उदयपुर ।
आदिवासी जनजाति दनुवार समुदायले यस वर्षदेखि आफ्नो प्रमुख जातीय पर्व न्वागी (नेमान) लाई मुख्य राष्ट्रिय पर्वका रूपमा मनाउन औपचारिक सुरुवात गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–८, बैरेनीचौरमा आयोजित न्वागी विशेष समारोहका बीच यो ऐतिहासिक घोषणा गरिएको हो ।

समारोहको उद्घाटन गर्दै कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले दनुवार समुदायको न्वागी पर्व आजैका मितिदेखि राष्ट्रिय पर्वका रूपमा अङ्कित भएको घोषणा गरिन् । उनले यो पर्वले समुदायको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
हरेक वर्ष मंसिर २५ राष्ट्रिय पर्व दनुवार जागरण समिति उदयपुरका अध्यक्ष केदारकुमार दनुवारले अबदेखि हरेक वर्ष मंसिर २५ गतेलाई दनुवार समुदायले आफ्नो राष्ट्रिय पर्वका रूपमा भव्यताका साथ मनाउने बताए । गत वर्ष मंसिर २५ गते गाईघाटमा सामूहिक न्वागी पूजा र प्रथम सांस्कृतिक उत्सवको सफल आयोजना गरेपछि समुदायले यस तिथिलाई स्थायी रूपमा आफ्नो मुख्य पर्व मान्ने निर्णय गरेको हो ।

के हो न्वागी ? त्रियुगा नगरपालिका–९ का वडाध्यक्ष राजकुमार दनुवारका अनुसार न्वागी कृषि र प्रकृतिसँग जोडिएको पर्व हो । नयाँ धानबाली घरमा भित्र्याएपछि नयाँ चामलमा गुलियो र मसला मिसाएर कुलदेवतालाई चढाउने र प्रसादका रूपमा ग्रहण गर्ने परम्परा यसमा छ । “यो दिन आफ्ना छोरीचेली र नातागोतालाई बोलाएर मीठा परिकार खुवाउने र गाउँभरि प्रसाद वितरण गर्ने चलन छ,“ उनले भने ।
सांस्कृतिक उत्सव र ¥याली पर्वको अवसरमा ‘दोस्रो दनुवारी खाना–परिकार तथा सांस्कृतिक उत्सव’ सुरु भएको छ । तीन दिनसम्म चल्ने उत्सवको पहिलो दिन आज बिहान सामूहिक न्वागी पूजा गर्नुका साथै मोटरसाइकल ¥यालीमार्फत पर्वको सन्देश प्रवाह गरिएको थियो ।
महोत्सव स्थलमा दनुवारी जातिको मौलिक खाना, परम्परागत पहिरन र गरगहनाको प्रदर्शनी तथा बिक्री कक्ष राखिएका छन् । साथै, दनुवारी जातीय झाँकी, गीत र नृत्यहरू प्रस्तुत गरेर माहोललाई उल्लासमय बनाइएको छ ।
स्थानीय बिदा दनुवार समुदायको ऐतिहासिक र सांस्कृतिक पक्षलाई राष्ट्रिय पहिचान दिलाउने उद्देश्यले आयोजित यस पर्वको सम्मानमा दनुवार बाहुल्य क्षेत्र रहेका उदयपुरका त्रियुगा नगरपालिका र कटारी नगरपालिकाले आज स्थानीय बिदा दिएका छन् । यो पर्व नेपालको सांस्कृतिक विविधता र सामुदायिक सहअस्तित्वको प्रतीक बन्ने विश्वास आयोजकले लिएको छ ।












प्रतिक्रिया