दोलखा ।
नेकपा एमालेको ११ औ राष्ट्रिय महाधिवेशनमा दोलखाका झण्डै एक दर्जन प्रतिनिधिले केन्द्रीय सदस्य तथा पदाधिकारीको आकांक्षा राखेका छन् ।
नेकपा एमालेको केन्द्रीय कमिटीमा अहिले तीन जना पोलिटब्युरो सदस्य सहित पाँच जनाको प्रतिनिधित्व रहेको छ । पाँच जना मध्य तीन जना पोलिटब्युरो सदस्य र एक जना केन्द्रीय सदस्यले ११ औ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीको आकांक्षा राखेका छन् भने सल्लाहकार कमिटी, प्रदेश कमिटी, केन्द्रीय विभाग र जिल्ला कमिटीमा रहेका केही महाधिवेशन प्रतिनिधि सहित झण्डै एक दर्जन दोलखालीले पार्टीको केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
नेकपा एमालेको पोलिटब्युरो सदस्य एवम् काठमाण्डौ जिल्ला इन्र्चाज आनन्द प्रसाद पोखरेलले उपमहासचिव, एमाले पोलिटब्युरो सदस्य एवम् दोलखा जिल्ला इन्र्चाज पार्वत गुरुङ, पोलिटब्युरो सदस्य इश्वरी रिजाल र केन्द्रीय सदस्य रचना खड्काले सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
एमाले पोलिटब्युरो सदस्य पोखरेल आफुले पार्टीको ११ औ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी दिने तयारी गरेको बताउछन् । महाधिवेशनमा सहमतिमै नेतृत्व चयनको पक्षमा रहेका पोखरेल सहमतिमा सचिव बन्न समेत तयार देखिन्छन् । उनी लामो समय अध्यक्ष केपी शर्मा ओलीको टिममा रहेर काम गरेका नेता हुन । २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा पोखरेल पर्यटन तथा नागरिक उड्यन मन्त्री थिए ।
नेकपा एमालेका अर्का पोलिटब्युरो सदस्य पार्वत गुरुङ अध्यक्ष केपी शर्मा ओलीको टिम भित्रको सचिवको आकांक्षि हुन् । तर उनले खुलेर कुनै पदको आकांक्षा व्यक्त गरिसकेका छैनन् । अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको बताउने गुरुङ आफ्नो व्यक्तिगत चाहनाले टिमलाई अप्ठेरो पार्न नहुने बताउछन् ।टिमले जे भन्छ त्यहि कुरालाई स्वीकार गरेर जान्छु– पोलिटब्युरो सदस्य गुरुङले भने ।
पोलिटब्युरो सदस्य इश्वरी रिजाल र केन्द्रीय सदस्य रचना खड्का पनि आगामी महाधिवेशनमा सचिवको दावेदारीमा छन् । उमेर पुगेको बच्चालाई अभिभावकले नै विहे गरिदिनुपर्ने भन्दै पोलिटब्युरो सदस्य रिजाल आफु लामो समय देखि केन्द्रमा रहेर पार्टी काममा सक्रिय रहेकोले पदाधिकारीको दावि स्वभाविक हुने बताउछन् । तर टिमको निर्णय मान्ने उनको भनाई छ ।
केन्द्रीय सदस्य रचना खड्का सचिवमा आफ्नो दावि रहने उल्लेख गर्दै महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुनुपर्ने मत राख्छिन् । सधै एउटै व्यक्ति सुपर पावरमा रहन नहुने उनको मत छ । तर, सकेसम्म नेतृत्व चयन सहमतिमै हुनुपर्ने उनको भनाई छ ।
नेकपा एमालेको ११ औ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य सरस्वती वस्नेत, केन्द्रीय सल्लाहकार कमिटीका सदस्य डबल पाण्डे, बागमति प्रदेश कमिटीका सचिवालय सदस्य एवम् बागमति प्रदेश सरकारका बन मन्त्री भरत केसी, बागमति प्रदेश कमिटीका सचिवालय सदस्य बालकृष्ण शिवाकोटी, नेकपा एमाले सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार वस्नेत र केन्द्रीय प्रचार विभागका सदस्य गणेश वस्नेत केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारीमा रहेका छन् ।
४० बर्ष मुनीको उमेर समूहबाट उमेश आचार्य र लक्ष्मण गुभाजुले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् ।
पार्टीको ११ औ राष्ट्रिय महाधिवेशनको लागि दोलखाका ३३ जना महाधिवेशन प्रतिनिधि रहेको नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । जसमा नौ जना जिल्लाको तर्फबाट प्रतिनिधि रहेका र बाँकी बिभिन्न कमिटीबाट प्रतिनिधि चुनिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
दोलखा जिल्लाबाट केन्द्रमा धेरै उम्मेदवार भएको अवस्थामा जिल्ला कमिटीले सबै प्रतिनिधिको बैठक राखेर आफ्नो क्षमता र योग्यता अनुसार उम्मेदवारी दिन र एकै पदमा उम्मेदवारी नदिन आग्रह गर्ने अध्यक्ष श्रेष्ठ बताउछन् ।











प्रतिक्रिया