कुलमानको उज्यालो नेपाल पार्टीमाथि प्रश्न

नागरिक सरकारका मन्त्री खुलेआम पार्टीको कार्यक्रममा गएपछि आलोचना


–घोषणापत्र सार्वजनिक
–प्रदेश सांसद हटाउने, स्थानीय तहका प्रतिनिधिबाटै प्रदेश परिषद् बनाइने
–निर्वाचन प्रणालीमा व्यापक सुधार
–स्थानीय तहको चुनाव गैरदलीय आधारमा

काठमाडौं ।

ऊर्जा, भौतिक तथा सहरी विकास गरी ३ वटा मन्त्रालयको जिम्मेवारीमा रहनुभएका कुलमान घिसिङ बुधबार आफंै संरक्षण रहेको उज्यालो नेपाल पार्टीको कार्यक्रममा सरिक भएपछि उहाँको आलोचना भएको छ । सुशीला कार्की नेतृत्वको सरकार नागरिक सरकारको रूपमा रहेको र वर्तमान सरकाको मुख्य उद्देश्य २१ फागुनमा हुने निर्वाचन सम्पन्न गर्नु रहेको छ ।

निर्वाचन गराउने जिम्मेवारीमा रहेको तटस्थ र निर्दलीय सरकारका मन्त्री यसरी खुलेआम पार्टीको कार्यक्रममा सरिक हुँदा त्यसले सरकारको विश्वसनीयता माथि गम्भीर प्रश्न सिर्जना हुने विश्लेषकहरूले बताएका छन् । मन्त्री कुलमानले पार्टीको गतिविधिमा सक्रिय हुने भए मन्त्री पदबाट राजीनामा दिएर सरिक हुन नागरिक अगुवाले सुझाएका छन् ।

मन्त्री घिसिङले पूर्व सचिव अनुपकुमार उपाध्यायलाई तदर्थ अध्यक्ष बनाएर दर्ता गरिएको उज्यालो पार्टीले बुधबार कार्यक्रमको आयोजना गरी पार्टीको सार्वजनिक घोषणासमेत गरेको छ । त्यस कार्यक्रममा उज्यालो पार्टीले घोषणापत्र समेत सार्वजनिक गरेको छ । जस अनुसार उज्यालो नेपाल पार्टीले संविधानलाई गतिशील दस्तावेजको रूपमा स्वीकार गरेको छ । बुधबार घोषणापत्र सार्वजनिक गर्दै नेपालको उज्यालो भविष्यको लागि वर्तमान संविधानका केही व्यवस्थाहरू संशोधन गरिनुपर्ने जनाइएको छ ।

हालको व्यवस्थाबाट बलियो र स्थिर सरकार निर्माण गर्न करिब असम्भव नै भएकाले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार, नेपालमा संघीयताको अभ्यासलाई कायम राख्दै व्यावहारिक, परिणाममुखी र प्रभावकारी बनाउनुपर्ने प्रस्ताव गरिएको छ ।

देशको जनसंख्या, भूगोल, पहिचान, सामथ्र्य र आर्थिक सम्भावनासमेतलाई मध्यनजर गर्दै प्रदेश र स्थानीय तहको संरचना र संख्या पुनरावलोकन, बृहत् राष्ट्रिय सहमतिको आधारमा संघीयतासँग जोडिएका विषयलाई सम्बोधन, शासकीय सुधारका सन्दर्भमा विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त भएका सुझावका आधारमा मन्त्रालयको संख्या पुनरावलोकन गरिनुपर्ने उल्लेख छ ।

घोषणापत्रमा भनिएको छ, ‘सांसद सदस्य नभएका विज्ञहरूलाई मन्त्री बनाउन सकिने व्यवस्था गरिनुपर्छ । तर, परराष्ट्रमन्त्री, गृहमन्त्री, कानुनमन्त्री र रक्षामन्त्री संघीय संसद्को सदस्यबाटै चयन गरिनुपर्छ ।’ प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रीमण्डल रहने व्यवस्था गरिनुपर्ने पक्षमा सो दल उभिएको छ ।

घोषणा पत्रमा भनिएको छ, ‘प्रदेशमा सांसद रहने व्यवस्था हटाई प्रदेशसभाको काम गर्ने गरी स्थानीय तहको प्रमुख र उपप्रमुखको प्रतिनिधित्व हुने प्रदेश परिषद् बनाइनुपर्दछ । प्रदेश परिषद्ले ऐन पारित गर्ने व्यवस्था गरिनुपर्छ । प्रधानमन्त्री निर्वाचित भइसकेपछि जुनसुकै अवस्थामा पनि संसद्को आधा कार्यकाल सरकार सञ्चालन गर्ने सुनिश्चितता गरिनुपर्दछ ।’ एकै संसदीय निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक उम्मेदवार हुन नपाइने व्यवस्था गरिनुपर्ने प्रस्ताव छ ।

घोषणा पत्रमा भनिएको छ, ‘समानुपातिक सांसद र मनोनीत सांसद १ पटकका लागिमात्र हुने व्यवस्था गरिनुपर्दछ । स्थानीय तहको चुनाव गैरदलीय आधारमा हुनुपर्छ ।’ न्यायपालिकामा दलीय हस्तक्षेप नहुने गरी न्यायपरिषद्को पुनः संरचना गरिनुपर्ने प्रस्ताव छ ।