रुविन र इभानालाई स्वर्ण


काठमाडौं ।

ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।

खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, ६–११, ११–५, १४–१२ र ११–९ को सेटमा पराजित गरे । बेलकोटगढी ८ का गनन्जय दाहाल र ललितपुर ७ का एलेक्स महर्जन तेश्रो भए ।

यस्तै इभानाले फाइनलमा संखुवासभा ४ की वियंका राईलाई ७–११, ११–६, ११–४, १–११, ११–९ र ११–६ को सेटमा हराइन् । धरान १६ की दीक्षा दाहाल र काठमाडौं महानगरपालिका २६ की अनिता महर्जन तेश्रो बने ।

अनर मोबाइलको मुख्य प्रायोजन तथा एनआईइसी एडुकेसन कन्सल्टेन्सी र एभरेष्ट फेसनको सह–प्रायोजनमा भएको पाँचदिने प्रतियोगितामा ४ सय ५० खेलाडीले ११ स्पर्धामा प्रतिस्पर्धा गरेको अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक ज्याकी महर्जनले जनाएका छन् । प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ४० हजार रुपैयाँ रहेको छ ।