चुनाव: पुराना राजनीतिक दललाई सकस

376
Shares

जेन्जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले आउँदो फागुन महिनाको २१ गते बिहीबारको दिनलाई चुनाव गराउने दिन भनेर घोषणा गरेको छ । यसै चुनावलाई सहमति जनाउँदै १०० भन्दा अधिक राजनीतिक दलहरूले निर्वाचन आयोगमा दल दर्ता गराएर चुनावमा होमिने तयारीमा लागेको पाइन्छ । यता आम जनता र विद्रोहको नायकत्वको समूहले भने कार्की नेतृत्वको सरकारको ध्यान आकृष्ट गर्दै अन्तरिम सरकार निर्माणको मुख्य उद्देश्य केवल चुनाव मात्र नभएर देशबाट भ्रष्टाचार अन्त्य गरी सदाचारी शासनको शुरुआत गराउनु रहेको पाइन्छ ।

विगतको सफल इतिहास बोकेका र पछिका कालखण्डमा अधिक लालसाका कारण जनस्तरबाटै बदनामी कमाएका अनि लखेटिएका राजनीतिक दलहरूले पनि चुनावमा भाग लिने तयारी गर्दै छन् । आम जनताको मतअनुसार बदनामी कमाएका राजनीतिक दललाई चुनावमा भाग लिनसमेत दिनु नहुने प्रतिक्रिया आएका पाइन्छन् । तर ती राजनीतिक दललाई भाग लिनै नदिने अवस्था सिर्जना भएका खण्डमा अन्तर्राष्ट्रिय स्तरबाट र उनीहरू स्वयंबाटै निर्वाचन सम्पन्न हुन नदिनको लागि अनेक हत्कण्डा अपनाउने बलियो सम्भावना रहन्छ । चुनावमा भाग लिनै दिए पनि जनस्तरबाटै लखेटिएका र बहिस्कार भएका राजनीतिक दलहरूलाई विजयीको माला पहिरिन निकै सकसपूर्ण वातावरण रहेको छ । हुन त तत्–तत् पुराना राजनीतिक दलका शीर्ष नेताहरूको दाबीअनुसार उनीहरूकै राजनीतिक दल सबैभन्दा धेरै सिट ल्याउने दल बन्ने भनिएको छ । मर्नुअगावै खुट्टा तान्नुहुँदैन भन्ने उखानजस्तै केवल हुङ्कार मात्रैमा मन बुझाइरहेका छन् । विगत २०६२ सालदेखि पालोफेरोमा शासन सत्ता हातमा लिँदै र शासन चलाउँदै आएकाहरुले गलहत्तिएर शासनच्यूत हुनुपर्दाको पीडा पनि उनीहरूको हुङ्कारमा प्रस्टिएको अनुभूति हुन्छ ।

पुराना राजनीतिक दलका शीर्ष नेताले पुनः अर्को एउटा डरलाग्दो र अक्षम्य गल्ती दोहो¥याएका छन् । त्यो गल्ती भनेको राजनीतिक दलको शीर्षासनमा बसेका शीर्ष नेताले अभिभावकीय भूमिका निभाएर युवा नेतालाई शीर्षासनको भूमिका सुम्पिएको भए थोरै मात्रामा भए पनि जनस्तरको सहानुभूति रहने थियो र केही सिट भए पनि बढ्ने मौका आउने थियो । भोट दिने जनताको के कुरा र, विगत दुई दशक लामो समयदेखि एउटै व्यक्ति शीर्षासनमा रहेर राजनीतिक दललाई हाँकिरहेको अभिनय गरे पनि ती राजनीतिक दलका उन्नतिका काम तथा आम जनताका लागि राहत पुग्ने खासै काम नभएकाले उनीहरूकै कट्टर समर्थक मतदातासमेत निराश छन् । पुनः उनीहरूलाई नै भोट दिएर जिताउने वा अरु उपाय सोच्ने ? भन्ने दोधारको मानसिकताले ग्रस्त भएका छन् । नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवा दम्पतीलाई जेन्जी समूहले भौतिक कार्यवाही गरेपछिका दिनमा शेरबहादुरले आफू सभापतिको पद छोड्ने र अर्कै नेतालाई दिने भन्ने मानसिकता बनाएर कार्यकर्तामाझ समेत उक्त विचार राखेका थिए । उनको विचार र अभिव्यक्तिलाई जनस्तर तथा कार्यकर्ता स्तरबाट समेत स्वागत भएको थियो । तर जब उनी विदेश गएर केही समय उपचार गराई स्वदेश फर्के, तब विमानस्थलदेखि नै सशङ्कित हुँदै फर्कदा आफ्नो शीर्ष सिट सुरक्षित नै रहेको कुरा बुझेपछि उनी खुशी नहुने कुरै भएन ।

