एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित


काठमाडौँ।

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले शानदार प्रदर्शन जारी राख्दै लगातार दोस्रो जित दर्ता गरेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै अंक तालिकाको माथिल्लो स्थान कब्जा गरेको हो।

१९४ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको पोखरा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १७५ रनमै सीमित भयो। लगातार दुई खेलमा पराजित भएपछि पोखरा एभेन्जर्स अंकतालिकाको पुछारमा झर्ने स्थितिमा पुग्यो।

पोखराका कप्तान कुशल भुर्तेलले ३२ बलमा चार चौका र चार छक्कासहित ५३ रनको आकर्षक इनिङ खेले। त्यस्तै, जेम्स निसमले आक्रामक ब्याटिङ गर्दै २५ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ४७ रन जोडे। सुदूरपश्चिमका बलरहरूमध्ये हरमित सिंहले दुई विकेट लिए भने स्कट कुग्गेलिजिन, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र नरेन साउदले समान एक–एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९३ रनको बलियो योगफल तयार गरेको थियो।

टिमका ओपनर जोश ब्राउनले ३५ बलमा ६ चौका र ५ छक्कासहित ६८ रनको उत्कृष्ट पारी खेले। क्रिस लिनले १३ बलमा ३१ रन तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १० बलमा १५ रन थपे।

यस्तै, विनोद भण्डारीले ४२ बलमा ६ चौका प्रहार गर्दै ४३ रन बनाए। बलिङतर्फ पोखराका लागि जेम्स निसमले तीन विकेट लिए भने डान डाउथवेट र आकाश चन्दले समान दुई–दुई विकेट हात पारे।