पीएल सिंह काठमाडौं महानगरका प्रथम निर्वाचित मेयरका साथै मन्त्रीसम्म बनेका काठमाडौंका आदिवासी नेवार, ज्यापू समुदायका लोकप्रिय बौद्धिक नेता हुन् । नेपालको लोकतान्त्रिक इतिहासका प्रेमलाल सिंहको स्थान निकै उच्च छ । स्वाभिमानी, उच्च विचार, बीपी कोइरालाका अनुयायी, स्वच्छ छविका जनताका नेता हुन् पीएल दाइ अर्थात् प्रेमलाल सिंह । पीएल सिंह अनवरत संघर्षशील व्यक्तित्व हुुन् । जीवनपर्यन्त लोकतन्त्रको लडाइँको मस्तिष्क हुन् ।
देशमा मात्र नभएर विश्व लोकतान्त्रिक मोर्चामा उनको ख्याति थियो । आफ्नो घरबार, दाजुभाइ, परिवार, सम्पत्ति त्यागेर राजनीतिको पोखरीमा होमिएका पीएल सिंह सर्वोच्च नेता गणेशमान सिंहको निकट मात्र रहेनन्, चाक्सीबारीको पहरेदारको रुपमा रहेर लोकतन्त्रको बहालीमा निरन्तर लागिरहे । उनलाई चक्सीबारीको आर्थिक, सामाजिक, राजनीतिक सहयोगी भनेर प्रतिबन्धित राजनीतिकर्मी पहिचान सुनाउँथे । उनलाई गणेशमान सिंहको अनोन्याश्रित धर्मपुत्र भन्ने गर्थे । उनी राष्ट्रिय राजनीतिका सवालमा मात्र नभएर विश्व राजनीतिका जानकार हुन् । विश्वका शीर्षस्थ नेताहरुसँग र विशेष व्यक्तित्वहरुसँग सम्पर्क सूत्रको रुपमा उनले जिम्मेवारी निभाएका कारण उनी विश्वराजनीतिक वृत्तमा सुपरिचित थिए ।
कुनै समय नेपाली कांग्रेसको परराष्ट्र फाँट नै पीएल सिंहको जिम्मामा थियो । पीएल दाइबाट सुपरिचित उनी गणेशमान सिंहका दाहिने हातका रुपमा रहेर प्रजातन्त्र बहालीको आन्दोलनमा डटेर लडेका थिए । राष्ट्रियता, प्रजातन्त्र र समाजवादका अनुयायी उनी देशभरका कांग्रेसका नेताका आँखाका नानीको रुपमा सुपरिचित व्यक्तित्व हुन् । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको आत्मामा छिरेका पीएल सिंह नेपाली कांग्रेको सिद्धान्त र आदर्शको नमुनाको रुपमा आफूलाई प्रदर्शन गर्न सफल उच्च सम्मानका व्यक्तित्व हुन पुगे । उच्च विचार, सादा जीवन, जोसँग पनि सहज घुलमिल हुने अध्येता, बौद्धिक व्यक्तित्व, आफू मेटिएर लोककल्याणमा समर्मित धैरै साथीहरुका धनी उनको प्रशंसा जति गरे पनि पूरा हुनेछैन ।
पीएल सिंहका बारेमा चर्चा गर्दा नेपालको राजनीतिको बारेमा हेरिएन भने त्यो अधुरो नै हुन्छ । २०४६ सालको सफल जनआन्दोलनपछि नेपाली कांग्रेस आन्दोलनको अगुवा ठूलो पार्टीको कारण सत्तामा पुग्ने आँकलन सबैले गरेकै विषय हो । सत्तामा पुग्ने भएपछि सत्ता स्वादका लागि कांग्रेसभित्र पनि चलखेल हुनु स्वाभाविक नै रह्यो । गणेशमानजीको उच्च व्यक्तित्वका कारण चाक्सीबारी पनि