम्म घर फर्कन पाउँदा झन् सहज भएको उहाँको अनुभव छ ।
त्यस्तै, जगन्नाथ गाउँपालिकाकी अमृता डँडाले पनि आफ्ना व्यावसायिक फर्मको प्यान नम्बर जिल्लामै निकाल्न सफल भएको बताउनुभयो । ‘पहिले अछाम जाँदा १८–२० हजार खर्च हुन्थ्यो, यसपटक तीन हजारमै काम भयो’ –उहाँले भन्नुभयो । अब यो सेवा निरन्तर चले हजारौँ करदाता लाभान्वित हुने उहाँको विश्वास छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराका कोष नियन्त्रक कृष्णसिंह भण्डारीका अनुसार परिपत्रअनुसार अछामबाट हुँदै आएको करदाता सेवा अब जिल्लाबाटै प्रवाह हुन थालेको हो । लेखापाल धनबहादुर थापाले सीमित जनशक्ति र स्रोतका बाबजुद प्रविधिमैत्री ढंगले सेवा प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार नयाँ प्यान दर्ता, नवीकरण, बायोमेट्रिक, कारोवार थप–घटलगायतका जिम्मेवारी थपिएका छन् ।
तर, सेवाग्राहीको उत्साहसँगै चुनौती पनि उत्तिकै छ । बाजुरामा तीन जना कर्मचारीले १२ जनाको कार्यभार धान्नुपरेको छ । सवारी साधन र आवश्यक उपकरणको अभावले काममा थप कठिनाइ देखिएको छ । सूचना अधिकारी देवी खत्रीले जिम्मेवारी थपिँदै जाँदा सरकारले साधन–स्रोत र जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
जिल्लामै करदाता सेवा सुरु भएपछि स्थानीय स्तरमै रोजगारी, होटल व्यवसाय र राजस्व संकलनमा वृद्धि हुने अपेक्षा गरिएको छ । कार्यालय सुदृढीकरणमा ढिलाइ नगर्न स्थानीय सेवाग्राहीको सुझाव छ ।











प्रतिक्रिया