कोटेश्वरमा फ्लाईओभर बनाउन पौने ३२ अर्ब ऋण


काठमाडौं ।

कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनका लागि ३४.५९ अर्ब जापानी येन करिब ३१.७६ अर्ब रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण प्रदान गर्ने विषयमा नेपाल र जापानबीच सम्झौता भएको छ ।

जाइकामार्फत उपलब्ध हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष तथा वार्षिक ब्याजदर ०.२ प्रतिशत रहनेछ । सहायतासम्बन्धी सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे भने ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह–सचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका छन् ।

आयोजनाअन्तर्गत कोटेश्वर र जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं उपत्यका र बीपी राजमार्ग हुँदै सवारीसाधनको आवागमन सहज बनाउने तथा ट्राफिक जाम न्युनीकरणमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ । आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन हुने जनाएको छ ।

सम्झौता कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाले आयोजनाले द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी बनाउँदै उपत्यकाको यातायात व्यवस्थामा दिगो सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री खनालले काठमाडौं उपत्यकाका जामयुक्त स्थान सुधार गर्ने उद्देश्यसहित अघि बढाइएको परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन असर पार्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै जापानी राजदूत तोरुले जापानको दीर्घकालीन सहुलियतपूर्ण ऋण सहयोगमार्फत कार्यान्वयन हुने यस आयोजनाबाट उपत्यकाको यातायात व्यवस्थापनमा उल्लेखनीय परिवर्तन आउने बताउँदै नेपाल–जापानबीचको दशकौँ पुरानो मित्रतापूर्ण सम्बन्धलाई स्मरण गरे ।