प्रचारप्रसारको पर्खाइमा गत्लाङको नोजेकुण्ड

1.32k
Shares

रसुवा ।

रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ३ स्थित गत्लाङमा रहेको नोजेकुण्ड संरक्षण र प्रचारप्रसारको पर्खाइमा रहेको छ । गत्लाङका स्थानीय राजेश लामा र फुर्पुसिंगी तामाङ भन्नुहन्छ, ‘यो कुण्ड एकदमै फरक प्रकारको विषेशता भएको कुण्ड हो । यस ठाउँमा पुगेर मागेको कुरा पुग्ने हुन्छ । यतिसम्म कि बालबच्चा नहुनेले आत्मविश्वासले यहाँ पूजा गरेमा सन्तान हुने विश्वास रहेको छ ।’

समुद्री सतहबाट ३ हजार ८ सय मिटरको उचाइमा रहेको यो कुण्डमा पूजा गर्दा घिउ र दूधबाहेक अरू चढाउन मिल्दैन । यो कुण्ड प्राकृतिक सुन्दरताको बीचमा भएकोले मनोरम देखिन्छ । यस क्षेत्रलाई स्थानीय भाषामा न्योजे खर्क तथा ज्यार्सा तेन्जे क्षेत्र भनेर पनि चिनिन्छ ।

यो कुण्ड स्थानीयलाई बाहेक कसैलाई थाहा नभएको र खोजीको विषय नबन्दा प्रचारप्रसार र संरक्षणको अभाव रहेको छ । यो पनि हाइकिङ र धार्मिक स्थलको रूपमा रहन सक्ने सम्भावना छ । स्थानीय सरकारले यस्ता ठाउँको संरक्षण र प्रचार गर्नु जरुरी देखिन्छ । गत्लाङवाट एकदिनमा यो ठाउँमा पुगेर फर्किन सकिन्छ । गाडीमा गए ३ घण्टामै पुग्न सकिन्छ ।

सत्ययुगमा गुरु पेमा साबवाले यो कुण्ड पत्ता लगाएको भन्ने छ । हरेक वर्ष जनैपूर्णिमाका दिन झाँकीसहित भानिसहरु यहाँ पुग्ने गर्दछन् । यो मानवनिर्मित कुण्ड होइन । यहाँ गुरु रिम्पोछेले तपस्या गरेका थिए पनि भनिन्छ । यो कुण्डको पानी खाएमा वा मुख धोए मात्रै पनि शारीरिक भित्री र बाहिरी रोग हराउने भनाइ छ । पार्वती कुण्ड, सरस्वती कुण्ड, नोजेकुण्ड, दूधकुण्ड दिदीबहिनीजस्तै भई नजिक–नजिक रहेका छन् । यो कुण्ड कुनै सानोतिनो कुण्ड होइन, यहाँ अरू तालमा जस्तो हेलचक्र्याइँ गर्न मिल्दैन ।