भोलीदेखि सुरु हुने एमालेको एघारौँ महाधिवेशनको तयारी अन्तिम चरणमा

1.22k
Shares

भक्तपुर ।

नेकपा एमालेले भोलीदेखि सुरु हुने एघारौँ महाधिवेशनको लागि भक्तपुरको सृजनानगरस्थित सल्लाघारी चौरमा मञ्च व्यवस्थापन लगायत अन्य तयारीको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

महाधिवेशनको तयारीका सम्बन्धमा जानकारी दिन आज  महाधिवेशन उद्घाटनस्थलमै आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य तथा स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले महाधिवेशनको सबै तयारी अन्तिम चरणमा पुगेको बताए ।

उनले जनसभालाई व्यवस्थित र प्रभावकारी बनाउनका निम्ति सम्मेलनमा १० हजार स्वयंसेवक परिचालन गरिने र महाधिवेशन भयरहित बनाउन ५ सय स्वयंसेवक ड्रेस कोडसहित परिचालन हुने बताए ।

नेता ढकालले पाँच सयभन्दा बढी स्वयंसेवक ड्रेस कोडमा रहने जानकारी दिंदै सम्पर्क समन्वय कमिटी, उपत्यकाका तीनवटै भुगोलका जिल्ला कमिटी र उपत्यका विशेषसहितलाई स्वयंसेवकका रूपमा समावेश गराएको जानकारी दिए ।

एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले उद्घाटन समारोहमा करिब तीन लाखको उपस्थिति रहने र दुई सय बढी भेषभुसाका झाँकी प्रदर्शन गरिने जानकारी दिए ।

महाधिवेशनमा अन्तर्राष्ट्रिय मित्र शक्तिहरूको शुभकामना पत्र पढिने र  देशका प्रमुख १६ दलका नेताहरू स्वयं उपस्थित भएर एमालेलाई शुभकामना दिने एमाले नेता  भट्टराईले जानकारी दिए ।

मञ्च व्यवस्थापन समितिका संयोजक तथा एमाले पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको काम अन्तिम अवस्थामा पुगेको अबको चार घण्टामा सम्पन्न हुने जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिहरु आजसम्म करिब सबै आइसक्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

तीन दिनसम्म चल्ने एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।