यता नेकपा एमाले अध्यक्ष केपी ओलीले त पार्टी अध्यक्षको पद छोड्ने सङ्केत पनि गरेनन् र गर्नेवाला पनि छैनन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफ्नो शीर्ष पद छोड्ने सुरसार नगरेरै अर्को नेपाली कम्युनिस्ट नामक पार्टी खोल्नेतिर लागेर विगतको बदनाम हुँदै गएको माओवादी केन्द्रको नामोनिसाना मेटाउने अनि दोषबाट जोगिने प्रयत्नमा लागेका देखिन्छन् । यी पुराना राजनीतिक दलहरूलाई अहिलेको परिवेशमा उनीहरूको भक्त कार्यकर्ता पाउन हम्मेहम्मे परेको छ । केही दिनअगाडि मात्रको कुरा कमरेड प्रचण्ड, माधव नेपालजस्ता वरिष्ठ नेता केही कार्यकर्ता बटुलेर आफ्ना कर्तुतलाई महान् कामका रुपमा लिँदै र भाषण छाँट्दै थिए, एकैपटक धेरैजना कार्यकर्ता उठेर कार्यक्रमबाट बाहिरिएपछि उनीहरू हेरेको हेरेकै भए । अन्त्यमा सभास्थलमा राखिएका कुर्सी आदिलाई सुनाएको भन्न विवश भएर लाचारीपूर्वक सभा विसर्जन गर्नुपरेको थियो । ती पुराना राजनीतिक दलका लागि सिर्जना भएको यो कुवातावरणले गर्दा उनीहरु अब के गर्ने ? भन्ने प्रश्नको सही उत्तर वा समाधानको बाटोमा लाग्दै छन् । त्यसो त कसैलाई पहिलेका भए पनि हामी शासक पो हुँ त, त्यसैले भोट हाल्दा मैले भनेकालाई हाल्नू भनेर थर्काउन पनि सक्लान्, त कसैलाई जागिरको लोभ देखाएरै भए पनि भोट झार्ने प्रयत्न गर्लान् ।

पुराना राजनीतिक दलका फोहोरी कर्तुतको पर्दाफास गर्दै वर्तमानका ऊर्जामन्त्री कुलमान घिसिङ, धरान नगरपालिकाका मेयर हर्क साङपाङजस्ता जनतका प्यारा मानिने युवानेताले पनि नयाँ राजनीतिक दल खोलेकाले पुराना राजनीतिक दललाई चुनावमा जान र जित हात पार्नको लागि सकस पर्दै छ । त्यसैले जति हुङ्कार गरे पनि मानसिकरुपमा यिनले आफ्नो हार स्वीकार गर्नै पर्ने अवस्था आउनेछ भन्ने कुरा निश्चित प्रायः हुन सक्ला । यदि चुनावमा हारै भए पनि वर्तमानको उनीहरूमाथिको धरपकडको अवस्थाबाट पार पाउन सकियो भने वा त्यसलाई छोपछाप गरेर आफूले सत्ताको घमण्डले गरेका कुकर्मको फल भोग्नु नपर्ने अवस्था मात्रै सिर्जना भयो भने पनि पुराना शीर्ष नेताका लागि एउटा सन्तुष्टिको विषय हुनेछ । त्यो जञ्जालबाट उम्कनको लागि सही समय यही हो भन्ने मानसिकताले उनीहरुलाई थोरै भए पनि सन्तुष्टि दिन सकेकै छ भन्न सकिन्छ । यदि कुनै हालतले जितेर सत्ताको बागडोर पुनः सम्हाल्न पाइयो भने आज आफूहरूप्रतिको विरोधमा उत्रनेको हबिगत देखाउला भन्ने पनि सानो मनचिन्ते सुखको विषय हुन सक्छ ।

