–एक हजार रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको कामपाको अनुमान
–३ दिनभित्र जग्गा खाली गर्न आग्रह
–आउँदो हप्ताबाट डोजर चलाउँदै महानगर
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले शंखमूल पुलदेखि पूर्वतर्फ भीएस निकेतनसम्मको अनधिकृत घरटहरा भत्काउने भएको छ । कामपाले सार्वजनिक सूचना जारी गरी ३ दिनभित्र घर टहरा भत्काउन आग्रह गरेको छ । महानगरले आँकलन गरेअनुसार सो क्षेत्रमा करिब ५ सय बढी अस्थायी र स्थायी संरचना छन् । कामपाले बिहीबार तीनदिने सूचना जारी गरेको हो ।
सात दिनको म्याद सकिएलगत्तै तीन दिनको पत्र पठाएको कामपाको भनाइ छ । कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले आउँदो हप्ताबाट संरचना हटाउन सुरु गरिने जानकारी दिनुभयो । खोला किनाराको जग्गा अधिक्रमण गरी संरचना निर्माण गरेको पाएपछि महानगरले ती संरचना हटाउन लागेको हो । कामपा प्र्रहरी बल प्रमुख पाण्डेले सो क्षेत्रमा करिब एक हजार रोपनी सार्वजनिक जग्गा हुनसक्ने अनुमान गर्नुभयो । उहाँले भन्नुभयो– ‘काठमाडौं उपत्यका विकास प्राधिकरण र कामपाको टोलीले अनुगमन गर्दा करिब एक हजार रोपनी जग्गा अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन् ।’
कामपा खुला ठाउँ संरक्षण अभियान कार्यान्वयन समितिका सदस्यसचिव हरिश्चन्द्र लामिछानेले नापीनक्साअनुसार अतिक्रमण गरेका सार्वजनिक जग्गा खाली गरिने जानकारी दिनुभयो । उहाँका अनुसार आज शुक्रबारबाट जग्गा हडपेर संरचना बनेको हो वा होइन भन्ने नापजाँच गरिनेछ । घरधनीसँग भएका कागजात अध्ययन गरी कानुनविपरीत देखिए तत्काल खाली गर्ने योजना छ ।
समितिले कामपा ३१ र १० वडा कार्यालयका समन्वयमा जग्गा नापजाँच सुरु गर्न लागेको हो । जग्गा नापजाचसँगै जग्गा धनीसँग जग्गाधनी प्रमाणपत्र (लालपुर्जा)को प्रतिलिपि, नापी नक्सा (ब्ल्यु प्रिन्ट), कामपालाई बुझाउनुपर्ने सम्पत्ति कर, भूमिकरलगायत कर चुक्तासम्बन्धी कागजात, स्वीकृत नक्सा, नक्सापास प्रमाणपत्र र निर्माण सम्पन्न प्रमाणपत्र माग गर्नेछ । कामपाले बुधबार सार्वजनिक सूचना जारी गरी ३ दिनभित्र अनधिकृत रूपमा निर्माण गरेका घरटहरालगायत संरचना हटाउन आग्रह गरेको छ ।
कामपा प्रहरी बल प्रमुख पाण्डेले शंखमूल पुलदेखि पूर्वतर्फ मापदण्डविपरीत बनेका सबै संरचना भत्काइने बताउनुभयो । उहाँले भन्नुभयो– ‘३ दिनको समयसीमा तोकेका छौं, यदि आफैंले खाली नगरे सबै खर्च घरधनीले बेहोर्ने गरी कामपाले संरचना हटाउनेछ ।’ समितिका संयोजक लामिछानेका अनुसार मापदण्डविपरीत जग्गा मिचेर संरचना निर्माण गरेका सबै धरधनीलाई पत्र पठाइसकेको र अब अन्तिम चरणमा जग्गा खाली गर्ने प्रक्रिया सुरु गर्न लागेका हांै ।
उहाँका अनुसार खोला किनार वरपर २०–२० मिटर मापदण्डमा चिह्न लगाइसकेको छ । समितिले आजबाट खटाइएको प्राविधिक टोलीलाई घरमा पठाइएको पत्रमा माग गरेअनुसार कागजात उपलब्ध गराइदिन आग्रह गरेको छ । प्रहरी बल प्रमुख पाण्डेले सकभर आइतबार वा सोमबारबाट सो क्षेत्रको सार्वजनिक जग्गा खाली गर्ने प्रक्रिया सुरु हुने जानकारी दिनुभयो ।
सो क्षेत्रमा दर्जनौं रेस्टुरेन्ट, खाजाघर, ड्राइभिङ सेन्टर, विभिन्न पसल कबल सञ्चालित छन् । स्रोतका अनुसार सो क्षेत्रका अधिकांश घरधनीले लालपुर्जामा उल्लिखित क्षेत्रफलमा पक्की घर बनाए पनि मिचेको क्षेत्रमा टहरा बनाएर भाडामा दिने गरेको पत्ता लागेको छ ।
प्रहरी बल प्रमुख पाण्डेले मिचेका सबै जग्गा तत्काल खाली गरेर खुला क्षेत्रको रूपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘भत्काउन सुरु गरेपछि पूरै नहटाएसम्म निरन्तर संरक्षण जारी रहनेछ ।’











प्रतिक्रिया