काठमाडौँ।
नेकपा (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित गरेको विधानलाई नै कार्यान्वयन गर्दै नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको छ।
सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार विधान महाधिवेशनले स्थापित गरेको संरचना—१५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी—यथावत् रहनेछ। यस महाधिवेशनको बन्दसत्रमा विगतभन्दा भिन्न अभ्यास गर्दै हालका १९ सदस्यीय सचिवालयलाई नै अध्यक्षमण्डलका रूपमा प्रस्तुत गरिने निर्णय गरिएको छ।
सचिवालयले निर्वाचित तथा पदेन गरी जम्मा २,१५४ प्रतिनिधिमध्ये पाँच प्रतिशत बराबर १०८ प्रतिनिधि मनोनयन गरेको छ। मनोनयन गरिएको सूची मंसिर २७ गते सार्वजनिक हुने जनाइएको छ।
त्यसैगरी, महाधिवेशनमा पेश गर्ने विशेष प्रस्ताव तयारीका लागि उपमहासचिव ज्ञवालीको संयोजकत्वमा एक समिति तथा माइन्युट टाइपिङका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको छ।
बैठकले हालै सरकार र जेन–जी पक्षबीच भएको १० बुँदे सहमतिको विषयमा तीव्र असन्तोष व्यक्त गर्दै उक्त सम्झौता सरकारको कार्यादेश र संविधानविपरीत रहेको निष्कर्षसमेत निकालेको उपमहासचिव ज्ञवालीले बताए।











प्रतिक्रिया