बलिउडले आफ्ना सर्वाधिक प्रिय आइकनहरूमध्येका एक धर्मेन्द्रलाई गुमाएको छ । जसको ८९ वर्षको उमेरमा भारतको मुम्बई सहरमा निधन भयो । उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्य चर्चित व्यक्तिहरूबाट श्रद्धाञ्जली व्यक्त गरियो । उनको निधनले “भारतीय सिनेमामा एउटा फिल्म युगको अन्त्य” भनेर टिप्पणी गरिएको छ । आफूलाई प्रायः “एक साधारण मानिस” भनी वर्णन गर्ने धर्मेन्द्रले आफ्ना लाखौं प्रशंसकबाट असाधारण स्नेह र माया प्राप्त गरेका थिए । दशकौंसम्म सिनेमासँग घनिष्ठ सम्बन्ध जोडेका उनले ३ सयभन्दा बढी चलचित्रहरूमार्फत दर्शकहरूलाई मोहित पारेका थिए ।
बलिउडमा धर्मेन्द्रको उदय
८ डिसेम्बर १९३५ मा पञ्जाबको लुधियानास्थित नास्राली गाउँमा धर्मसिंह देओलको रूपमा जन्मिएका धर्मेन्द्र एक मध्यमवर्गीय जाट–सिख परिवारका थिए । उनका विद्यालयका शिक्षक बुबाले उनलाई पढ्नका लागि प्रेरित गरे तापनि उनले नौ कक्षामा हुँदा पहिलोपटक चलचित्र हेरेपछि फिल्मी संसारको प्रभावमा परे । त्यही प्रभावका कारण उनले भारतको चर्चित फिल्मफेयर पत्रिकाको अल इण्डिया टयालेन्ट कन्टेस्टमा भाग लिन र पछि जित्न प्रेरित ग¥यो । जसले उनलाई बम्बई (अहिले मुम्बई) जान र सन्् १९६० मा उनको पहिलो चलचित्र दिल भी तेरा, हम भी तेरेमार्फत अभिनय करियर सुरु गर्न अग्रसर बनायो । त्यसपछि तीन दशकसम्म उनले बलिउडमा राज गरे । उनले हरेक वर्षजसो हिट फिल्महरू दिए ।
उनले पहिलो पटक विमल रोयको सन् १९६३ को चलचित्र बन्दिनीबाट प्रशंसा प्राप्त गरे । त्यसलगत्तै नूतन र मीना कुमारी जस्ता प्रमुख अभिनेत्रीहरूसँग जोडी बनाएर सफल रोमान्टिक हिरोको रूपमा स्थापित बने । धर्मेन्द्रको बहुमुखी प्रतिभा सन् १९६६ मा फूल और पत्थरबाट एक्सन भूमिकामा देखियो र सन् १९७१ को हिट ‘मेरा गाउँ मेरा देश’ ले उनलाई एक्सन हिरोको रूपमा स्थापित ग¥यो । अग्लो र सुगठित शरीरका कारण उनी आफ्नो जोखिमपूर्ण एक्सन दृश्यहरू आफैं गर्ने हिरोको रूपमा परिचित थिए । रोमान्स र एक्सन फिल्मबाहेक उनी कमेडीमा पनि उत्कृष्ट अभिनय गरेका थिए । जसमा सन् १९७५ को हाँसोले भरिएको चलचित्र ‘चुपके चुपके’ मा उनको व्यंग्यात्मक कलाकारिताको दर्शकहरूले प्रशंसा गरेका थिए ।
वीरू, प्रेम सम्बन्ध र सार्वजनिक जीवन
धर्मेन्द्रको सबैभन्दा प्रतिष्ठित र यादगार भूमिका सन् १९७५ को ब्लकबस्टर चलचित्र ‘शोले’ मा वीरूको भूमिकाको रह्यो । उक्त चलचित्रले अपार सफलता प्राप्त गरेको थियो । उनले यसलाई आफ्नो सबैभन्दा राम्रो भूमिका मान्थे र भन्ने गर्थे, “मलाई लाग्दैन कि मैले वीरूको भन्दा राम्रो भूमिका कहिल्यै गरेको छु ।” अमिताभ बच्चन, हेमा मालिनी र जया बच्चन जस्ता हस्ती समावेश रहेको त्यस बहु–कलाकारयुक्त चलचित्रमा धेरै प्रशंसकहरूले धर्मेन्द्रलाई “शोलेको आत्मा” को रूपमा श्रेय दिएका थिए ।
