काठमाडौं ।
नेपाली कांग्रेसको आगामी पुसमा हुन लागेको १५औं महाधिवेशन नजिकिँदै जाँदा पार्टीको नयाँ नेतृत्वबारे विभिन्न अड्कलबाजी गर्न थालिएको छ । आकांक्षीहरूको घोषणा र आन्तरिक गृहकार्यसँगै सभापतिमा त्रिपक्षीय भिडन्त हुने संकेत देखिएको छ ।
सभापति शेरबहादुर देउवाको उत्तराधिकारी को ? अबको कांग्रेस कसको नेतृत्वमा ? भन्ने प्रश्नसँगै नेता शेखर कोइराला, महामन्त्री गगन थापा र देउवा निकट मानिएका उपसभापति पूर्णबहादुर खड्काबीच कडा प्रतिस्पर्धा हुने सम्भावना बलियो बन्दै गएको छ ।
महामन्त्री थापाले सभापतिका लागि औपचारिक घोषणा गरिसक्नुभएको छ भने कोइरालाले पनि यस अघिदेखि नै सभापतिमा उठ्ने सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ । त्यसैले शेखर सभापतिमा उठ्ने निश्चित छ । यद्यपि, १४औं महाधिवेशमा शेखर र गगन एउटै समूहबाट चुनाव लडेका थिए । त्यति बेला गगन महामन्त्रीमा विजय हुनुभएको थियो भने शेखर शेरबहादुर देउवासँग पराजित हुनुभएको थियो । त्यसैले यसपटक शेखर स्वाभाविक रूपमा सभापतिको दाबेदार हुने उहाँ निकटहरूले बताएका छन् ।
यता, देउवाले पार्टी पुनर्गठनको संवेदनशील मोडमा खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर खड्कालाई भावी सभापतिका रूपमा वातावरण बनाउन सहज बनाइसक्नुभएको छ । त्यसैले देउवा समूहको पहिलो विकल्प खड्का हुने धेरैको अनुमान छ । कांग्रेस नेताहरूका अनुसार संस्थापन इतरको दायरा दुई भागमा विभाजित रहेकै अवस्थामा शेखर र गगन दुवै सभापतिमा उत्रिए संस्थापन पक्षले अघि सार्ने पूर्णबहादुर खड्कालाई प्रत्यक्ष लाभ हुने स्पष्ट छ । तर, दुवै नेता एउटै लाइनमा उभिए संस्थापनलाई चुनौती कडा हुनेछ ।
यही सम्भावनालाई दृष्टिगत गर्दै शेखर पक्षले गगन समूहसँग सहकार्य खोज्ने गृहकार्य तीव्र बनाएको छ । बुधबार काठमाडौंमा नजिकका नेताहरूसँग शेखरले गरेको विस्तृत परामर्शको मूल केन्द्र– ‘पहिले शेखर, अर्को महाधिवेशनमा गगन’ समीकरण निर्माण गर्ने प्रयास रहेको बताइएको छ । तर, गगनले सभापतिमा उठ्ने घोषणा गरिसकेकाले उहाँ ब्याक हुने सम्भावना न्यून छ । युवाहरूको समर्थन र महाधिवेशन नजिकिँदै जाँदा बढ्दो आत्मविश्वासले उहाँ सहजै पछि हट्ने वातावरण निकै कमजोर देखिन्छ । यिनै कारणले त्रिपक्षीय भिडन्तको सम्भावना रहेको विश्लेषण गर्न थालिएको छ ।
कांग्रेस नेतृत्वले २१ फागुनको निर्वाचनपछि वैशाखमा महाधिवेशन गर्ने तयारी राखे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको जोड र निरन्तर दबाबले १५औं महाधिवेशन पुसमै गर्ने निर्णयतिर पार्टी बाध्य भएको थियो । यद्यपि, शेखरको मध्यमार्गी प्रस्तावका कारण कांग्रेस फुटको खतराबाट जोगिँदै पुसमा महाधिवेशन गर्ने बाटोमा पुगेको शेखर निकट नेताहरूले बताएका छन् । तर, गगन निकटहरूले भने महाधिवेशनको मुख्य एजेन्डा संगठन पुनर्गठनजस्ता विषय गगनको भएकाले उनी सभापति बन्नुपर्ने धारणा राख्दै आएका छन् ।
त्यस्तै, मध्यमार्गी भूमिका खेलेको दाबी गर्दै पूर्णबहादुर खड्का पनि महाधिवेशन पुसमा नै गर्नुपर्ने पक्षमा उभिएको बताउँदै आएका छन् त्यसैले सो महाधिवेसमा आफंै सभापति हुनुपर्ने उहाँको तर्क छ ।
कांग्रेसको सभापति पद केवल संगठनको नेतृत्वमात्र नभई भोलिको प्रधानमन्त्रीको सम्भावित कुर्सीसमेत मानिने भएकाले मुख्य दाबेदारहरू जुनसुकै मूल्य चुकाएरै भए पनि मैदान नछोड्ने अनुमान राजनीतिक वृत्तमा बलियो छ ।
पुसको महाधिवेशन रोचकमात्र होइन, शक्ति–रणनीति र मनोविज्ञानको घम्साघम्सी बन्ने पक्का छ ।











प्रतिक्रिया