काठमाडौं।
राजश्व चुहावट नियन्त्रण, सीमा सुरक्षा, औद्योगिक तथा वीआईपी सुरक्षा, आन्तरिक शान्ति–सुव्यवस्थासहित विभिन्न क्षेत्रमा सक्रिय सशस्त्र प्रहरी बल, नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्ना परिचालन नीतिहरू अन्तिमरूप दिएको छ।
जेन–जी विद्रोह (भदौ २३–२४) का क्रममा लुटिएका वा हराएका केही हतियारका कारण सुरक्षा व्यवस्थाबारे उठेका आशंकामाथि सशस्त्र प्रहरी अधिकारीहरूले पहिलो संविधानसभा निर्वाचनसहित विगतका संवेदनशील निर्वाचनहरू सफलतापूर्वक व्यवस्थापन गरेको इतिहाससहित विश्वास व्यक्त गरेका छन्।
‘एकीकृत सुरक्षा योजना २०८२’अनुसार परिचालन
सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा केन्द्रीय प्रवक्ता मनिष थापाका अनुसार निर्वाचनलाई “त्रुटीरहित, पारदर्शी, निष्पक्ष र भयरहित” वातावरणमा सम्पन्न गराउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’अनुसार विस्तृत परिचालन कार्यविधि तयार गरिएको छ।
सशस्त्र प्रहरी सुरक्षाको दोस्रो घेरामा रहँदै अन्य सुरक्षा निकायसँग समन्वयात्मक परिचालन, जोखिम वर्गीकरणअनुसार (अति संवेदनशील, संवेदनशील, सामान्य) बल प्रयोगको योजना, उपलब्ध स्रोतको अधिकतम उपयोग र आकस्मिक प्रतिक्रिया संयन्त्रलाई प्राथमिकतामा राखिएको छ।
सीमा सुरक्षामा ४,९६१ जनमुखी कार्यक्रम
यो आर्थिक वर्षमा सातै बाहिनीमार्फत सीमा क्षेत्रमा ४ हजार ९ सय ६१ कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रमुख गतिविधिहरूमा—
सामाजिक कार्यक्रम : ६३८
स्वास्थ्य शिविर : ४९
सीपमूलक तालिम : २५
निर्माण गतिविधि : ६०
वडा अध्यक्षसँग अन्तर्क्रिया : ४०९
वृक्षरोपण : ६४
सामग्री वितरण : १७
जनचेतनामूलक कार्यक्रम : २,६०२
सीमा सहजीकरण समिति बैठक : १,०९५
सीमान्तर क्षेत्रमा ३१० हेल्प डेस्क, चौबीसै घन्टा पैदल गस्ती, ८ पर्यटक सहायता कक्ष सञ्चालन भइरहेको छ।
यसबाहेक २०८२/८३ मा ५५ नेपाली र ५४७ भारतीय सीमा स्तम्भ मर्मत गरिएको प्रवक्ता थापाले जानकारी दिए।
सशस्त्र प्रहरीले चोरी–पैठारी नियन्त्रणमार्फत ९२ करोड १५ लाख रुपैयाँभन्दा बढी राजश्व सरकारलाई बुझाएको छ।
हिमपात उद्धार: ९८५ जनाको ज्यान जोगियो
२०७९ कार्तिक ११ देखि १७ गतेसम्म दोलखा, गोरखा, म्याग्दी, मनाङ र मुस्ताङमा परेको बाक्लो हिमपातमा फसेकाहरूमध्ये
स्वदेशी : ८३३
विदेशी : १४७
जोडी ९८० जनाको सकुशल उद्धार गरिएको सह–प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले बताए।
उक्त घटनामा ९ घाइतेको उद्धार, ४ शव फेला पारिएका थिए भने ५ बेपत्ता व्यक्तिको खोजी कार्यमा समेत सशस्त्र प्रहरी परिचालित थियो।
जेन–जी विद्रोहको प्रसंगमा उनले भने, “१६ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन थियो, मानवीय क्षति कम होस् भन्ने उद्देश्यले न्यूनतम बल प्रयोग गरिएको हो।”
रजत महोत्सवतर्फ अघि बढ्दै सशस्त्र प्रहरी
आगामी माघ ९ गते स्थापना दिवसको २५औँ रजत महोत्सव मनाउन तयारीरत सशस्त्र प्रहरी बल स्थापना कालदेखि नै “अब्बल सुरक्षाफौज” को रूपमा स्थापित हुँदै आएको छ।
संगठनभित्र मनोबल अभिवृद्धिका लागि महानिरीक्षक राजु अर्यालले बाहिनी–गण–गुल्म स्तरसम्म कार्यालय प्रमुखहरूलाई “जनशक्ति चहार्न, समस्या बुझ्न र मनोबल उकास्ने” निर्देशन गर्दै आएका छन्।
द्वन्द्वकालीन सुरक्षा, विशेष चाडपर्वमा राजमार्ग सुरक्षण, सीमा क्षेत्रमा जनमुखी सुरक्षा, विपद् उद्धारमा द्रुत प्रतिक्रिया— यी सबैले सशस्त्र प्रहरी बललाई वर्तमान चुनौतीपूर्ण सुरक्षा परिवेशमा अधिक विश्वसनीय बनाएको देखिन्छ।











प्रतिक्रिया