श्रवणदृष्टिविहीन बालबालिका अझै शिक्षाको पहुँच बाहिर

सरकारी नीति कार्यान्वयनमा चुनौती

470
Shares

काठमाडौं ।

नेपालको संविधान र राष्ट्रिय शिक्षा नीतिले सबै नागरिकका लागि समावेशी शिक्षाको ग्यारेन्टी गरे पनि नेपालका श्रवणदृष्टिविहीन (बहिरा–दृष्टिविहीन) बालबालिकाहरू अझै पनि गुणस्तरीय शिक्षाको पहुँचबाट टाढा रहेका छन् । राष्ट्रिय बहिरा महासंघ नेपाल र बहिरा श्रवण दृष्टिविहीन अभिभावक समाज नेपालले संयुक्त रूपमा आयोजित कार्यक्रममा यो गम्भीर अवस्थाप्रति सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा बहिरा श्रवण दृष्टिविहीन अभिभावक समाज नेपालका अध्यक्ष लाप्का नुरु शेर्पाले अपांगतासम्बन्धी महासन्धि २००६ लाई नेपालले २००९ मा अनुमोदन गरेकाले यसलाई अपांगतासम्बन्धी अधिकारका नीतिलाई महासन्धिअनुसार बनाउँदै जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारले ‘राष्ट्रिय शिक्षा नीति २०७६’ जारी गर्दै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्ने स्पष्ट व्यवस्था गरेको बताउनुभयो । त्यसै गरी, नेपालको संविधान २०७२ को धारा ३१ ले शिक्षालाई प्रत्येक व्यक्तिको मौलिक हकको रूपमा स्वीकार गरेको छ ।

नेपालले अनुमोदन गरेको संयुक्त राष्ट्रसंघीय अपाङ्गता अधिकार महासन्धिको धारा २४ ले पनि भेदभावरहित शिक्षाको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । तर, विद्यालयमा पढाएको कुरा नसुन्ने समस्या भएपछि क्षमतामा ह्रास आउँदै जान्छ । आँखाको समस्या भएका व्यक्तिमा कान नसुन्ने समस्या पनि हुन सक्ने सम्भावना हुन्छ । कान र आँखा इन्द्रियसम्बन्धी अपांगतामा पर्छ तर बहुअपांगता होइन भन्नुभयो ।

विश्वको शून्य दशमलव २ प्रतिशत जनसंख्या श्रवणदृष्टिविहीन हुन सक्छन् । नेपालको पछिल्लो जनगणनाअनुसार १० हजार १ सय ८७ जना श्रवणदृष्टिविहीन व्यक्तिहरू सूचीकृत भए पनि अझै धेरै व्यक्तिहरू पहिचान र सेवाबाट बाहिर रहेको अवस्था छ । विशेष गरी बालबालिकाको पहिचानमा चुनौती रहेको छ । यो समस्या राष्ट्रिय परिचयपत्र बनाउनेदेखि अपांगता दर्तामा फरक पहिचान दिनुले तथ्यांकमा उल्लेख गरिएको भन्दा कम हँुदै गएको अवस्था छ । बहिरा अपांगता पनि श्रवणदृष्टिविहीनमा पर्छन् भन्नुभयो ।

श्रवणदृष्टिविहीन बालबालिकाको विशिष्ट सञ्चार र सिकाइ आवश्यकतालाई सम्बोधन गर्ने संरचना, सेवा र दक्ष जनशक्तिको अभावका कारण यी प्रावधानहरू व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको सरोकारवालाले जनाएका छन् । कति जन्मजात र कति दुर्घटना, जन्मपछि, बिरामी भएर, वंशाणुगत पनि श्रवणदृष्टिविहीन हुन सक्छन् ।

