लुम्बिनी कछुवाको गतिमा फाइनलमा 

2.16k
Shares

काठमाडौंं। 

यस सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्ने भएका छन् । बिहीबार त्रिवि रंगशालामा भएको क्वालिफायर दुई खेलमा लुम्बिनीले विराटनगर किंग्सलाई ४० रनले पराजित गरेको हो । योसँगैं लुम्बिनी पहिलो पटक एनपीएलको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम भने गत संस्करणको फाइनलिस्ट टोली हो ।

लुम्बिनीसँग लायन्स जोडिएपनि प्रतियोगितामा सुस्त गतिबाट शुरुआत भयो । पहिलो खेलमा जित निकालेर लायन्सले गर्जन ग¥यो तर, त्यसपछि तीन खेलमा पराजित भएपछि प्लेअफमा पुग्ने कुनै संभावना नै थिएन । तर, पछि लुम्बिनीले जित हासिल गर्दै कछुवा गतिमा विस्तारै अगाडि बढ्ने काम ग¥यो । लिगमा लगातार तीन खेल जितेपछि प्लेअफमा पुग्यो र प्लेअफमा लुम्बिनीले दुई खेल जितेर फाइनलको यात्रा गर्न सफल भयो ।

ब्याटिङमा रोहित र शर्टको महत्वपूर्ण साझेदारी

पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन बनायो । कप्तान रोहित पौडेल र डीआर्सी शर्टको साझेदारीले टोलीलाई विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्ने स्कोरमा पु¥याएको हो । पहिलो विकेट दिनेश अधिकारीको रूपमा आउट भएपछि रोहित र शर्टले दोस्रो विकेटका लागि ६९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

रोहित ३४ रन बनाएर सुभाष भण्डारीको बलमा आउट भए । यसपछि ९० रनमा पुग्दा शर्ट पनि ४५ रन बनाएर आउट भए । उनलाई पनि सुभाषले नै आउट गरेका थिए । यसपछि भने लुम्बिनीको ब्याटिङ धर्मरायो र लगातार विकेट गुमेको अवस्थामा १ सय ५० रन बनाउन सक्ने संभावना पनि सकिएको थियो । रोहित र शर्ट आउट भएपछि निरोशन डिकवेल्लाले मात्रै राम्रो ब्याटिङ गरे । उनले २९ रनको महत्वपूर्ण योगदान दिएका थिए । बलिङमा विराटनगरका लागि सुभाष र प्रतिश जीसीले सर्वाधिक ३÷३ विकेट लिए ।

बलिङमा पनि जम्यो लुम्बिनी

लुम्बिनीका बलर सामु विराटनगरका फाफ डु प्लेसिस, मार्तिन गप्टिल जस्ता आक्रमक ब्याटरहरू एक क्षण पनि टिक्न सकेनन् । उनीहरू छिटै आउट भएपछि विराटनगरको संघर्षरत ब्याटिङ ९४ रनमा पुगेर समापन भयो । उनीहरूले १७.५ ओभरसम्म जितको लागि प्रयास गरेपनि लुम्बिनीका बलरसँग केही लागेन ।

गप्टिल २ रन र डु प्लेसिस ३ रनमा आउट भएका थिए । गप्टिललाई रुबेन ट्रम्पलमेनले आउट गरे भने डु प्लेसिसको विकेट शेर मल्लले लिएका थिए । ट्रम्पलमेनले लोकेश बमको पनि विकेट लिएका थिए । योसँगैं विराटनगर १.३ ओभरमा ६ रन बनाएर शुरुआतमै दवावमा परेको थियो ।

साम हिजलेट एक ब्याटरले भने निकै मेहनत गरे । तर, उनी पनि ३४ रन बनाएर पाँचौं विकेटको रूपमा आउट भए । जे स्मिटले उनको विकेट लिएपछि लुम्बिनी जिततिर अग्रसर भएको थियो । त्यसमाथि बसिर अहमद र डी लान्ज पनि धेरैबेर नटिकेपछि लुम्बिनीको फाइनल खेल्न पक्का नै भएको थियो । पछि नरेन भट्टले केही बाउन्ड्री प्रहार गरे पनि त्यसले विराटनगरको लागि कुनै ठोस मद्दत मिल्न सकेन ।

लुम्बिनीका सबै बलरले विकेट लिएका थिए । टिका भण्डारीले सर्वाधिक ३ विकेट लिए भने ट्रम्पलमेन, स्मिट र अभिषेश गौतमले २÷२ विकेट हात पारेका थिए । शेर मल्लको हातमा एक विकेट परेको थियो । यी सबै बलरले उत्कृष्ट बलिङ गरेकोले कप्तान रोहितले बलिङ गर्नु परेन ।