स्याङ्जा।
राष्ट्रपति रनिङ शिल्ड एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो । २०६५ सालसम्म यो प्रतियोगितालाई वीरेन्द्र रनिङ शिल्डका रुपमा आयोजना गरिन्थ्यो । २०६५ साल साउनमा नेपालमा प्रथम राष्ट्रपति निर्वाचन भएपछि यस प्रतियोगिताको नाम राष्ट्रपति रनिङ शिल्ड रहन गयो । त्यसैले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरुवात २०६६ साल देखि भएको हो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता चालु शैक्षिक सत्रमा १८ वर्ष भन्दा मुनिका कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत छात्र छात्राहरु बीच आआफ्नो समूहमा हुने भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट प्रतियोगिताहरु पर्दछन् ।
यो प्रतियोगिता स्थानीय तह स्तर, जिल्ला स्तर, प्रदेश स्तर र केन्द्र स्तरमा संचालन हुन्छ । तर अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका खेलाडी भने यस प्रतियोगितामा सहभागी हुन पाउँदैनन् । प्रतियोगितालाई अनुशासित, मर्यादित र व्यवस्थित बनाउन नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका, २०७० बनाई लागु गरेको छ । राष्ट्रपति रनिङ शिल्ड एक नियमित प्रतियोगिता भएकोले अघिल्लो वर्षको शिल्ड नै बिजयीलाई रनिङ शिल्डको रुपमा उपलब्ध गराउने व्यवस्था छ । तर लगातार ३ वर्ष सम्म एउटै विद्यालय, स्थानीय तह, जिल्ला र प्रदेशले शिल्ड जितेमा सो शिल्ड उनीहरुले सँधैका लागि राख्न पाउने व्यवस्था छ ।
स्थानीय तह स्तरको उत्कृष्ट खेलाडीले जिल्ला स्तरमा प्रतिस्पर्धा गर्न पाउने र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भई उत्कृष्ट स्थान हाँसिल गर्ने खेलाडीहरुलाई सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिसमा प्रदेश स्तरमा प्रतिस्पर्धा गराइन्छ । यसरी सातै प्रदेशमा प्रदेश स्तरीय प्रतिस्पर्धामा उत्कृष्ट स्थान हाँसिल गर्ने खेलाडीहरुलाई प्रदेश स्तरीय खेलकुद विकास समितिको सिफारिसमा केन्द्र स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विभिन्न खेलकुद प्रतियोगितामा सहभागी गराइन्छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश भएका सम्पूर्ण खेल र विधा तथा प्रत्येक इभेन्ट्सहरुको व्यक्तिगत तथा सामूहिक प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई क्रमशः स्वर्ण, रजत र कास्य पदकका साथमा प्रमाणपत्र दिइन्छ ।
स्याङ्जाको कालीगण्डकी र फेदीखोला गाउँपालिकामा यस वर्षको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भैसकेको छ । कालीगण्डकीले कार्तिकको २६ देखि २८ गतेसम्म ३ दिन लगाएर प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगिता सम्पन्न भएसँगै यो वर्षको राष्ट्रपति रनङि शिल्ड प्रतियोगिता सम्पन्न गर्ने पहिलो पालिका कालीगण्डकी भएको छ ।
