पँुजीबजारमा अहिलेको सिजन भनेको लाभांशको सिजन हो । नेप्सेमा सूचीकृत कम्पनीहरुको लाभांश घोषणा गर्ने समय हो यो । त्यसो त केही कम्पनीले लाभांश वितरणसमेत गरिसकेका छन् भने केही कम्पनीले धमाधम लाभांशको घोषणा गरिरहेका छन् । अहिले आर्थिक वर्ष २०८१÷०८२ को लाभांश घोषणा गर्ने सिजन हो । लाभांशमा पनि नगद र बोनस हुन्छ । जब लाभांश घोषणा गर्ने समय आउँछ शेयरधनीहरुबीच लाभांशमा नगद लाभांश राम्रो कि बोनस शेयर राम्रो भन्ने चर्चा चल्ने गरेको छ ।
लाभांश घोषणा गर्ने कतिपयले बोनस शेयर मात्र घोषणा गरेका छन् भने कतिपयले नगद मात्र र कतिपय कम्पनीले नगद र बोनस शेयर दुवै दिने गरेका पनि छन् । तर पनि धेरैजसो शेयरधनीहरुको आकर्षण भने बोनस शेयरमा रहेको छ । धेरैजसो शेयरधनीहरु नगद लाभांशभन्दा पनि बोनस शेयर दिने गरे राम्रो हुने बताउँछन् । त्यसो त बोनस शेयर र नगद लाभांशको चक्करले शेयरबजारमा समेत असर पर्ने गरेको छ । यसले शेयरबजारमा उटारचढाव देखिने गरेको छ ।
कतिपयको भनाइ बोनस शेयर राम्रो भन्ने छ भने कतिपयले नगद लाभांश नै राम्रो भन्ने गरेका छन् । दुवै मिलाएर दिए राम्रो भन्नेहरु पनि नभएका होइनन् । पब्लिक कम्पनीहरुले लाभांश बाँड्ने सिजन शुरु भएपछि लगानीकर्ताहरुमाझ यस्तो चर्चा हुने गरेको छ । पब्लिक कम्पनीहरुले एक आर्थिक वर्ष समाप्त भएपछि कम्पनीको नाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश बाँड्ने गर्छन् । शेयरबजारमा डे टु डे व्यापार गर्ने लगानीकर्ताहरु, विज्ञ विश्लेषकहरु र शेयरबजारसम्बन्धी जानकारहरु धेरैजसोको भनाइमा नगद लाभांश राम्रो भन्ने पाइन्छ ।
त्यसो त सबैजसो बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा गइसकेको कारणले कम्पनीहरुको पुँजी आवश्यकताभन्दा बढी भइसकेको छ । शेयरधनीहरुसँग पनि एकै कम्पनीको शेयरको थुप्रो भइसकेको सरोकारवालाहरु बताउँछन् । यस कारणले पनि कम्पनीहरुको लागि बोनस शेयरभन्दा नगद लाभांश वितरण गर्नु नै उपयुक्त रहेको बताइन्छ । तर पनि कतिपय लगानीकर्ताहरु भने बोनस शेयरको नै पक्षमा रहेको पाइन्छ । बोनस शेयर दिँदा कम्पनीहरुले जति प्रतिशत बोनस शेयर दिन्छन् त्यति प्रतिशत नै बजार मूल्य घट्ने हुन्छ । यस कारणले लगानीकर्ताको हातमा शून्य नै हुन्छ ।
तर नगद लाभांशले बजार घट्दैन, शेयर मूल्य समायोजन हुँदैन । एजीएममा प्रस्ताव पास भएको दिनबाट नै शेयरधनीहरुले लाभांश पाउँछन् भने शेयरबजारमा शेयरको संख्या बढाउँदैन । बोनस शेयरले शेयरको संख्या बढाउँछ । शेयरको संख्या बढ्यो भने बिक्री चाप बढ्छ र शेयरको भाउ घट्ने हुन्छ । त्यसो त होल्डमा बस्ने शेयरधनीहरुको लागि भने बोनस शेयर राम्रो हो । त्यसै गरी होल्डमा नबस्ने शेयरधनीहरुको लागि भने नगद लाभांश राम्रो हो । तर पनि धेरैजसो शेयरधनीहरुले नगद लाभांशभन्दा बोनस शेयर नै राम्रो मान्ने गरेका छन् । धेरैजसो शेयरधनीहरुमा बोनस शेयरप्रति आकर्षण रहेको छ भन्दा पनि फरक नपर्ला । होल्डमा बस्ने, भविष्यको लागि लगानी सुरक्षित गर्ने शेयरधनीहरुको लागि बोनस शेयर नै राम्रो भन्दा पनि फरक नपर्ला ।
