
राम सञ्जेल सामाजिक विषयवस्तुमा केन्द्रीत भएर कविता लेख्ने कवि हुन् । उनले समाजका विकृति विसङ्गतिविरुद्ध तीखो प्रहार गर्छन् । भ्रष्टाचारविरुद्ध बाघ बनेर गर्जन्छन् । राष्ट्रप्रेम, राष्ट्रिय स्वाधीनता र शान्तिको कामना गर्दै गोडमेल गरी छानिएका सुन्दर शब्दका कविताको घर निर्माण गर्छन् । आफ्नै अदालतको इजलासमा मानवताको वकालत गर्छन् । गाँस, बास र कपासका लागि पसिना बगाउने समूह र आवाज नहुनेहरूका निम्ति बिगुल फुक्दै बुलन्द आवाज उठाउँछन् । यस्तै आवाज उठाउने र शब्दगुच्छाको माला बुन्दै जाने क्रममा ओजनदार आवाज र सुमधुर शब्दहरूको सहवासबाट उनले एउटा कृति जन्माएका छन्, ‘कविताका बिस्कुन’ ।
पचासको दशकमा जन्मेको आभास पाइने (संस्करण मिति उल्लेख नभएको) यो काव्यकृति मेरो हातमा भने असीको दशकमा हालै आइपुगेको छ । सरसर्ती हेर्ने क्रममा करिब ३० वर्षपहिले लेखिएका यी कविताहरू अहिलेको परिवेशमा पनि ठ्याक्कै मेल खाने देखिन्छन् । काव्यकृति हातमा पर्नासाथ शीर्षकले मन छोयो, ‘कविताका बिस्कुन’ । आहा ! शीर्षक नै अनौठो । विषयसूची हेर्दा कृतिमा ८४ वटा कविता सङ्ग्रहित रहेछन् । पढ्दै जाँदा विविध शीर्षकका साहित्यिक चौरासी काव्य व्यञ्जन ग्रहण गरेको महसुस भयो । विविध खानाको परिकारलाई हामी चौरासी व्यञ्जन भन्दछौं । ८४ वटा शीर्षकका कविताको लहर भएर होला, कृतिको नाम ‘कविताका बिस्कुन’ राखिएको । ढिलै भए पनि बौद्धिक काव्य व्यञ्जनका रूपमा ग्रहण गर्न पाएपछि पाठक दृष्टिकोणबाट पलाएका शब्दलाई वाक्यमा उनेर केही नलेखीरहन सकिन र कलम उठाएँ ।
राम सञ्जेल सशक्त कवि हुन् । उनी साहित्यिक पत्रकार पनि हुन् । उनको सम्पादकत्वमा ‘लहरा’ साहित्यिक त्रैमासिक विसं २०३७ देखि प्रकाशन हुँदै आएको छ । बाल्यकालमा कुटो–कोदालोदेखि विद्यार्थी जीवन, राष्ट्रसेवक कर्मचारी, साहित्यिक पत्रकार र कवि÷साहित्यकारका रूपमा उनले आम नागरिक, चराचर, राष्ट्र, मानव जीवन र जगत् आदिलाई नजिकबाट नियालेका छन् । त्यही अनुभव, अनुभूति र समाज भोगाइलाई आधार बनाएर कवितामा बग्दै राम सञ्जेलले आफ्नो कलमको निब दैनिक कपीमा घोटे । र, कृति आकारमा पाठकसामु उभियो, ‘कविताका बिस्कुन’ बनेर ।
कवि सञ्जेलका कविता विकृति विसङ्गतिविरुद्ध प्रहार गर्ने वज्र हुन् । जानेर वा नजानेर वा परम्परागत रूपमा लहै–लहैमा लागेर गरिएका विभेद, अत्याचारविरुद्ध उनले कवितामै गगनभेदी आवाज उठाएका छन् । कवि यसरी आक्रोश पोख्न पुग्छन्–
निःसन्तान धर्तीमा
रगतकै भए पनि वीर्य छरेर
सन्तान उमारी दिन्छु
चन्द्रबाण निर्माण गरेर पञ्जाहरूलाई
अन्यायको घिच्रो
छेदन गरिदिन्छु । (पृष्ठ–१७)
कवि सञ्जेलले मान्छेभित्रको कुमान्छे देख्नै सक्दैनन् । यस्ता मान्छेभित्रको मान्छे खाने पात्र खडा गर्छन् र अन्यायको विरुद्ध लड्न योद्धा तयार गर्छन् ।
