ओली अध्यक्ष बनेपछि एमालेको लोकतान्त्रिक प्रक्रियामा गम्भीर संकट: उपाध्यक्ष पाण्डे


काठमाडौँ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्माओलीले पार्टीको महाधिवेशनलाई पञ्चायती व्यवस्थाको गाउँ फर्क शैलीमा गर्न लागेको आरोप लगाएका छन् ।

नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले आयोजना गरेको अन्तरसंवाद कार्यक्रमलाई साेमबार सम्बाेधन गर्दै उनले यस्तो आराेप लगाएका हुन्। उनका अनुसार २०३२ सालमा पंचायती व्यवस्थामा गाउँ फर्क लागू भएपछि गाउँ फर्कले जसलाई टिकट दिन्छ, सोही व्यक्ति मात्रै पञ्च भएर निर्वाचन लड्न पाउँथे । सोही व्यवस्थलाई ओलीले अहिले पार्टीमा लागू गर्नुभएको उनको आरोप छ ।

उपाध्यक्ष पाण्डेले ओली अध्यक्षमा निर्वाचित भएपछि पार्टीको लोकतान्त्रिक प्रक्रियामै गम्भीर संकट आएको बताए । वर्तमान नेतृत्वले आन्तरिक निर्वाचन प्रणालीलाई सीमित व्यक्तिमुखी बनाउने प्रयास गरिरहेको उनकाे दावी छ। उनले ओलीकै नेतृत्वमा ७० वर्षे उमेरहद र दुई पटक भन्दा पार्टीको नेतृत्व गर्न नपाउने व्यवस्था गरिएको स्मरण समेत गरे । आठौं महाधिवेशनमा सर्वसम्मत रूपमा पारित गरिएको लोकतान्त्रिक नेतृत्व विधि पछि ९ औंसम्म चलेको उनको भनाइ छ। १० औं महाधिवेशनमा भने पहिला सूची पास गर्ने र सूचीमा रहेका मात्र उम्मेदवार बन्न पाउने भन्ने प्रावधान ल्याइएको र ११ औं महाधिवेशनमा पनि त्यहि प्रक्रिया दोहोर्‍याउन खोजेको आरोप लगाए।

नेताले चिनेका व्यक्तिलाई मात्र उम्मेदवारी दिने सोचाइले पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त हुने उनले बताए । पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो नहुँदा नवपुस्ता र जनतामाझ एमाले खुम्चिदै गएको उल्लेख गरे । नेतृत्व चयनमा प्रतिस्पर्धा नहुने र माथिबाट तकिएको लिष्टमा नेतृत्व चयन हुने प्रचलनमा आएपछि पार्टीप्रति आकर्षण घटिरहेको उनको दावी छ। चुनाव नहुने, प्रतिष्पर्धा नहुने, माथिबाट लिष्ट बेचिने पार्टीमा किन आउने भन्ने प्रश्न नवपुस्ताले उठाउन थालेको उपाध्यक्ष पाण्डेले बताए।

उपाध्यक्ष पाण्डेले कानूनमा नै राजनितिक दलमा एक पटक भन्दा बढी नेतृत्व गर्न नपाउनेगरी व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । उनले पुरानामा मात्रै नभएर नयाँ राजनितिक दलमा पनि नेतृत्व परिवर्तनमा समस्या देखिएको बताएका छन् ।