चित्लाङ भ्युटावर नगरलाई हस्तान्तरण


हेटौंडा । 

उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिका वडा नम्बर–९ मा रहेको चित्लाङ भ्युटावर सञ्चालन तथा व्यवस्थापनका लागि नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको विशेष आतिथ्यतामा संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेशद्वारा निर्मित चित्लाङ भ्युटावर उद्घाटन तथा थाहा नगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।

उक्त भ्युटावरका लागि केही दिनअघि स्थानीय निकायसँग सम्झौता भएको थियो । बागमती प्रदेश सरकारले निर्माण गरेको भ्युटावर सञ्चालनका लागि संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश र थाहा नगरपालिकाबीच बुधबार सम्झौता भएको थियो।

प्रदेश सरकारको आफ्नै लगानी, स्थानीय तह वा निजीक्षेत्रको साझेदारीमा निर्माण भएका पर्यटन पूर्वाधारको प्रभावकारी सञ्चालन, दीगो व्यवस्थापन तथा समुचित उपयोगका लागि स्थानीय तहलाई हस्तान्तरण गरी प्राप्त आम्दानीको उचित बाँडफाँट तथा नियमन गर्ने व्यवस्था कार्यविधिमा आएको करिब २ वर्षपछि मात्र उक्त हस्तान्तरण भएको हो ।

कार्यविधिबिना धमाधम ठड्याइएको थियो भ्युटावर । प्रदेश पर्यटन ऐन, २०७८ निर्माणपछि ऐनअनुसार मन्त्रालयले कार्यविधि बनाएको हो । वर्तमान संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले २०८० मंसिर १३ मा पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि बनाएको थियो ।

भ्युटावर सञ्चालन तथा व्यवस्थापनका लागि भएको सम्झौतामा मन्त्रालयका तर्फबाट पर्यटन विकास आयोजना निमित्त प्रमुख रोशनकुमार श्रीवास्तव र नगरपालिका प्रमुख विष्णुबहादुर बिष्टले हस्ताक्षर गरेका थिए । चित्लाङ ‘हिल स्टेसन’ दुई वर्षअघि निर्माण सम्पन्न भएको नगर प्रमुख बिष्टले जानकारी दिए ।

चित्लाङ एउटा सुन्दर उपत्यका हो । यसको उत्तरतिर चन्द्रगिरि डाँडा र दक्षिणतिर महाभारत शृंखला छन् । प्रशस्त उर्वरभूमि रहेको चित्लाङ अर्गानिक कृषि उत्पादनका लागि चर्चित छ । वरिपरि प्रशस्त जंगल भएका कारण चित्लाङ सधैं हराभरा रहन्छ । चित्लाङ ऐतिहासिक महत्व बोकेको सुन्दर गाउँ हो ।

सम्झौताअनुसार थाहा नगरपालिकाले भ्युटावर सञ्चालन, उपयोग तथा व्यवस्थापनका लागि आफैं वा अन्य संघसंस्था वा समितिलाई ठेक्कामा लगाउनसक्ने व्यवस्था छ । यसरी सञ्चालन गरिएको टावरबाट भएको आम्दानीको ३० प्रतिशत रकम प्रदेश सरकारको राजस्व खातामा अर्धवार्षिकरुपमा जम्मा गर्नुपर्ने सम्झौतामा छ भने ७० प्रतिशत रकम नगरपालिकाको हुने सम्झौता छ ।

चित्लाङ भ्युटावर मर्मतसम्भार गर्नुपर्ने अवस्था भए थाहा नगरपालिकासमेतको प्राविधिकको सहभागितामा तयार गरिएको लागत अनुमानबमोजिम प्रदेशको पर्यटन मन्त्रालयबाट गराउने सम्झौता छ । यस किसिमको मर्मतसम्भारसम्बन्धी काम मन्त्रालयले हस्तान्तरण भएपश्चातमात्र गर्ने उल्लेख छ ।संस्कृति तथा पर्यटन मन्त्री श्रेष्ठले भ्युटावर सञ्चालनमा आएपछि नगरको पर्यटकीय आकर्षण थप सुदृढ हुने विश्वास व्यक्त गर्दै स्थानीय पर्यटन प्रवद्र्धनमा यसको भूमिका महत्वपूर्ण रहने बताए । प्रदेश सरकारले चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रमअन्तर्गत भ्युटावर निर्माण अघि बढाएको थियो । परियोजनाको लागत पाँच करोड २७ लाख ४७ हजार ८ सय ५२ रुपियाँ पुगेको छ ।

हचुवाको भरमा अग्ला डाँडामा बनाइएका टावरहरु उपयोगविहीन छन् । आव २०७६-०७७ र २०७७-०७८ भित्र योजना सम्झौता भएका भ्युटावरहरु कतिपय २०७७ सालमै र केही २०७९ र २०८० मा बनिसकेका थिए ।

भ्युटावरलगायत संरचनाबाट प्राप्त आम्दानीको २५ प्रतिशत रकम प्रदेशको सञ्चित कोषमा त्रैमासिकरुपमा जम्मा गर्नुपर्ने प्रावधान छ । कार्यविधिमा पर्यटन पूर्वाधार वा सम्पदापरिसर प्रवेशमा लाग्ने शुल्क स्थानीय तहले तोक्ने व्यवस्था छ । पूर्वाधार सेवा शुल्कबाट प्राप्त रकमको कम्तिमा १० प्रतिशत पर्यटन पूर्वाधार, सम्पदा संरक्षण, प्रवद्र्धनमा र विकासमा खर्च गरिनुपर्ने व्यवस्था छ ।