कवि सञ्जेलले समाजलाई समानताको तराजुले जोख्न खोज्छन् । मान्छेलाई सपनाबाट बिउँझाएर वास्तविक संसारसँग साक्षात्कार गराउन अक्सिजन भर्छन् । मान्छे–मान्छेबीच माया गर्न आह्वान गर्छन् । मान्छेलाई आफैँ मात्र सम्पन्न भएर हुँदैन, समाज नै चाहिन्छ भन्दै सामाजिक आवाज बुलन्द बनाउँछन् । यही मान्यताको साथै समाजमा धनी र गरिब, सम्पन्नता र गरिबीबीच कस्तो अन्तर हुन्छ र त्यसले कस्तो सामाजिक विचलन ल्याउँछ भन्ने तथ्य कवितामा उजागर गरेका छन् । चाडबाडलाई विषयवस्तु बनाएर यस तीतो सत्यको चिरफार गरेका छन् । मिहिन चिरफार गर्दै आक्रोश यसरी पोखेका छन्–
कोपर्नेले÷लुट्नेले
र, चुड्नेले– चुँडे दशैँ ।
आफ्नो त सदाझैँ यसपाला पनि
गुन्द्रुक र ढिँडोमै पुनः अनुवाद भयो दशैँ । (पृष्ठ– ८४)
‘कविताका बिस्कुन’ कवितासङ्ग्रहमा कविले मुलुकमा शान्तिका खातिर गम्भीर आवाज उठाएका छन् । पहिलेको नेपालभन्दा परिवर्तनपछिको नेपालबाट शान्ति हराएको निष्कर्ष निकालेका छन् । विसं २०४६ को परिवर्तनपछि निकालिएको यो निष्कर्ष विसं २०८२ को जेनजी आन्दोलनको परिवर्तनपछि पनि ठ्याक्कै संयोग मिलेको आभास हुन्छ । यस परिदृश्यलाई विम्बमा उतार्दै कवि सञ्जेलले जसले परिवर्तन ग¥यो उनीहरूबीच नै नातावाद, कृपावाद, अनुयायीबादमा रुपान्तरण भएको र परिवर्तनको भावनालाई च्यातचुत पारिएको फेहरस्ती कवितामार्फत प्रस्तुत गरेका छन् ।
विनातात्विक कारण बेलाबखत नेपाली समाज अशान्त बन्ने गरेको, आपसी विवाद बढ्ने गरेको, भाइचारा र राष्ट्रिय एकतामा दरार आउने गरेको प्रति कविको असन्तोष छ । राष्ट्रिय मात्रै हैन कविले अन्तर्राष्ट्रिय रूपमा विकसित भएका मानवविरोधी हातहतियार निर्माण कार्यको पनि विरोध गरेका छन् । क्षेप्यास्त्र प्रहार गरेमा तिमी आफैँ पनि बाँच्न सक्दैनौ र आस्थाको आकाश बेहोस भएर ढल्नेछ भन्दै छेप्यास्त्र निर्मातालाई बनिसकेका घातक हतियार नष्ट गर्न र अब नबनाउन आग्रह गरेका छन् । मानवताभित्रका अमानवीय व्यवहारलाई तिरस्कार गरेका छन् । शान्तिको पक्षमा भएका कामको प्रशंसा गर्दै ‘सिङ्गो लुम्बिनी टाँसेको छ उसले छातीमा’ भन्ने जस्ता कविता सिर्जना र अभिव्यक्ति दिएका छन् ।
‘कविताका बिस्कुन’ कवितासङ्ग्रहमा कविले भ्रष्टाचारविरुद्धको आवाज उत्तिकै जोडदाररूपमा उठाएका छन् । त्यो आवाज आम नागरिकसम्म पुगोस् भनेर आम सञ्चार माध्यममार्फत बिस्कुनझैँ फिँजाएका छन् । मानवता जोगाउन नागरिक आफैँ जुर्मुराउनुपर्छ भन्ने सन्देश प्रवाह गरेका छन् । यो समाजबाट अन्याय नभागुन्जेल आफूले लेखिरहने प्रण गरेका छन् । कवि भन्छन्–
बैंसमा फूल फुल्न पर्नेमा
केबल आँसु फुलेका छन्
वर्षामा मूल फुट्नुको बदला
रगत फुटेका छन् । (पृष्ठ–४६)
कविता साहित्य सबैभन्दा पुरानो साहित्य हो । नेपाली साहित्यमा चर्चा छ, धेरै लेखिने र कम पढिने विधा हो कविता । कविताले आफ्नै बारेमा, कवि स्वयंको बारेमा र समाजका बारेमा बोल्छ । मोतीराम भट्ट, महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि हालसम्मका धेरै कविहरूबाट कवितालाई एउटा दिशाबोध दिने काम भएको छ । पाठक मनले राम्रो सिर्जना पढ्न चाहन्छ । आँखाले साहित्यमा राम्रा शब्दले कुँदिएका सुन्दर वाक्य देख्न चाहन्छ । जीवन एक सङ्घर्ष हो र कविता त्यसको वास्तविक चित्र देखाउने दर्पण हो । कविहरू यसैमा केन्द्रीत हुनुपर्छ । राम सञ्जेलद्वारा रचित यस सङ्ग्रहका ८४ वटै कवितामा पनि मानव जीवनचक्रका गाथा कोरिएका छन्, दर्पण देखाइएका छन् । जसले स्वाभिमान बन्दकी नराखी लड्छ त्यो नै सक्कली कवि हो भन्ने भाष्य निर्माण गर्न कवि सफल भएका छन् ।