बोनस शेयरको नराम्रो पक्ष भनेको कुनै कम्पनीले जति प्रतिशतको बोनस शेयर दिन्छ त्यति प्रतिशत नै बजारको भाउमा शेयर समायोजन गरी शेयरको भाउ घटाउँछन् । शायद कतिपय शेयरधनीहरुलाई यसको बारेमा त्यति चासो लिएको र ध्यान गएको पनि छैन होला । शेयरको मूल्य समायोजनले गर्दा पनि भविष्यको लागि होल्ड गर्ने शेयरधनीहरुका निम्ति बोनस शेयर राम्रो हो भन्दा फरक नपर्ला । शेयर होल्ड गरेपछि पछि शेयरको भाउ बढ्ने सम्भावना पनि रहन्छ । यसले शेयरधनीहरुलाई फाइदा नै हुने गरेको छ । यसकारणले पनि कतिपय शेयरधनीहरुको आकर्षण बोनस शेयरमा रहेको हो भन्दा फरक नपर्ला । बोनस शेयर वितरण गर्दा कम्पनीको पुँजी बढ्ने हुन्छ । यस वर्ष जति बोनस शेयर दिएको छ अर्को वर्ष पनि बोनस शेयर वा नगद लाभांश दिनको लागि कम्पनीले नाफाको अनुपात बढाउनुपर्ने हुन्छ । यदि पुँजी वृद्धिको अनुपातमा नाफा बढाउन सकेन भने लाभांश वितरणमा कमी आउने हुन्छ र कम्पनीहरु दबाबमा पर्ने गर्छन् ।
नगद लाभांशमा भने अर्को वर्ष जति आम्दानी बढाउन सक्यो शेयरधनीहरुले पनि त्यही अनुपातमा बढी लाभांश पाउने हुन्छ । पँुजी बढाउनुपर्ने कम्पनीहरुका लागि भने बोनस शेयर दिँदा राम्रो हो । एकातिर शेयरधनीहरुले पनि बोनस शेयर पाउने, अर्कोतिर कम्पनीको पुँजी पनि बढ्ने हुन्छ । तर कम्पनीको नाफा बढेन भने प्रतिशेयर आम्दानीमा नेगेटिभ असर पर्न सक्छ । आर्थिक वर्ष २०८१÷०८२ मा माछापुछ«्र्रे बैंकले ४ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर शेयरधनीहरुलाई दिएको थियो । बोनस शेयरले कम्पनीको पुँजी बढ्ने भएकोले अर्को वर्षमा त्यही अनुपातमा शेयरधनीहरुलाई लाभांश दिनको लागि त्यही अनुपातमा नै नाफा बढाउनुपर्ने हुन्छ, नभए अर्को वर्षको लाभांशमा असर पर्ने हुन्छ । पँुजी बढेको अनुपातमा नाफा बढाउन सकेन भने कम्पनीको प्रतिशेयर आम्दानी घट्ने हुन्छ । यसको असर शेयरबजारमा समेत पर्ने हुन्छ ।
विगतमा पनि बैंक तथा वित्त कम्पनीहरुले केन्द्रीय बैंकको दबाबमा पुँजी वृद्धि गर्नुपरेकोले बोनस शेयरहरु मात्र वितरण गर्दा र कम्पनीहरु एक–आपसमा मर्जर र एक्वाएर गर्दा शेयरबजारमा नकारात्मक असर परेको थियो । कम्पनीहरुको मर्जरले गर्दा शेयरधनीहरुसँग एकै कम्पनीको धेरै शेयर भएको कारणले बिक्री चाप बढेकोले शेयरको मूल्यमा गिरावट देखा परिरहेको देखिन्छ । एक त नेपाल राष्ट्र बैंकको नीति शेयरबजार मैत्री भएन, यसले पनि शेयरबजारले गति लिन सकिरहेको छैन । विगतमा कम्पनीहरु मर्जर र एक्वाएर नभएको समयमा बैंकहरुको शेयर भाउ बजारमा हजार–एघार सयको हाराहारीमा थियो ।
मर्जरपछि शेयरधनीहरुसँग एउटै कम्पनीको शेयरको थुप्रो भएको कारणले बजारमा बिक्री चाप बढेकोले वाणिज्य बैंकहरुको शेयरको भाउ नै डेढ–दुई सयमा झरिसकेको छ । यसले लगानीकर्ताहरुको अर्बांै लगानी डुिबसकेको छ । तर नेपाल राष्ट्र बैंक भने तमासे भइरहेको देखिन्छ । शेयरबजारका नियामक निकायहरुको अक्षमता र अकर्मण्यताले लगानीकर्ताहरु निराश भइसकेका छन् । त्यसो त शेयरबजारमा नेप्से घटबढ भइरहन्छ । नेप्से कहिले बढ्छ त कहिले घट्छ पनि, यो शेयरबजारको विशेषता हो । शेयरबजारमा नेप्से घटेपछि बढ्छ पनि, बढेपछि घट्छ पनि । कतिपय विज्ञ विश्लेषकहरुको भनाइमा शेयरबजार भनेको कृष्णको चक्रजस्तै घुमिरहन्छ । यसलाई चक्रीय प्रणाली भनेर पनि कतिपय जानकारहरु सम्बोधन गर्छन् ।











प्रतिक्रिया