कन्काई पुलको ठेक्का रद्द


काठमाडौं ।

हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लम्बाइको कन्काई पुल निर्माण कार्य १४ वर्षदेखि अलपत्र परेपछि ठेक्का आधिकारिक रूपमा रद्द गरिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पप्पु–महादेव–खिम्ती संयुक्त उपक्रम (जेभी)सँगको सम्झौता अन्त्य गरेको सार्वजनिक सूचना जारी गरेको हो।

पुल निर्माणका लागि २०६८ जेठ ३१ मा ‘डिजाइन एण्ड विल्ड’ मोडेलमा जेभीसँग ठेक्का सम्झौता भएको थियो । २०७२ जेठ ३० भित्र कार्य सम्पन्न गर्ने शर्त राखिएको भए पनि पाँचपटक म्याद थप्दा पनि प्रगति ५६ प्रतिशत मात्रै पुगेको कार्यालयले जनाएको छ । करसहित ठेक्का रकम ३४ करोड ९ लाख रुपियाँ थियो । ठेक्का रद्दसँगै निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपियाँ कार्यसम्पादन जमानत जफत गरिनेछ । कन्काई पुलमा अहिले १९ स्पानमध्ये ८ वटा निर्माण भइसकेका छन् । बाँकी ११ मध्ये २ स्पानमा गर्डर हालिएको, ६ वटा स्पानका लागि जग हालिएको तथा ३ स्पानका जग हाल्ने कार्य बाँकी रहेको योजना कार्यालयले जनाएको छ।