कांग्रेसद्वारा राष्ट्रिय सभाको अधिवेशन तत्काल बोलाउन माग


काठमाडौँ ।

नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन माग गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेटवार्ता गरेको छ।

नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायको नेतृत्वमा गएको टोलीले बुधबार अध्यक्ष दाहाललाई भेटी पार्टीको संसदीय दलको निर्णयबारे जानकारी गराउँदै राष्ट्रिय सभाको अधिवेशन तत्काल आह्वान गर्न पहल गर्न आग्रह गरेको हो।

कांग्रेसले गत पौष १० गते बसेको संसदीय दलको बैठकको निर्णय स्मरण गराउँदै देशमा उत्पन्न भएको राजनीतिक विषम परिस्थितिमा प्रतिनिधि सभा असंवैधानिक रूपमा विघटन गरिएको उल्लेख गरेको छ। यस्तो अवस्थामा जनताका आवाज उठाउने सार्वभौम संघीय संसदअन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेकाले राष्ट्रिय सभाको बैठक बस्न अपरिहार्य भएको कांग्रेसको ठहर छ।

त्यसै कारण सम्माननीय अध्यक्षमार्फत सम्बन्धित निकायसँग समन्वय गरी राष्ट्रिय सभाको अधिवेशन तत्काल बोलाउन अनुरोध गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।

भेटवार्तामा राष्ट्रिय सभा सदस्यहरू कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, विष्णु सापकोटा र पदम परियारलगायतको सहभागिता रहेको थियो।