सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा


काठमाडौं।

विराटनगर किंग्समाथि ७७ रनको सानदार जित हात पार्दै सुदूरपश्चिम रोयल्स दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल–२) को फाइनलमा पुगेको छ । योसँगैं दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमेली टोली लगातार दोस्रो पटक फाइनलमा पुग्यो ।

गत वर्ष पहिलो संस्करणमा पनि सुदूरपश्चिम फाइनलमा पुगेको थियो । तर, फाइनल खेलमा जनकपुर बोल्ट्सँग हार्दै टोलीले उपाधि गुमाउन पुगेको थियो । यसपटक भने च्याम्पियन जनकपुर पुछारमा परेको छ ।

मंगलबार भएको क्वालिफायर वान खेल रोमाञ्चक बन्न सकेन । पूरै एकतर्फी बनेको थियो । सुदूरपश्चिमले ब्याटिङ र बलिङ दुबै विधामा विराटनगरलाई माथ खुवाइदियो । १ सय ५६ रनको लक्ष्य दिएको सुदूरपश्चिमले विराटनगरको ब्याटिङ शुरुदेखि नै ध्वस्त बनाएर ७८ रनमा अन्त्य गरिदियो ।
कमजोर ब्याटिङ गरेको विराटनगर १४.१ ओभरमै अलआउट भएको थियो । त्यसो त विराटनगरले सुदूरलाई लिगमा ६ विकेटले पराजित गरेको थियो । जुन सुदूरको जारी एनपीएलमा पहिलो हारसमेत थियो ।

सुदूरपश्चिमका बलरहरू स्कट कुगेलेन, हरमीत सिंह र अविनाश बोहराले २–२ विकेट लिएका थिए । अविनाशको जारी एनपीएलमा १६ विकेट भएको छ । १५ विकेट लिएका सन्दीपले यसमा विकेट लिन नसक्दा अविनाश सर्वाधिक विकेट लिने सूचीमा पहिलो स्थानमा उक्लिए । यस्तै, हेमन्त धामी र दीपेन्द्रसिंहले १–१ विकेट हासिल गर्दा मिलन बोहराले विकेट लिन सकेनन् ।

विराटनगरको ब्याटिङमा कुनै पनि विकेटमा साझेदारी लम्बिएन । शुरुमा ३ रन जोड्दा नै तीन महत्वपूर्ण विकेट गुमाउनु नै विराटनगरको लागि खेलमा फर्किने सक्ने अवस्था नै हुन सकेन । साम हेजलेट र नरेन भट्ट शून्यमा तथा मार्तिन गप्टिल दुई रनमा आउट भएपछि नै टोली कमजोर बनिसकेको थियो ।

त्यसो त फाफ डु प्लेसिस र बसिर अहमदले केही आस देखाए । तर, उनीहरूको साझेदारी लम्बिन सकेन । बसिरलाई व्यक्तिगत १२ रनमा दीपेन्द्रसिंहले आउट गरिदिएपछि सुदूरको लागि एक मात्र तगारो डु प्लेसिस बचेका थिए ।

झन लोकेश बम र नारायण जोशीलाई क्रमशः अविनाश र हरमीतले छिटो छिटो आउट गरेपछि डु प्लेसिसले पनि धैर्य छाडे र उनी पनि पभेलियन फर्कन बाध्य भए । उनलाई हेमन्तले व्यक्तिगत ३६ रनमा आउट गरेका थिए । डुृ प्लेसिसको विकेटपछि नतिजा सुदूरतिर जाने पनि पक्का भएको थियो ।

डु प्लेसिस आउट हुँदा विराटनगरको स्कोर ५९ रन थियो । यही स्कोरमा प्रतिश जीसी रनआउट भएपछि आठ विकेट पतन हुन पुग्यो । मर्कान्त डीलान्जले केही राम्रा शट हाने तर, जितबाट अझै कोसौं टाढा हुँदा उनको प्रयास निर्रथक नै सावित भयो । त्यसो त उनी १५ रनमा कुगेलेनको शिकार भएका थिए ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ५५ रन बनाएको थियो । सुदूरको ब्याटिङमा विनोद भण्डारीले अर्धशतक प्रहार गरेका थिए । यस खेलमा यो एकमात्रै अर्धशतक सावित भएको थियो । उनले ६३ रन जोडेका थिए ।

अन्यले भने उनलाई साथ मात्रै दिएपनि कसैबाट उल्लेखनीय रन बनेको थिएन । विनोदले नै शुरुदेखि सम्हालिँदै खेलेर स्कोर १ सय ४८ रनसम्म पु¥याएर मात्रै आउट भएका थिए । विराटनगरको बलिङमा डी लान्ज र प्रतिशले २÷२ तथा सूर्य तामाङ र हेजलेटले १÷१ विकेट हासिल गरेका थिए । विराटनगरको बलिङ घातक नहुनाले पनि सुदूरले १ सय ५० रन पार गर्न सफल भएको थियो ।