काठमाडौं ।
नेपालले पहिलो पटक आयोजना गरेको ‘एशिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपीजीएन) सम्मेलन २०२५’ काठमाडौंमा सम्पन्न भएको छ। जेरियाट्रिक सोसाइटी अफ नेपाल र एपीजीएनको संयुक्त आयोजनामा राजधानीको लेखनाथ मार्गस्थित द मल्ल होटलमा आयोजना भएको एकदिने सम्मेलनमा २० भन्दा बढी राष्ट्रका जेरियाट्रिक विशेषज्ञ, चिकित्सक, अनुसन्धानकर्ता तथा विश्वविद्यालयका प्राध्यापकहरू सहभागी भएका थिए। सम्मेलनमा १५० भन्दा बढी व्यक्ति सहभागी भएका आयोजकले जनाएका छन्।
‘फ्रम ओसियन टु द हिमालयजः ट्रान्सफर्मिङ जेरियाट्रिक केयर टुगेदर’ थिममा आयोजित सम्मेलनमा डिमेन्सिया, कग्निसन, जेरियाट्रिक्स, मूभमेन्ट डिसअर्डर्स, स्ट्रोक, शारीरिक गतिविधि, समग्र ज्येष्ठ हेरचाह, सामुदायिक जेरियाट्रिक्स, नर्सिङ, फ्रेल्टी (दुर्बलता) तथा अग्रिम हेरचाह योजना जस्ता बहुआयामिक विषयमा विशेषज्ञहरूले प्रस्तुति तथा छलफल गरेका थिए।
सम्मेलन सफलताको शुभकामना दिँदै प्रधानमन्त्री शुशिला कार्कीले पठाएको सन्देशमा नेपालमा पहिलो पटक एपीजीएनको सम्मेलन आयोजना हुनु गौरवको विषय भएको बताइन्। उनले स्वस्थ, सक्रिय र सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सरकार, समुदाय, स्वास्थ्य क्षेत्र र सामाजिक संरचनाबीच दृढ सहकार्य आवश्यक रहेको उल्लेख गरिन्। प्रधानमन्त्रीले ६२ अस्पतालमा जेरियाट्रिक सेवा विस्तार भइरहेको जानकारी दिंदै मानव संसाधन विकास र नीति सुधारलाई सरकारले प्राथमिकता दिएको बताइन्।
सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले गरिन्। उनले नेपालमा ज्येष्ठ नागरिकको जनसङ्ख्या तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै जेरियाट्रिक सेवा पहुँच विस्तार, ज्येष्ठ–मैत्री स्वास्थ्य संरचना, दीर्घरोग व्यवस्थापन र परिवार–समुदायमा आधारित हेरचाह प्रणालीलाई मजबुत बनाउने सरकारको प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रमको स्वागत मन्तव्य डा. जगदीश कुमार क्षेत्रीले राखे। सम्मेलनमा एपीजीएनका अध्यक्ष प्रा. लिओन फ्लिकरलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो। समापन सत्रमा जीएसएनका अध्यक्ष डा. उमेश बोगटीले नेपालको स्वस्थ बुढ्यौली अभियानलाई क्षेत्रीय स्तरमा उभ्याउने महत्वपूर्ण उपलब्धि सम्मेलनमार्फत हासिल भएको बताए।
पहिलो सत्र ‘डिमेन्सिया एण्ड कग्निसन’ मा प्रा. फ्लिकरले डिमेन्सियाबाट प्रभावित जनसङ्ख्या वृद्धि, सेवा आवश्यकताहरू र आगामी चुनौतीबारे महत्वपूर्ण तथ्य प्रस्तुत गरे। अन्य प्रस्तुतिहरूमा औषधिबाहेकका उपचार, विश्व स्वास्थ्य संगठनको आईसीओपीडी मोडेल, तथा समुदायमा आधारित संज्ञानात्मक व्यवहारिक समर्थनका उपायहरू छलफलमा आए।
जेरियाट्रिक मेडिसिन सत्रमा स्वास्थ्य सेवा विभागकी शाखा प्रमुख कविता अर्यालले नेपालमा भइरहेको जेरियाट्रिक सेवा पहलबारे जानकारी दिइन्। अष्ट्रेलियाका प्रा. वासि नागानाथनले न्यून–आय भएका राष्ट्रहरूमा जेरियाट्रिक विभाग सञ्चालनका अनुभव सुनाए।
नसारोग सम्बन्धी सत्रमा प्रा. पियु चानले पार्किन्सन्स उपचारका नवीन प्रविधि प्रस्तुत गरे। यस्तै स्ट्रोक पुनर्स्थापना, घरमै प्रदान हुने जेरियाट्रिक सेवा तथा गोर्खा भूतपूर्व सैनिकमा गरिएको अध्ययनका नतिजाहरू पनि साझा गरियो।
सामुदायिक जेरियाट्रिक्स सत्रमा डा. अरविन्द माथुरले पारिवारिक हेरचाहकर्तालाई सहयोग पुर्याउने नवीन विधिहरूबारे जानकारी दिए। नेपालका सामुदायिक स्वस्थ बुढ्यौली कार्यक्रम, केयर–होम सञ्चालनका अनुभव तथा ज्येष्ठ–मैत्री समुदाय मूल्याङ्कन पनि प्रस्तुत गरियो।
अन्तिम सत्रमा प्रा. माउ पिन टानले कम स्रोत भएका मुलुकमै लागू गर्न सकिने फ्रेल्टी रोकथामका उपायहरू प्रस्तुत गरे।
सम्मेलनले नेपाललाई स्वस्थ बुढ्यौली तथा जेरियाट्रिक सेवाको क्षेत्रमा क्षेत्रीय साझेदारी र नीतिगत सुधारतर्फ नयाँ गति दिएको विशेषज्ञहरूले बताएका छन्।











प्रतिक्रिया