काठमाडौं ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सिंहदरबारस्थित नरसिंह दल गण परिसरमा निर्माण गरेको छवटा प्रिफ्याब्रिकेटेड (प्रिफ्याब) भवन सरकारलाई हस्तान्तरण गरेको छ । बुधबार डब्लूएचओका प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्मालाई एक कार्यक्रमबीच ती भवनहरू हस्तान्तरण गरेका हुन् ।
डब्लूएचओले १ लाख ५० हजार अमेरिकी डलर लागतमा प्रिफ्याब भवनसँगै आवश्यक फर्निचर तथा पूर्वाधार बनाइदिएको मन्त्रालयले जनाएको छ । जेन–जी आन्दोलनका क्रममा गत २४ भदौमा रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुख्य भवन जलेर पूर्ण रूपमा ध्वस्त भएपछि मन्त्रालयका नियमित कामकाज अवरुद्ध हुन पुगेको थियो । त्यही परिस्थितिमा मन्त्रालयलाई शीघ्र रूपमा कार्यसञ्चालन गर्न सक्ने सुविधा उपलब्ध गराउन डब्लूएचओको सहयोगमा सिंहदरबारभित्र वैकल्पिक संरचना निर्माण गरिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हस्तान्तरण सम्पन्न भइसकेकाले आगामी आइतबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबारबाट औपचारिक रूपमा काम प्रारम्भ गर्ने तयारी छ । मन्त्रिपरिषद् बैठक तथा उच्चस्तरीय समन्वयका कामहरू सहज बनाउन मन्त्रालयलाई सिंहदरबारभित्र पुनःस्थापित गर्नु आवश्यक रहेको अधिकारीहरूको भनाइ छ ।
निर्मित छ वटा प्रिफ्याब भवनमध्ये केहीमा मन्त्री शर्माको कार्यकक्ष र सचिवालय राखिने व्यवस्था मिलाइएको छ । त्यस्तै, एउटा टिन छानाको टहरोलाई पनि रङरोगन तथा सिंगारपटार गरेर प्रयोगयोग्य बनाइएको मन्त्रालयले जनाएको छ । भवनहरू तत्काल प्रयोगमा ल्याउन सकिने गरी भित्ता, बत्ती, फर्निचर, सूचना–प्रविधि उपकरण जडानलगायत आवश्यक आधारभूत पूर्वाधार समेटिएको बताइएको छ ।
गत भदौमा भएको जेन–जी आन्दोलनले सरकारका विभिन्न संरचनामा क्षति पु¥याएको थियो । रामशाहपथस्थित पुरानो स्वास्थ्य मन्त्रालय भवन आंशिक मात्र नभई पूर्ण क्षतिग्रस्त भएपछि मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछाडिको नयाँ भवन प्रयोग गर्दै दैनिक प्रशासनिक गतिविधि सञ्चालन गर्दै आएको छ । तर, त्यो भवन अस्थायी तथा सीमित क्षमताको भएकाले मन्त्रालयलाई पूर्ण क्षमता र चालू प्रणालीमा फर्काउन वैकल्पिक रूपमा सिंहदरबार भित्रको स्थान रोजिएको हो ।
यससँगै सिंहदरबारस्थित नरसिंह दल गणका दुईवटा पुराना भवनलाई पनि मर्मत तथा स्तरवृद्धि गरी क्रमशः कार्यमा ल्याउने योजना मन्त्रालयले बनाएको छ । मन्त्रालयका अधिकारीहरूका अनुसार सिंहदरबारभित्र मन्त्रालय पुनःस्थापित भएपछि अन्तर–एजेन्सी समन्वय, मन्त्रालयबीचको आवागमन, नीति निर्माण तथा निर्णय प्रक्रियामा चाँडै हुने प्रभावकारिता वृद्धि हुने अपेक्षा गरिएको छ ।
स्वास्थ्य सेवा व्यवस्थापन, औषधि आपूर्ति, नागरिक स्वास्थ्य बिमा, कार्यक्रम रूपरेखा तथा बजेट कार्यान्वयनलगायत कार्यहरू हाल अस्थायी रूपमा विभिन्न स्थानमा विभाजित भएर सञ्चालन हुँदै आएका छन् । नयाँ प्रिफ्याव संरचनाबाट यी सबै कार्यलाई एकीकृत रूपमा सञ्चालन गर्न सहज हुने मन्त्रालयको मूल्यांकन छ ।
डब्लूएचओले विपतपछिको पुनःस्थापनामा सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपाल सरकारसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । मन्त्रालयले डब्लूएचओको सहयोगलाई ‘समयमै प्राप्त महत्वपूर्ण सहयोग’ भनेको छ ।











प्रतिक्रिया