राजनीतिक चपेटाबाट अलग रहन सकेन । धर्मपुत्र रहे पनि पार्टीको कर्मशील व्यक्तिका रुपमा रहेका गणेशमान सिंहको पुत्रकै रुपमा चर्चित पीएल सिंहलाई टिकट दिइएन । गणेशमान रिझाउने तत्व हाबी हुँदै गणेशमान परिवारको नाममा पुत्र प्रकाशमान सिंह र महिला नेतृ मंगलादेवी सिंहलाई टिकट दिइयो । यो कुरा गणेशमान सिंहलाई नै मन मरेको थिएन भने पीएलजस्तो दूरदर्शी नेतालाई मन पर्ने कुरै भएन । यस घटनाले पीएल सिंहमा हीनताबोध हुनु स्वाभाविक नै हो । उनी चाक्सीबारीबाट मात्र नभएर पार्टीबाट पनि असन्तुष्ट हुँदै गए ।
पीएल सिंह अनुभवी नीति निर्माता हुन् । उनको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उच्च स्थान रहेको र चाक्सीबारी उनमा जोडिएकोले क्षेत्रपाटी पावर पोलिटिक्समा पीएल सिंह लड्न चाहेनन् । पछि काठमाडौंको कांग्रेसको टिकटले बिग्रेको छवि सुधार गर्न उनलाई काठमाडौं नगरको मेयरको पदमा चुनाव लडाइयो । चुनावको सफलतापछि उनले आफ्नो व्यक्तित्वले नगरको पूर्वाधारका नीतिगत कुरामा धैरै परिवर्तन गरे ।
उनकै प्रयासले काठमाडौं महानगर बन्यो । काठमाडौं नगरलाई महानगर बनाई विकासको पूर्वाधारको खाका बनाएर देश–विदेशका नगर एवं अन्य एजेन्सीसँग काठमाडौंलाई जोड्न पीएल सिंहको ठूलो योगदान रह्यो ।
कानुनी राज्य स्थापनाका लागि लडेका कानुनी प्रावधानबाट नै काम कार्यान्वयन होस् भन्ने चाहना उनीमा थियो, जसले गर्दा पावर र पदबाट कामकाज गर्दै आएको यो समाज उनको लागि प्रतिकूल हुँदै गयो । भनसुनमा काम गर्ने परम्पराको जालो चिर्न निकै गाह्रो प¥यो । पीएल सिंहले पार्टीको भावनाअनुसार काम नगरेको लाञ्छना उनले खेप्नुप¥यो । एकोहोरो विपक्षीहरुको असहयोग र पार्टीको बेवास्ता अनि महानगर कानुनको अभावमा उनले चाहेअनुसार काम गर्न सकेनन् । गरेका कामको सकारात्मक प्रचार हुन पनि सकेन । नकारात्मक कुरा सडकमा छचल्किनुले कामअनुसारको जश उनले पाएनन् ।
आफूले बनाएको पूर्वाधार कार्यान्वयनका लागि दोस्रोपटक मेयर बन्ने उनको चाहना गुटको राजनीतिका कारण असफल रह्यो । उनले चाहेको काठमाडौं निर्माण गर्ने उद्देश्यले पनि पूर्णविराम लियो ।
मध्यावधि संसदीय निर्वाचनमा काठमाडौंका सातै क्षेत्र गुमाएको नेपाली कांग्रेसको साख २०५६ सालको संसदीय निर्वाचनमा उच्च व्यक्तित्व पीएल सिंह र अर्का इमानदार सादगी नेता तीर्थराम डंगोलले काठमाडौंको संसदीय चुनाव जितेर पार्टीको साख बचाए ।
