आजको नेपाली समाज अनुशासन र मर्यादाको सीमाबाट निकै पर धकेलिँदै गएको देखिन्छ । विशेषतः सामाजिक सञ्जालमार्फत एक–अर्कालाई सत्तोसराप गर्ने, सिध्याइदिने, खुइल्याइदिने र आफू मात्र सही तथा अरू सबै गलत हुन् भन्ने भ्रम फैलाउने प्रवृत्ति खतरनाकरूपमा बढेको छ । बहस र विमर्शको ठाउँ घृणाले लिएको छ, विचारको साटो विष वमन भइरहेको छ । यसले सिंगो समाजलाई नै असहिष्णुता र द्वन्द्वको दिशातर्फ धकेलिरहेको छ । झनै चिन्ताजनक कुरा के छ भने, मुलुक बनाउने जिम्मेवारी बोकेर राजनीतिमा लागेका नेताहरूमा समेत सहकार्य, सहअस्तित्व र समन्वयको भावना कमजोर बन्दै गएको छ । आरोप–प्रत्यारोप, गाली–गलौज र प्रतिशोधको राजनीति हाबी हुँदै जाँदा राजनीति आफैँ विकृत र प्रदूषित बन्दै गएको छ । राजनीति भनेको मुलुक सञ्चालन गर्ने मूल नीति हो । तर जब यही नीति निर्माण गर्ने थलो फोहोर र असभ्य बन्छ, तब मुलुक कसरी सही दिशामा अघि बढ्न सक्छ ? भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
सामाजिक सञ्जालको दुरुपयोगले समाजमा अराजकता र भाँडभैलो मच्चाउने काम भइरहेको छ । अभिव्यक्ति स्वतन्त्रताको नाममा चरित्र हत्या, अपमान र घृणा फैलाउने कामलाई अब सह्य मान्न सकिँदैन । आलोचना हुन सक्छ, असहमति हुन सक्छ तर त्यसको सीमा सभ्यता र मर्यादाभित्र हुनै पर्छ । कसैमाथि अनावश्यक दोषारोपण गर्ने, गाली–गलौज गर्ने र सामाजिक विद्वेष फैलाउनेहरूविरुद्ध कानुनी कारबाही गर्न ढिलाइ भइसकेको छ । यदि समयमै नियन्त्रण गरिएन भने यो अराजकता अन्य क्षेत्रमा पनि सरेर झनै ठूलो संकट निम्त्याउन सक्छ । अनुशासनहीनता अन्ततः राष्ट्रका लागि अनिष्टको कारण बन्छ ।
नेपाल बुद्धको देश हो । शान्ति र अहिंसा हाम्रो राष्ट्रिय पहिचानका आधार हुन् । तर आज यी मूल्यहरू कमजोर बन्दै गएका छन् । हिंसा, तोडफोड र डरको माध्यमबाट राज्यसत्ता सहजै हात पार्न सकिन्छ भन्ने गलत भाष्य विस्तार हुँदै जानु लोकतन्त्रका लागि गम्भीर खतरा हो । लोकतन्त्र संवाद, सहमति र शान्तिपूर्ण प्रतिस्पर्धाबाट सबल बन्छ, घृणा र हिंसाबाट होइन । हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई अहिले संकटग्रस्त अवस्थामा पु¥याइएको छ । प्रतिनिधिसभा विघटन गरेर २१ फागुनमा नयाँ निर्वाचन घोषणा गरिए पनि अहिले प्रमुख राजनीतिक दलहरु निर्वाचन अभियान लिएर गाउगाउँमा जान सक्ने अवस्था देखिन सकेको छैन । २४ भदौको विध्वंसका क्रममा जेलबाट भागेकामध्ये झन्डै ५ हजार कैदी बन्दी अझै फिर्ता भएका छैनन् भने प्रहरीका कैयौँ लुटिएका हतियार पनि फिर्ता हुन सकेका छैनन् । यसैका कारण पनि समाजमा डर–त्रास व्याप्त हुँदै गएको हो भने समाज विभिन्न समस्याले ग्रसित भइरहेको छ ।
अब समय आएको छ– अनुशासित र जिम्मेवार समाज निर्माणतर्फ दृढतापूर्वक अघि बढ्ने । सामाजिक सञ्जाललाई गाली–गलौज र द्वेषको अखडा होइन, विचार, बहस र सिर्जनात्मकताको साझा चौतारी बनाइनुपर्छ । सबै तहका नागरिक, राजनीतिक दल, नेता र राज्य संयन्त्रले आत्मसंयम र जिम्मेवारी देखाउनै पर्छ । गालीको राजनीति होइन, समाधानको राजनीति आजको आवश्यकता हो । नव–निर्माण, सुशासन र समृद्धितर्फ ध्यान केन्द्रित गर्न सके मात्र मुलुक सही अर्थमा अघि बढ्न सक्छ ।











प्रतिक्रिया