युवा कलाकार तेन्जेनलाई मलेसियामा प्राइड अवार्डको सम्मान


काठमाडौं ।

युवा कलाकार तेन्जेन आङ्दक गुरुङलाई मलेसियाको राजधानी क्वालालम्पुरमा हालै आयोजित इन्टरनेसनल अवार्ड समिट २०२५ का अवसरमा इन्टरनेसनल प्राइड अवार्डद्वारा सम्मानित गरिएको छ । सो अवार्ड समिट टीआइएफ यूएसए र भारतद्वारा क्वालालम्पुरस्थित हिल्टन क्वालालम्पुरमा नोभेम्बर २३ मा आयोजना गरिएको थियो ।


तेन्जेनलाई उनको उदाहरणीय सेवा, सफलता र कलाको क्षेत्रमा गरिएको महत्वपूर्ण योगदानको निम्ति सो अवार्ड प्रदान गरिएको बुझिएको छ । हिमाली जिल्ला डोल्पामा जन्मेका ख्यातीप्राप्त कलाकार तेन्जेन सानै उमेरमा बाबु, आमा गुमाउनाका कारण अनाथ भए तापनि उनले जीवनमा हरेस खाएनन् ।

उनले वाल्यकालमा निकै दुःख, कष्ट भोग्न परेको भए तापनि पछि भारतको सिक्किमस्थित एक गुम्बामा थाङ्का चित्रकलासम्बन्धी तालिम लिने अवसर उनलाई प्राप्त भयो । त्यहाँ उनले सात वर्षसम्म थाङ्का चित्रकलासम्बन्धी शताब्दियौं पुरानो विरासत भएको परम्परागत चित्रकलाबारे जान्ने र सिक्ने अवसर पाए, जसले गर्दा उनको जीवनमा परिवर्तन ल्याइदियो । अहिले उनी देश तथा विदेशमा चित्रकलामार्फत आफ्नो कलाकारिता प्रदर्शन गर्दै आइरहेका छन् ।