प्रतियोगितामा आदर्श मा.वि. लसर्घा प्रथम भएको गाउँपालिकाले जनाएको छ । यता फेदीखोला गाउँपालिकाले यही मंसिर ३ देखि ५ गतेसम्म ८औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा सिद्धार्थ मा.वि. प्रथम भएको पालिकाले जनाएको छ ।
यो मंसिर महिनामा मात्रै अब ४ वटा पालिकाले प्रतियोगिता संचालन गर्दैछन् । मंसिर १४ देखि १६ गतेसम्म बिरुवा गाएपालिका, १८ देखि २० गतेसम्म भीरकोट नगरपालिका, २१ देखि २३ गतेसम्म गल्याङ नगरपालिका र २५ देखि २७ गतेसम्म पुतलीबजार नगरपालिकाले प्रतियोगिता संचालन गर्ने भएका हुन् ।
अर्जुनचौपारी गाउँपालिका र वालिङ नगरपालिकाले पुसको पहिलो हप्तामै प्रतियोगिता संचालन गर्ने तयारीमा जुटेका छन् । वालिङले पुस ९ गते देखि प्रतियोगिता संचालन गर्ने जनाएको छ । जिल्लाको आँधीखोला गाउँपालिकाले पुस महिनाभित्र प्रतियोगिता संचालन गर्ने जनाएको भएतापनि मिति तय भैनसकेको पालिकाकी उपाध्यक्ष सीता थापाले बताइन् । सबै पालिकाहरुमा यो प्रतियोगिताको रौनक बढीरहँदा हरीनाश गाउँपालिका र चापाकोट नगरपालिका भने बेखवर जस्तै देखिन्छन । चापाकोटमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएकाले पदपूर्ति भएपछी प्रतियोगिता संचालन गर्न सकिने नगरप्रमुख देवबहादुर खाँणले बताए । यता यस विषयमा बैठक बसेर मिति तय गर्न बाँकी नै रहेको हरीनाशकी शिक्षा तथा खेलकुद शाखा प्रमुख लक्ष्मी कार्कीले बताइन् ।
सबै तहमा खेल संचालन हुने अवधि भरका लागि सबै खेलाडीहरुको सामूहिक बीमाको व्यवस्था आयोजकले गर्नुपर्ने व्यवस्था छ । तर अधिकांश पालिकाहरुमा बीमा नगरीकनै खेल संचालन गर्ने गरेको पाईएको छ । विगतमा देशैभर हुने यो प्रतियोगिता निकै लोकप्रिय थियो । नेपालका हरेक पुराना खेलाडीले वीरेन्द्र शिल्ड खेलेकै हुन्थ्यो तर यस्तो राम्रो प्रतियोगिता निरन्तर भएन । यद्यपि यस्तो खेललाई ब्युँताउनुपर्छ भनेर राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यही मोडलमा राष्ट्रपति रनिङ शिल्डको आयोजना गरेको हो । यसको उद्देश्य विद्यालयस्तरबाटै प्रतिभावान् खेलाडी पहिचान गर्ने हो भनेको छ । नेपालमा गणतन्त्र आएपछि वीरेन्द्र शिल्डकै अनुसरण गर्दै राष्ट्रपति रनिङ शिल्डका रुपमा नयाँ ढंगले विद्यालय खेलकुद पुनः ब्युँताएको हो ।
राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुदको स्वरुप निकै राम्रो छ । तीन चरण पार गरेपछि मात्र केन्द्रमा बृहत् रुपमा राष्ट्रपति रनिङ शिल्डको आयोजना हुन्छ । सुरुमा जिल्ला र त्यसपछि प्रदेश प्रतियोगिता हुँदै छनोट भएका उत्कृष्ट खेलाडी केन्द्रमा हुने राष्ट्रिय रनिङ शिल्डमा खेल्न योग्य हुने गर्दछ । ती उत्कृष्ट खेलाडीहरु खेल्न काठमाडौँ पुग्छन् । यस अर्थमा राष्ट्रपति रनिङ शिल्डमा नेपालका सबै जसो विद्यार्थीले सहभागिता जनाउन पाउँछ । त्यसैले राष्ट्रपति रनिङ शिल्डमा हजारौँ विद्यार्थी खेलाडी सहभागी हुन्छन् । यसको यो सबभन्दा राम्रो पक्ष हो । यस प्रतियोगिताले गर्दा पनि गाउँगाउँमा प्रत्येक विद्यालयले खेलकुदलाई प्राथमिकतामा राखेको पाइन्छ ।











प्रतिक्रिया