ओझेलमा परेका रसुवाका नौ कुण्ड

1.13k
Shares

रसुवा । जिल्लाको प्रसिद्ध गोसाइँकुण्डको नजिकै रहेका नौ कुण्ड प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । नौकुण्ड गाउँपालिका वडा नं. २ मा अवस्थित करिब ४ हजार मिटरदेखि ५३ सय मिटर उचाइसम्म फैलिएका नौवटा कुण्डहरूको समूहलाई नौ कुण्ड भनेर चिनिएको छ । स्थानीयहरू यसलाई नाउकुण्ड भनेर पनि चिन्छन् । उचित आवासको सुविधा र प्रचारप्रसारका अभावले गोसाइँकुण्डको नजिकै रहेर पनि यी कुण्डले आफ्नो पहिचान स्थापित गर्न सकिरहेका छैनन् ।

स्थानीयका अनुसार जनैपूर्णिमाका बेलामा गोसाइँकुण्डमा फोहोर हुने हुनाले शिवजी सो अवधिमा नौ कुण्डमा आउने गर्दछन् । त्यसैले जनैपूर्णिमा वा गंगा दशहरामा यहाँ स्नान गर्नाले मुक्ति मिल्ने जनविश्वास रही आएको छ । यही कुण्ड वा क्षेत्रको नामबाट नै यहाँको गाउँपालिकाको नामसमेत नौकुण्ड रहेको हो । यस नौ कुण्डका समूहमा पर्ने कुण्डहरूमा एकथरी मतअनुसार लम्बे कुण्ड, नाउ÷नागकुण्ड, राजा कुण्ड, रानी कुण्ड, कामी कुण्ड, एक्ले कुण्ड, ज्याकसन्चुली कुण्ड, चिता कुण्ड र कमिनी कुण्ड रहेका छन् ।

यहाँ रहेका कुण्डहरूको नामकरण अन्धाधुन्धजस्तै गरिएको छ । ओझेलमा परेको हुनाले यस स्थानका कुण्डहरूको नामकरणमा विविधता आएको हो । स्थानीयका अनुसार नौ कुण्ड समूहभित्र तेम कुण्ड, छेडा कुण्ड, दि कुण्ड, चुल्हो कुण्ड र शिर कुण्ड रहेका छन् भनिन्छ । ९ वटा कुण्डमध्ये २ वटा कुण्ड सुकिसकेको अवस्थामा छन् रे ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र तथा विविध वनस्पतिहरू, वन्यजन्तुहरूको बासस्थान (लोपोन्मुख रेडपाण्डाको बासस्थान), विभिन्न प्रकारका फूलहरू, चराचुरूङ्गीहरू, चौँरीगोठ, भेडागोठहरू यहाँका आकर्षण हुन् । अन्य आकर्षणमा यहाँको पदमार्गमा प्रायः सबै किसिमका लालीगुँरासका फूलहरू पाइन्छन् । यो क्षेत्र कुण्डैकुण्डहरूको क्षेत्र हो । यहाँ विभिन्न हिमाल, पहाडी शृङ्खला, सूर्योदय र सूर्यास्तका मनोरम दृश्यहरूको अवलोकन गर्न सकिन्छ । यहाँको तामाङ, शेर्पा संस्कृति र परम्परा उत्तिकै महत्वपूर्ण छ ।
यहाँ पुग्नका लागि विभिन्न मार्गहरू रहेका छन् । पासाङल्हामु राजमार्गको कालिकास्थान वा गोम्बोडाँडा (स्याउबारी) बाट गैरीनागी–लोकिल हुँदै जुरेढुंगो वा सिप्पुङबाट ढोकाभञ्ज्याङ–कानछ्याम्बा खर्क, नचोक, श्यार्मा, बक्सार, परालथला हुँदै जान सकिन्छ ।

पासाङल्हामु राजमार्गको गोम्बोडाँडाबाट गैरीनागी–लोकिल हुँदै लाङ्बु, थाङ्दोर, स्याङ्ग्युल, सिम्बन्दी–श्यार्मा, बक्सार, परालथला हुँदै पनि जान सकिन्छ । यस्तै रसुवाको स्याफ्रुबाट वा लाङटाङ पुगेर चन्दनबारी, लौरीविनायक, गोसाइँकुण्ड, भैरवकुण्ड हुँदै पनि यहाँ पुग्न सकिन्छ ।

नुवाकोटको विदुर–लच्याङ, सरमथली, पाच्र्याङ, यार्सा, सिम्बन्दी–श्यार्मा, बक्सार, परालथला हुँदै वा यार्साबाट राउचुली हुँदै पनि यहाँ पुग्न सकिन्छ । काठमाडौंको नारायणस्थानबाट वा नुवाकोटको दुप्चेश्वर, उर्लेनी–राउचुली हुँदै पनि नौकुण्ड पुग्न सकिन्छ ।
काठमाडौंको सुन्दरीजल, चिसापानी, ठाडेपाटी, फेदी, सूर्यकुण्ड, गोसाइँकुण्ड, भैरवकुण्ड भएर अथवा सिन्धुपाल्चोकको मेलम्चीपुल बजारबाट तार्केघ्याङ, ठाडेपाटी, फेदी, सूर्यकुण्ड, गोसाइँकुण्ड, भैरवकुण्ड हुँदै पनि यहाँ पुग्न सकिन्छ ।