कवि आफ्नो जन्मस्थान काभ्रेस्थलीलाई प्रायः आफ्ना रचनामा छुटाउनै चाहँदैनन् । यो एउटा भावुक कविको जन्मस्थानप्रतिको माया हो, संवेदना हो । उनले काभ्रेस्थलीबासी र त्यहाँका पिछडिएका वर्गको सामाजिक, आर्थिक र विकासको गतिविधिहरूको धारावाहिक चर्चा गरेका छन् । तथापि यो एउटा विम्ब हो । यहाँबाट शुरू भएको घाउ देशभर फैलन सक्छ भन्दै सचेत गराएका छन् । एड्सका जीवाणु फैलिएझैँ यिनले रगत मात्रै होइन मानव जगतकै विनाश गर्दछ भनेका छन् । यसबाट बाँच र कुनै आडम्बरले ढाल्न नसक्ने घर बनाऊ भन्ने सुझाव दिएका छन् । यो परिवर्तनलाई सफल पार्न बसाइँ सरेर शहर वा विदेश जाने प्रवृत्तिको विरोध गर्दै उनीहरूलाई तिखो प्रहार गरेका छन् । बाहिर गएर देखावटी प्रेम गर्नुको औचित्य हुँदैन, देश बनाउने हो भने मानव दर्शन र मार्गदर्शन दिने प्रेम चाहिन्छ उनी यही भन्छन् । कवि लेख्छन्–
म देश भएर उठ्ने छु
माटो, बाटो र गाउँ भएर उठ्ने छु
भोक, रोग र अत्याचारको विरूद्ध
मानवतावादी योद्धा भएर उठ्ने छु । (पृष्ठ–४१)
सङ्क्षेपमा, कवि राम सञ्जेल आफ्नो जागिरे जीवन, पारिवारिक झमेला, व्यक्तिगत वा सामाजिक रूपमा असहज अवस्थामा पनि डगमगाएनन्, लेखन रूचि र रफ्तार घटाएनन् बरु बढाए र त्यही वातावरणविरुद्ध शब्द गोली बर्साए, त्यो पनि सङ्ख्यात्मक र गुणात्मक दुवै रूपमा । त्यसैले पनि उनलाई जाँगरिलो, निडर साहित्य साधक÷सर्जकका रूपमा बुझ्न सकिन्छ । कवि सञ्जेल फुर्सद पाउनासाथ काव्य सिर्जनामा रम्छन्, जम्छन् ।
राष्ट्रप्रेम, शान्ति, समाज सुधारका पक्षमा उनका कविता घुम्छन् । समाजका विकृति, विसङ्गति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेदविरुद्ध उनको कलम सरर बगिहाल्छ । समग्रमा भन्नुपर्दा न्यायको पक्षमा र अन्यायको विरोधमा उनका अधिकांश कविता चट्टान बनेर उपस्थित हुन्छन् । गाँस, बास, कपास र स्वतन्त्रताका निम्ति ज्वालामुखी फुट्नुपर्छ, फैलिनुपर्छ भन्ने धारणा कविको छ । यस सङ्ग्रहका अधिकांश कविता मझौला आकारका छन्, न लामा न धेरै छोटा तर आकारको पावन्दी लगाए जस्ता छैनन् । लाग्छ, यी कविता हिउँ हुन् जति बग्छ बग्छ, बगेको ठाउँ जति चिसो र ऊर्जावान् भएर छोड्छ । यसरी बगेका सिर्जना धेरै पत्रपत्रिकाहरूमा निरन्तर पोखिरहेकै हुन्छन् । बिस्कुन छरिएझैँ यत्रतत्र छरिएर पाठकसामु पुग्ने भएकोले हुन सक्छ, यो कृतिको नाम ‘कविताका बिस्कुन’ रहन गएको । जे होस्, जनताका कवि राम सञ्जेललाई आगामी सफल साहित्यिक यात्राको शुभकामना !
डा. तारानाथ शर्मा, दिनेश अधिकारी, डा. दुर्गाप्रसाद भण्डारी, श्यामदास वैष्णव, शान्तदेव भट्टराई र मेरिना स्मृतिका भूमिका, आशिर्वचन, मन्तव्य कृतिमा समावेश छन् । पुस्तकको आवरण आकर्षक छ । नव एकीकृत सांस्कृतिक केन्द्र, मैतीदेवी काठमाडौंले प्रकाशन गरेको यस कृतिको मूल्य तोकिएको छैन ।











प्रतिक्रिया