सुरक्षा चुनौतीका बीच बाराको घटनाले निर्वाचनमा संशय


काठमाडौं ।

सरकारले आगामी फागुन २१ मा संघीय संसद् निर्वाचन गर्ने घोषणा गरे पनि सुरक्षा चुनौती बढिरहेको अवस्थामा बुधबार बारामा भएको घटनाले निर्वाचनमा थप संशय पैदा भएको छ ।

जेन–जी आन्दोलनका नाममा भदौ २४ यता हिंसात्मक घटनासँगै बिभिन्न जेलबाट भागेका हजारौं कैदी र सुरक्षा निकायबाट लुटिएका हतियार प्रमुख सुरक्षा चुनौती बन्दै आएको छ । यसैबीच बुधबार बारामा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई जेन–जीका नाममा बारा आगमनमा नै निषेध गरेपछि बाराको एयरपोर्ट तनावग्रस्त बन्यो ।

जेन–जी अगुवाहरूको चुनाव रोक्ने चेतावनी; अर्कोतर्फ दलका प्रचार–प्रसारमा निरन्तर अवरोध देखिन थालेपछि चुनाव नै हुने कि नहुने भन्ने प्रश्न स्वयं दलका शीर्ष नेताहरूबीच पनि खुला रूपमा उठ्न थालेको छ ।राजनीतिशास्त्री डा. टिकाराम शर्माका अनुसार सरकार गठनपछि जनतामा केही आशा पलाएको र नयाँ सरकारले शान्ति–सुरक्षा, शुसासन र समृद्धिको आधार तयार गर्छ भन्ने विश्वास भए पनि सरकार झन बद्नाम हुँदै गएको र सुशासनको संकेत नै नदेखिएकोले जनतामा नयाँ आशंका जन्मिएको छ ।

यस्तै, अवस्था रहने हो भने निर्वाचन नहुने र भइहाले पनि वैधता पाउने स्थिति नरहेको डा शर्माको भनाइ छ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी वातावरण प्रतिकूल बन्दै गएको बताउँदै भन्नुभयो– ‘निर्वाचन गर्न प्रधानमन्त्रीले मुखले मात्रै भन्नुभयो, तर गाउँमा कार्यकर्ता जान खोज्दा अवरोध हुन्छ । यस्तोमा कसरी चुनाव हुन्छ ? काठमाडौंमा मात्र निर्वाचन त हुने होइन होला । चुनावको वातावरण नबने अर्को विद्रोह भड्किन सक्छ ।’

नेकपा एमालेका सचिव योगेश भट्टराईले अझ कडा शब्दमा टिप्पणी गर्दै भन्नुभयो ‘यो सरकार चुनाव गराउने मूडमै छैन । सिर्जना गरिएका झमेलाहरू, दलमाथि आक्रमण गराउने वातावरण हेर्दा चुनाव हुने अवस्था छैन ।जेन–जी आन्दोलनमा भएको हिंसापछि सुरक्षाकर्मीहरू अझै मर्माहत र त्रसित अवस्थामा रहेको विश्लेषण गरिन्छ । नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्लका अनुसार सुरक्षा निकाय आफैं कसरी सुरक्षित हुने भन्नेमा केन्द्रित छ । बिना हतियार, बिना स्रोत–साधन कसरी चुनावमा पठाउने ? अहिले निर्वाचनको वातावरण नै बनेको छैन ।’

सरकारी तथ्याङ्कअनुसार अहिले देशभर करिब ५ हजार कैदी फरार छन् भने १ हजारभन्दा बढी स्वचालित हतियार लुटेराको हातमा छन् ।सुरक्षा विज्ञ मनोहर केसी भन्नुहुन्छ – ‘फरार कैदी र लुटिएका हतियारको जोखिम अत्यन्त उच्च छ । यस्तो अवस्थामा भयमुक्त निर्वाचन हुने कुरा मुर्खता हो ।’

जेन–जी नाममा सक्रिय समूहले ग्रामीण क्षेत्रमा दलका सभा रोक्ने, धम्की दिने र कार्यकर्तालाई कुटपिट गर्ने घटना बढ्न थालेपछि दलहरू निर्धारित समयमै जिल्ला जान हिचकिचाउन थालेका छन् ।नेकपा एमालेका सचिव भट्टराईले टिप्पणी गर्नुभयो– ‘दलमाथि निषेध गरेर कुन किसिमको निर्वाचन गर्न खोजिएको हो ? यसले मुलुकलाई सकारात्मक सन्देश होइन, थप संकटतर्फ धकेलिरहेको छ ।’

बारा घटनाले झनै भय थपियो

बुधबार बारामा भएको तानातान, झडप र परिस्थितिजन्य तनावले मुलुकको चुनावी वातावरण एकाएक नाजुक बन्दै गएको छ । सुरक्षा विज्ञ मनोहर केसी भन्नुहुन्छ –बारा घटनाले सुरक्षा कमजोरी, राजनीतिक अस्थिरता र समूहगत भिडन्तको सम्भावना झनै बढाएको छ । यो सुरक्षित निर्वाचनको होइन, मुठभेडतर्फ धकेल्ने संकेत हो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बारामा भएको घटना चुनावमाथिको खतरा रहेको र यस्तो हिंसात्मक वातावरण सरकारले रोक्न नसक्नु राष्ट्रिय सुरक्षामा कमजोरी रहेको बताउनुभयो ।नेकपा एमालेका सचिव योगेश भट्टराइले बाराजस्तो संवेदनशील क्षेत्रमा समेत शान्ति कायम राख्न नसक्ने सरकारले देशभर चुनाव गराउने दाबी गर्नु हास्यस्पद रहेको बताउनुभयो । कांग्रेस नेता चन्द्र भण्डारीले बारा घट्ना कास्टिङमात्रै भएको बताउँदै यस्तो अवस्थामा निर्वाचन हुनै नसक्ने ठोकुवा गर्नुभयो ।