रवि, वालेन र कुलमानबीचको वार्तामा किन देखियो समस्या ?


-बालेनको प्रस्ताव : ५०–५० प्रतिशत शक्ति बाँडफाँट

-रास्वपालाई अमान्य

-वार्तामा आफूहरूलाई नराखेकोमा जेन–जी अगुवाहरूको आपत्ति

-कुलमानको प्रधानमन्त्री बन्ने योजनामा धक्का

-सञ्चारमन्त्रीसमेत थिए कुलमानको लबिङमा

, काठमाडौं।

शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालका लागि पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन साहबीच मात्र सम्झौता टुंग्याउने प्रस्ताव गरेको थियो । तर, बालेनले कुलमान घिसिङलाई पनि समेट्ने सम्झौता गर्नुपर्ने विचार राखेपछि घिसिङ व्यक्तिगत रूपमा समेटिने वा उहाँले प्रतिनिधित्व गर्ने उज्यालो नेपाल पार्टीसमेत सम्झौतामा पर्ने हो भन्ने विषय अझै स्पष्ट भएको छैन ।

बालेनले सबै तहमा ५०–५० प्रतिशत शक्ति बाँडफाँटको प्रस्ताव अघि सार्नुभएको छ तर उहाँका पछाडि को को छन् भन्ने कुरा अझै खुल्न सकेको छैन । बालेनको पक्षमा कुलमान, उज्यालो पार्टी, देश विकास पार्टी तथा जेन–जी समूहहरू पर्ने भनिए पनि जेन–जी आफैं छरिएको छ । जेन–जीभित्र सुधन गुरुङ, रक्षा बम, मिराज ढुंगानालगायत को–को समेटिन्छन् भन्ने विषय स्पष्ट छैन । जेन–जी समेटिन्छ कि समेटिँदैन भन्ने विषय पनि अन्योलमै छ ।

रास्वपाको चाहना हाल पार्टी सभापति रवि लामिछाने र बालेन साहबीच मात्रै सहमति गर्ने रहेको थियो । तर, बालेन यसमा सहमत भएनन् । रास्वपाले ५०–५० प्रतिशतको भागबण्डाले पार्टीभित्र गलत प्रवृत्ति जन्मिन सक्ने भन्दै पार्टीमा भागबण्डाभन्दा पनि जुन पार्टी सक्षम छ, उसैले नेतृत्व पाउने संस्कार विकास हुनुपर्ने धारणा अघि सारेको छ । बालेनले तीन जना उपाध्यक्ष बनाउने र त्यसमध्ये एक जना अनिवार्य रूपमा कुलमान घिसिङ हुनुपर्ने प्रस्ताव गरेकामा पनि रास्वपाको धारणा जो योग्य छ, उसैले पाउनुपर्छ भन्ने नै रहेको छ ।

शुक्रवार बालेनको टोलीले छलफल गरेर शनिवार अन्तिम निर्णयमा पुग्ने योजना बनाएको थियो । तर, शनिवार बालेनको टोलीले घिसिङसँग भेट गरे पनि रास्वपासँग कुनै सम्पर्क गरेन । साथै रास्वपालाई त्यसबारे कुनै जानकारी पनि नदिएको रास्वपाका एक नेताले बताए ।

दुई हप्ता अघिसम्म घिसिङ चुनावपछि देशको प्रधानमन्त्री बन्ने योजनामा हुनुहुन्थ्यो । तर, रवि जेलबाट बाहिर निस्किएपछि र एकाएक बालेनले पनि प्रधानमन्त्री बन्ने इच्छा प्रकट गरेपछि घिसिङको प्रधानमन्त्री बन्ने योजना कमजोर भएको देखिन्छ । एक महिना अघिसम्म कुलमानलाई रास्वपाको अध्यक्ष बनाउन सञ्चारमन्त्री जगदीश खरेलले समेत रास्वपाका विभिन्न नेताहरूलाई भेटेर तीव्र ‘लबिङ’ गर्नुभएको थियो तर रास्वपा मानेको थिएन । पछिल्ला घटनाक्रमले कुलमानको रास्वपाको अध्यक्ष भई प्रधानमन्त्री बन्ने योजना विफल भएको देखिन्छ ।

जेन–जीहरू यो आन्दोलन रास्वपा, कुलमान वा बालेनको नभई मूलतः आफूहरूको भएको दाबी गर्दै आफ्नो आन्दोलन अपहरण भएको महसुस भएको बताइरहेका छन् । सबैले जेन–जीलाई केटाकेटीजस्तो खेलाइरहेको आरोप जेन–जीकै वृत्तमा उत्रन थालेको छ । रास्वपा र बालेनबीचका बैठकमा जेन–जीको प्रतिनिधित्व नहुँदा जेन–जी स्वयं अपमानित भएको महसुस भएको जेन–जीकै अगुवाहरुले बताइरहेका छन् ।

जेन–जीलाई समेट्न नसक्दा वैकल्पिक राजनीतिक शक्तिहरूबीचको एकता कसरी सफल हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ । शुक्रवार भएको सहमति भनेको रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा बालेन साह प्रधानमन्त्री हुने र चुनाव चिह्न घण्टी नै राख्ने हो । यसबाहेक अन्य कुनै विषयमा सहमति भएको छैन । रवि पक्षबाट वार्तामा स्वर्णिम वाग्ले, शिशिर खनाल र आशिम साह सहभागी हुनुहुन्थ्यो भने बालेन पक्षबाट कुमार बेन र भूपदेव सहभागी हुनुहुन्थ्यो ।