उनी सरकार र पार्टीको अप्रजातान्तिक रबैयाको खिलाफ थिए । कानुन बनाउन गएका सांसद्को सिफारिसमा योजना बाँड्ने पक्षको विरोधी थिए । यसमा उनले विरोध मात्र गरेनन्, बजेटको सिफारिस पनि गरेनन् । आन्दोलनपछि स्थापित गरिएको संसद्मा सदस्य रहेर पनि उनी सैद्धान्तिक विमति राखी सहभागी भएनन् । कांग्रेसले सैद्धान्तिक बाटो छोडेको भन्ने उनको गुनासोमा कांग्रेसले कहिल्यै उनलाई समेट्ने कोशिश गरेन ।
अलिक दिन मन्त्रीसमेत भएका पीएल सिंह कांग्रेसको व्यवहार र कांग्रेसका कार्यकर्ताको स्वभावबाट दिक्क भए । नीति, कार्यक्रम सबैबाट वितृष्णा देखाएर उनी पार्टीबाट अलग्गिए तर उनले आफ्नो असन्तुष्टि कतै सार्वजनिक गरेनन् ।
अविवाहितका कारण उनले लामो समय एक्लै बिताए । चाक्सीबारीमा बसेर अहोरात्र देश र जनतका लागि खटेका उनले चाक्सीबारीबाट बाहिरिन उचित ठाने । छाडेर आएको जन्मघर पनि उनको रुचि रहेन, जसका कारण भाडामा बस्न जानु उनको स्वाभिमानले उच्च ठान्यो । केही वर्ष उनी भाडाको घरमा बस्न पुगेका थिए । यो उनको असन्तुष्टि कुनै कांग्रेसीलाई चासोको विषय भएन । पछि अन्तिम अवस्थामा घर फर्केर झन्डै दुई वर्ष दाजुभाइसँग पारिवारिक जीवन बिताएका उनी २०८१ मंसिर १८ मा यस धर्तीबाट बिदा भए ।
भनिन्छ, नेपाल सतिको सराप परेको देशमा राम्रा मान्छेको स्थान छैन । गर्ने मान्छेलाई भन्दा बोल्ने मान्छे अगाडि निस्कन्छ, नीतिभन्दा पद र पावरका पछि मान्छे झुम्मिन्छ, जसका कारण जीवनको उत्तराद्र्धमा पीएल दाइ हराए । समाजले उनको चासो राखेन भनौं वा यो अविवेकी समाजमा उनी अलग हुन चाहे । यो उनलाई नै जानकारी थियो होला ।
यही मंसिर १८ गते उनको प्रथम स्मृतिको दिन थियो । यो स्तम्भकारले पीएल सिंहको श्रद्धाञ्जलि कार्यक्रम नेपाली कांग्रेसको संगठनले कतै आयोजना गरेको छ कि भनेर चासो राख्दा कतै भेटेन । ‘उनको व्यक्तित्व अध्ययन गर्दै राजनीति गर्ने मान्छेले जान्नु ज्ञान’ शीर्षक राखेर सोसल मिडियामा उनको तस्वीरसहित पोस्ट गरिएको थियो तर त्यो पोस्टमा अत्यन्त कम मानिसले मात्र चासो राखेको पाउनुले अब देशबाट असल मान्छेको सम्मान हुने विषय अस्ताएको जस्तो बुझियो । उनै पीएल सिंहकै सिफारिसमा विदेशी छात्रवृत्ति लिएर जीवन सुधार्ने धैरै छन् । नगरपालिकामा उनैले सृजना गरिदिएको पदमा जागिरे हुने गनेर सकिँदैन । उनीबाट फाइदा लिएर गुजारा चलाई राजनीति गर्ने अहिले पनि पदमा बसेर मोजमस्ती गरेका छन् । तर आज पीएल सिंहको संस्मरण गर्ने उनकै परिवारबाहेक अन्य कोही नदेखिनुले हाम्रो समाजको स्वार्थी भावना छर्लंग देखिन्छ । पीएल सिंहप्रति हार्दिक श्रद्धाञ्जलि !











प्रतिक्रिया