न्युरोड र दरबार मार्ग सडक बत्ती जडान प्रकरण: ठेक्का लगाउँदा खरिद इकाईको बार्गेनिङ

6.2k
Shares

–मूल्याङ्कन समितिलाई गुमराहमा राखेर धमाधम निर्णय, इकाईको गतिविधिले कामपाका सबै निकाय त्रसित

काठमाडौं।

काठमाडौं महानगरपालिकाका खरिद इकाई कार्यलयको बार्गेनिङका कारण ठूला योजनाका करिब आधा दर्जन काम अलपत्र परेका छन् । फोहोर व्यवस्थापन ठेक्का, रोड मार्किङ हुँदै सडकबत्तीको कामसमेत अलपत्र परेको छ । कामपा उच्चस्रोतका अनुसार खरिद इकाई प्रमुख रामरतन साहको बार्गेनिङका कारण खरिद इकाईबाट ठेक्कामा हुने काम अलपत्र पर्न थालेको छ ।

साहका कारण निर्णयमा हस्ताक्षर गर्न नचाहने विभागीय, महाशाखा र शाखा प्रमुखले प्रमुख प्रशासकीय अधिकृत, प्रशासन विभाग प्रमुखसँग गुनासो गर्न थालेका छन् । नेपालसमाचारपत्रसँग प्रमाणसहितको पछिल्लो उदाहरण प्राप्त भएको छ । सो ठेक्का सार्वजनिक निर्माण विभागको हो । दरबारमार्ग र न्युरोडको सडकबत्ती जडान गर्न भएको अनियमिततासँग जोडिएको छ । इकाई प्रमुख साहले मूल्याङ्कन समितिलाई समेत गुमराहमा राखी सेटिङ गरेको खुलेको छ ।
इकाई प्रमुख साहले टेक्निकल स्पेसिफिकेसन चेकजाँच गर्न दुईवटा कम्पनीको नाम सार्वजनिक निर्माण विभागलाई पठाएको थियो । ब्राइट सनकम्पनी प्रालि र एट्लान्टिक कम्प्युटर प्रालिलाई ठेक्का दिनका लागि विभागका इलेक्ट्रिकल इन्जिनियर अरविन्दकुमार कर्णलाई जिम्मा दिएको खुलेको छ ।

विभागका इन्जिनियर कर्णले खरिद इकाई प्रमुख साहले छनोट गरी पठाएका दुई कम्पनी फेल भएको उल्लेख गरी प्राविधिक प्रतिवेदन दिएका थिए । २ वटै कम्पनीले स्पेसिफिकेसनअनुसारको नभएको भन्दै कात्तिक १६ गते कारणसहितको प्राविधिक प्रतिवेदन पेस गरेको फेला परेको छ । कर्णले जुन पत्र सार्वजनिक निर्माण विभागबाट चलानी भई खरिद इकाइमा दर्ता भई सोही दिन तोक लगाएको देखिन्छ ।

लगत्तै इकाई प्रमुख साहले घटी अंक कबोल गर्ने कम्पनीसँग बार्गेनिङ गरेको स्रोतको दाबी छ । घटी कबोल गर्ने कम्पनीसँग सम्पर्क गरी फेरि टेक्निकल स्पेसिफिकेसनमा पास गर्न पत्रसमेत देखाएको स्रोतको भनाइ छ । फेरि स्पेसिफिकेसनमा यसअघि बढी अंक कबोल गर्नेसँग बार्गेनिङ गरेको आरोप लागेको छ । कम्पनीसँग कुरा नमिलेपछि फेरि घटी अंक कबोल गर्ने ठेकेदार कम्पनीसँग सम्पर्क गरेको इकाईका अधिकारीको भनाइ छ । लगत्तै पछिल्लो ठेकेदार कम्पनीसँग कुरा मिलेपछि मूल्याङ्कन समितिलाई जानकारी नदिई इकाई प्रमुख साहले आफैं पत्र काटेको फेला परेको छ ।

यस विषयमा महानगरका उच्च तहलाई समेत जानकारी भइसकेको स्रोतको भनाइ छ । मेयर बालेन्द्र साह र सचिवालयको निकट भएका साह मूल्याङ्कन समितिलाई समेत गुमराहमा पारेर सेटिङ गरेको खुलेको छ । एटलान्टिक कम्प्युटर प्रालिले जडान गर्ने लिड लाइट र पोलसम्बन्धी टेक्निकल डाटासिट नभएकाले फेरि ती डकुमेन्ट पेस गर्न इकाई प्रमुख साहले पत्र पठाएको फेला परेको छ । कम्पनीले माग गरेबमोजिमको टेक्निकल डाटासिट पेस गरेको पाइएको छ ।
एटलान्टिकले डाटासिट उपलब्ध गराएलगत्तै खरिद इकाई प्रमुख साहले सार्वजनिक निर्माण विभागको इलेक्ट्रिकल इन्जिनियर कर्णलाई जबरजस्ती पास गर्न निर्देशन दिएको पाइएको छ । इन्जिनियर कर्णले कागजात पेस गरेलगत्तै कम्पनीलाई पास गरेको पत्र प्राप्त हुन्छ । त्यसलगत्तै मूल्याङ्कन समितिबाट पास गराई आशयको सूचना प्रकाशित भएको छ । टेक्निकल स्पेसिफिकेसन चेकजाँच गर्न पठाएका २ वटै कम्पनी के कति कारण फेल भयो रिपोट पेस भइसकेको अवस्थामा खरिद एकाइ प्रमुख साहले टेक्निकल डाटा सिटजस्तो महत्वपूर्ण कागजात अनिवार्य रूपमा इबिडिङमा प्रविष्ट गर्नुपर्छ ।

‘यस्तो डकुमेन्टसमेत एकाइ प्रमुखले मनलाग्दी आफैं माग गरी पास गर्ने मिल्दैन यो सीधै सार्वजनिक खरिद ऐन नियमावलीविपरीत र भ्रष्टाचार निवारण ऐनको आचारणविपरीतको कार्य हो’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो । ‘यस्तो गम्भीर विषय मूल्याङ्कन समितिमा राखी समितिबाट निर्णय गराउनुपर्नेमा आफंैले फेल भइसकेको कम्पनीसँग डकुमेन्ट माग्दै पास गराउँदै गएमा यसले प्रचलित कानुनको समेत बर्खिलाफ देखिन्छ, मूल्याङ्कन समितिको स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको छ’ –स्रोतले भन्यो ।