विश्व स्वास्थ्य संगठन र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरू (डब्लूएफडीबी, २०२२) को अनुमानअनुसार विश्व जनसंख्याको करिब ०.२ प्रतिशत देखि २ प्रतिशतसम्म व्यक्तिहरू श्रवणदृष्टिविहीन हुन सक्छन् । नेपालको पछिल्लो जनगणनाअनुसार १० हजार १ सय ८७ जना श्रवणदृष्टिविहीन व्यक्तिहरू सूचीकृत भएका छन् । तर, अझै पनि धेरै व्यक्तिहरू, विशेषगरी दुर्गम क्षेत्रका बालबालिकाहरू, पहिचान र सेवाबाट बाहिर रहेको अवस्था छ ।

श्रवणदृष्टिविहीनता केवल सुनाइ र दृष्टि गुम्नुको साधारण जोड मात्र नभई, दुवै इन्द्रियगत अपांगताहरूको संयुक्त अन्तरक्रियाबाट उत्पन्न हुने एक विशिष्ट अवस्था हो । यस्ता व्यक्तिहरूका लागि स्पर्शमा आधारित सञ्चार विधि, दोभासे वा मार्गदर्शक सेवा र व्यक्तिगत आवश्यकतामा आधारित शैक्षिक रणनीतिहरू अनिवार्य हुन्छन् ।

हाल काठमाडौं, कास्की, रूपन्देही, मोरङ र चितवन जिल्लामा मात्र स्रोत कक्षा तथा विद्यालय र घरमा आधारित शिक्षामार्फत ३ सय भन्दा बढी बालबालिकाले सेवा लिइरहेका छन् । तर, दक्ष जनशक्तिको अभाव, अभिभावकमा सचेतनाको कमी, र उच्च विद्यालय छोड्ने दरजस्ता समस्याले गर्दा अन्य जिल्लाहरूमा सेवा विस्तार हुन सकेको छैन ।

आयोजक संस्थाहरूले श्रवणदृष्टिविहीन बालबालिकाको अधिकारका लागि सञ्चार माध्यमहरूको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । उनीहरूले खोज पत्रकारिता र जनचेतना अभिवृद्धि मार्फत सरकारमाथि सकारात्मक दबाब सिर्जना गर्न आग्रह गरेका छन् । यसका साथै स्थानीय सरकारसँग अपांगताको पहिचान खोलेको प्रमाणपत्र लिएको हुन्छ । पछि परिवर्तन गर्न ठूलो समस्या छ । आर्थिक, सामाजिक, पारिवारिकलगायतका समस्या अझ बढेर गएको छ । अभिभावकले पनि पहिचान गर्न गाह्रो अवस्था छ । शिक्षा प्राप्तिमा पनि त्यतिकै समस्या छ ।

श्रवणदृष्टिविहीन व्यक्तिहरूको सम्मानजनक र आत्मनिर्भर जीवन सुनिश्चित गर्न नीति, कार्यक्रम र व्यवहारमा ठोस परिवर्तन ल्याउन सबै सरोकारवाला पक्षहरूसँग अपिल गरिएको छ । शिक्षा मात्र नभई शिक्षितले बाहिरको रोजगारी गुमाउने र नयाँले रोजगारी नपाउने अवस्था बढ्दो छ । स्पर्श संकेतका माध्यमबाट, ह्याप्टिक सांकेतिक भाषा पनि प्रयोगमा आएको छ ।

नजिकबाट वा ठूलो अक्षरमा लेखेर दिँदा केही व्यक्तिले पढ्न सक्नुहुन्छ । हत्केलामा लेखेर पनि सञ्चार गर्न सक्छौं । दृष्टिविहीनले लेखेर बुझ्नुहुन्न श्रवणदृष्टिविहीनले हत्केलामा लेख्दा बुझ्ने जानकारी गराइयो । काठमाडौं, कास्की, मोरङ, चितवन, रूपन्देहीमा स्रोत कक्षा सञ्चालन गरिएको अध्यक्ष शेर्पाले जानकारी गराउनुभयो ।