पुराना राजनीतिक दलका शीर्ष नेताले आफ्नो शीर्ष पद नछोड्नुको अर्को कारण भनेको यो विषम अवस्थामा शीर्ष पद छोडेर अर्को दोस्रो व्यक्तिलाई सुम्पँदा भोलिका दिनमा उसले आफूप्रतिको व्यवहार कस्तो देखाउला ? विगतका आफूले गरेका कुकर्मका सारा पोल जनतासामु खोलिदेला भन्ने आशङ्का मात्र होइन कि यथार्थताको सही आँकलनले पनि पदलोलुपताको अवस्था आएको हो । २०५२ साल र त्यसअगाडिदेखि नै माओवादी पार्टीका सहयात्री बनेका कमरेड पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई छुट्टाछुट्टै भएपछि अहिले प्रचण्डका पोल बाबुरामले कसरी खोल्दै छन् र कमरेड प्रचण्डलाई सकेसम्म नाङ्गो बनाउने प्रयासमा लागेका छन् । नेपाली काङ्ग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले पार्टी सभापतिको पद आफूले नओगट्ने र अरुलाई छोड्ने कुराले पार्टीका महामन्त्री भनिएका र युवा नेताका रुपमा लिइने गगन थापाको भाग्य खुलेको ठानेर गगन निकै खुशी भएका थिए । खुशी हुने मात्र होइन कि आफ्नो प्रभाव विस्तार गर्नको लागि निकै ब्यग्रताका साथ सभा, भाषणमा लाग्दै थिए तर देउवा दम्पती उपचार गरेर स्वदेश फर्केपछि र नेपाली काङ्ग्रेस पार्टीको सभापति पद आफैँले धारण गर्ने कुरा बताएपछि गगनको चुरिफुरी क्रमशः सेलाउँदै जान थालेको छ ।

असल भावना र देशभक्त व्यक्ति भएको भए जनताको समर्थनले पनि केही काम गर्ने थियो होला तर पाएसम्म दुवै नेताको भावना वा विचार लुट्ने नै भएकोले जनताको तर्फबाट कागलाई बेल पाक्यो हर्ष न बिस्मातको अवस्था यथावत् रहेको पाइयो ।

दुई दशक लामो समय शासन चलाउँदै गर्दा र देश अनि जनता लुट्दै आफ्नो गोदाम भर्दै गरेको बेलामा कुनै पनि पुराना राजनीतिक दलका शीर्ष नेताले भदौ २३–२४ को दिन आउला भनेर परिकल्पना गरेकै थिएनन् । सत्ता सम्हालेर बसेका नेकपा एमाले अध्यक्ष खड्ग ओलीले त अघिल्लो दिनसम्म पनि पत्याएका थिएनन् । अब फागुन २१ को चुनावमा कुनै पनि पुरानो राजनीतिक दलले एकलौटी वा संयुक्तरुपमा सरकार गठन गर्न सक्ने वातावरण कुनै हालतमा पनि बनिने छैन ।