उनलाई “बलिउडको वास्तविक हि–म्यान” र “गरम धर्म” उपनाम दिइएको थियो र उनलाई प्रायः सबैभन्दा ह्यान्डसम पुरुषहरूको विश्वव्यापी सूचीमा समावेश गरिन्थ्यो । सह–अभिनेताहरू पनि उनको आकर्षणबाट प्रभावित हुन्थे । अभिनेत्री जया बच्चनले उनलाई “ग्रीक गड” भन्ने गर्थिन् । त्यस्तै, सलमान खानले उनलाई “सबैभन्दा सुन्दर देखिने मानिस” भन्थे । यद्यपि, धर्मेन्द्रले सधैं आफ्नो सुन्दरताको श्रेय “प्रकृति र आमाबुबालाई” दिन्थे ।

अभिनेत्री हेमा मालिनीसँगको उनको प्रेम सम्बन्ध र विवाहले धेरै पटक समाचारको हेडलाइन बनाएको थियो । उनीहरू सीता और गीता र शोले जस्ता ब्लकबस्टरहरूमा अभिनय गर्दै ७० को दशकका कलाकारहरूमध्ये एउटा सफल स्क्रिन जोडी बनेका थिए । पहिलो पत्नी प्रकाश कौरसँग पहिले नै विवाहित र सन्तान भइसक्दा पनि मालिनीको परिवारको प्रतिरोधलाई पार गर्दै यो जोडीले अन्ततः सन् १९८० मा विवाह गरेका थिए । धर्मेन्द्रले छोटो समयका लागि राजनीतिमा पनि प्रवेश गरेका थिए । जहाँ उनले सन् २००५ देखि २००९ सम्म राजस्थानको बीकानेरबाट बीजेपी सांसद्को रूपमा एक कार्यकाल बिताएका थिए । तर, उनी संसद्मा कम उपस्थितिका कारण अक्सर आलोचनामा पर्ने गर्थे ।
अन्तिम वर्षहरू
दर्जनौं हिट फिल्महरू दिए पनि धर्मेन्द्रले बलिउडमा नम्बर एकको स्थान भने कहिल्यै प्राप्त गर्न सकेनन् । जुन सम्मान दिलीप कुमार, राजेश खन्ना र अमिताभ बच्चन जस्ता समकालीनहरूले पाएका थिए उनले कहिल्यै पाएनन् । तैपनि, उनी प्रतिस्पर्धाको दौडबाट टाढा रहेर आफूले मानिसहरूको माया मात्र चाहेको बताउँथे । सिनेमामा उनको योगदानलाई सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट अवार्ड र २०१२ मा भारतको सर्वोच्च नागरिक सम्मानहरूमध्ये एक पद्म भूषणबाट सम्मानित गरिएको थियो । पाको उमेरमा पनि उनले आफ्ना छोराहरूसँग अभिनय गर्दै लगभग जीवनको अन्त्यसम्म काम गरिरहे । रियालिटी शोहरूमा अतिथि बन्दै सामाजिक सञ्जालमार्फत प्रशंसकहरूसँग जोडिएका थिए । उनको निधनलाई “एउटा युगको अन्त्य“ र “भारतीय सिने उद्योगमा अपूरणीय खाडल” भनेर संज्ञा दिइएको छ ।
धर्मेन्द्रका सबैभन्दा चर्चित ७ चलचित्र तथा रिलिज गरिएको वर्ष :
फूल और पत्थर (१९६६), आँखें (१९६८), सत्यकाम (१९६९), चुपके चुपके (१९७५), मेरा गाउँ मेरा देश (१९७१), सीता और गीता (१९७२), शोले (१९७५)











प्रतिक्रिया