काठमाडौं ।
महँगा ब्रान्डेड कपडा, लक्जरी होटल, नाइट क्लबमा दैनिक मोजमस्ती र फरक–फरक युवतीसँगको संगत। बाहिरबाट हेर्दा उनी कुनै धनाढ्य परिवारका उत्तराधिकारी जस्तै देखिन्छन्। तर यो चमकधमकको पछाडि सहकारी चोरीको अँध्यारो संसार लुकेको छ।
यी व्यक्ति हुन्— दीपक गजुरेल (२८)। प्रहरीका अनुसार उनी सहकारी चोरीमा संलग्न सबैभन्दा कुख्यात तथा ‘मोस्ट वान्टेड’ अभियुक्तमध्ये एक हुन्।
प्रहरी स्रोतका अनुसार काठमाडौंमा कुनै सहकारी चोरी भएको खबर आएलगत्तै प्रारम्भिक अनुसन्धानमा गजुरेलको नाम पहिलो प्राथमिकतामा राखिन्छ। प्रत्यक्ष प्रमाण नदेखिए मात्र दोस्रो वा तेस्रो विकल्पतर्फ अनुसन्धान अघि बढाइन्छ। यसले नै उनको कुख्यात छविलाई स्पष्ट पार्छ।
जेलबाट फरार, होटलमै चोरीको योजना
भदौ महिनामा भएको जेन–जी आन्दोलनका क्रममा सुन्धारा कारागारको सुरक्षाघेरा कमजोर बनेको मौका छोप्दै गजुरेल फरार भएका थिए। त्यसपछि उनले काठमाडौंका ठमेल, गौशाला, रातोपुललगायत क्षेत्रका सुविधा सम्पन्न होटलमा बस्दै चोरी र लुटपाटलाई निरन्तरता दिएका थिए।
प्रहरीका अनुसार उनले केही घटनामा एकैपटक १६–१६ लाख रुपैयाँसम्म चोरी गरेका छन्।
तीन महिनाको फरार जीवनपछि गजुरेललाई २६ मंसिरमा रातोपुलस्थित रोयल च्याम्बर होटलबाट पक्राउ गरिएको हो। प्रहरी पुग्दा उनी होटलको कोठामा एक युवतीसँग थिए। फरक–फरक युवतीसँग होटलमा बस्नु उनको दैनिकी नै बनेको अनुसन्धानबाट खुलेको छ।
सुरुमा २३ हजार, पछि १० लाख बरामद
पक्राउका बेला गजुरेलको साथबाट २३ हजार ५०० रुपैयाँ मात्र बरामद भएपछि प्रहरी नै चकित भएको थियो। तर अनुसन्धान अघि बढाउँदै जाँदा सोही युवतीमार्फत ठमेलस्थित अर्को होटल कोठाबाट १० लाख रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
२१ सहकारी चोरी, २३ पटक पक्राउ
प्रहरी तथ्यांकअनुसार गजुरेल हालसम्म
• २१ वटा सहकारी चोरीमा संलग्न
• २३ पटक पक्राउ परिसकेका छन्।
यसअघि उनी अभद्र व्यवहार र लागुऔषधसम्बन्धी मुद्दामा पनि पक्राउ परेका थिए।
चार महिनाको अवधिमै उनले ७ सहकारीबाट ४३ लाख रुपैयाँभन्दा बढी चोरी गरेको रेकर्ड प्रहरीसँग छ। उनको संलग्नता काठमाडौं मात्र होइन, पोखराका सहकारी चोरीमा समेत देखिएको छ।
‘सिग्नेचर स्टाइल’ चोरी
प्रहरीका अनुसार गजुरेलको चोरी गर्ने शैली स्पष्ट र एउटै ढाँचाको छ—
• मध्यराति १२ देखि २ बजेको बीचमा एक्लै चोरी
• ताला काट्ने औजार, मास्टर चाबी र विशेष पञ्जा प्रयोग
यही कारण प्रहरी वृत्तमा भनाइ चल्ने गरेको छ—
“मध्यराति एक्लै सहकारी चोर्ने भयो भने नबुझी सोझै दीपक खोजे हुन्छ।”
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्,
“उनको चोरीको एउटै उद्देश्य छ— पैसा उडाउने, क्लब जाने, फरक–फरक केटी घुमाउने र मोजमस्ती।”
चोरीको पैसामा लक्जरी जीवन
चोरीबाट आएको रकम प्रयोग गरेर गजुरेलले काठमाडौं र पोखरामा लक्जरी जीवनशैली अपनाउँदै आएका थिए। बाहिरबाट देखिने चमकधमकभित्र लुकेको अपराधको वास्तविकता अहिले प्रहरी अनुसन्धानले उजागर गरेको छ।











प्रतिक्रिया