पुराना दलका शीर्ष नेता एकादुईले जितेर संसद्मा प्रतिनिधित्व गर्ने भएछन् भने पनि कानुन बनाउने स्थानमा यिनको पहुँच हुनेछैन । यतिन्जेल हालिमुहाली गरेर शासन चलाएका शीर्ष नेताले आफू अनुकूल नभएको कानुन वा संविधान पालना गर्न पनि गाहै्र पर्ला । यसरी हरेक पक्षबाट नियालेर हेर्दा पनि फागुन २१ को चुनाव पुराना राजनीतिक दलका लागि सकसको विषय बनेको छ ।

पुराना दलका शीर्ष नेता एकादुईले जितेर संसद्मा प्रतिनिधित्व गर्ने भएछन् भने पनि कानुन बनाउने स्थानमा यिनको पहुँच हुनेछैन । यतिन्जेल हालिमुहाली गरेर शासन चलाएका शीर्ष नेताले आफू अनुकूल नभएको कानुन वा संविधान पालना गर्न पनि गाहै्र पर्ला । यसरी हरेक पक्षबाट नियालेर हेर्दा पनि फागुन २१ को चुनाव पुराना राजनीतिक दलका लागि सकसको विषय बनेको छ ।

पुराना राजनीतिक दलको तुलनामा नयाँ खोलिएका राजनीतिक दलहरूले वा भनौँ तिनका शीर्ष नेताले गरेका कामले उनीहरू लोकप्रियताको सिँढी चढिरहेका छन् । सुशीला कार्की नेतृत्वको सरकारले पनि भ्रष्टाचारका विषयलाई प्रोत्सहान दिएको छ भन्ने सञ्चारमाध्यममा केही मात्र सुन्न पाइए पनि पुराना राजनीतिक दलका शासकले जसरी र जति मात्रामा देश लुटेर खोक्रो बनाएका थिए, अन्तरिम सरकारले त्यसै गरी र त्यही मात्रामा देश लुट्ने काम गरेको छैन भन्ने कुराका धेरै प्रमाणहरु फेला पार्न सकिन्छ । पहिलो प्रमाण भनेको वर्तमानको अन्तरिम सरकारको हरेक कामको समीक्षा जेन्जी समूहले गरिरहेको छ । यदि विगतको जस्तै भ्रष्टाचारका शृङ्खला चलेका भए त्यसलाई नियन्त्रण गर्ने काम जेन्जी समूहले पनि गर्न सक्छ । जेन्जी समूह भन्नाले केवल जेन्जी मात्र छैनन्, उनीहरुका अभिभावक पनि जेन्जीसँगै छन् । अर्को कुरा स्वयं जेन्जी समूहबाटै पनि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा प्रतिनिधित्व रहेकै छ ।

अन्तर्राष्ट्रिय स्तरबाट पनि भ्रष्टाचार भए वा नभएको सुपरभिजन हुने गर्छ होला । त्यसैले अन्तरिम सरकारलाई भ्रष्टाचार गर्ने वातावरण नभएकोले भ्रष्टाचार भएको छैन भनेर विश्वस्त हुनुपर्ने हुन्छ । सत्ता हाँक्नेहरूले लोभ–मोह त्याग्न सकेका खण्डमा कसैको निगरानीबेगरै पनि सुशासन चलाउन सकिन्छ भन्ने कुरा विभिन्न देशको उन्नति वा विकासका शृङ्खला हेरेर प्रमाणित गर्न सकिने कुरा हो । आखिर जे र जस्ता सकस आइपरे पनि पुराना राजनीतिक दलले चुनावमा भाग लिनुको अर्को विकल्प छैन । पुरानै दलका युवा नेताले अबका दिनमा आफू सच्चिएर स्वच्छ राजनीति गर्न आउँछु भनेर जनतासमक्ष क्षमा याचना गर्दै देश र जनताको भलाइका लागि मन, वचन र कर्मले लाग्ने हो भने आम नेपाली जनताको मन जित्न बेर लाग्ने छैन । तर सच्चिएको नाममा धोका भयो भने जनताले छोड्ने छैनन् । त्यसैले जनता अजेय शक्ति हो भनिएको हो ।