काठमाडौँ।
एनपीएल दोस्रो संस्करणको क्रिकेट प्रतियोगिता चलिरहेको अवसरलाई उपयोग गर्दै खेलाडीहरूलाई सामाजिक सञ्जालमार्फत खेलको नतिजामा प्रभाव पार्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा निगरानी गर्दै आएको प्रहरी टोलीले खेलमा स्पट फिक्सिङ गराउन आर्थिक प्रलोभन देखाइ रहेका व्यक्तिहरूलाई काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, ठाएको हो।
मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एनपीएल सिजन २ क्रिकेट प्रतियोगिताका केही सहभागी खेलाडीलाई “खेल कस्तो खेल्ने, कुन बलमा कस्तो प्रदर्शन गर्ने, हार–जीतमा प्रभाव पारिदिने व्यवस्था मिलाइदिन्छौँ” भन्दै सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका माध्यमबाट लगातार सम्पर्क गरिएकोबारे प्रहरीलाई विशेष जानकारी प्राप्त भएको थियो।
उक्त सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले निगरानी बढाउँदै संभावित व्यक्तिहरूको गतिविधि पछ्याएर अन्ततः लाजिम्पाट क्षेत्रबाट पक्राउ गर्न सफल भएको महाशाखाले जनाएको छ।
पक्राउ परेकाहरुमा भारतीय नागरिक दिलप्रीत सिंह, र नेपाली नागरिक रेविका सिंह ठकुरी रहेका छन ।
प्रहरीका अनुसार दुबै जना सट्टाबाजी तथा गैरकानुनी क्रिकेट फिक्सिङ नेटवर्कसँग सम्बन्धित हुनसक्ने प्रबल आशंका छ। उनीहरूद्वारा प्रयोग गरिएका मोबाइल, सामाजिक सञ्जाल आईडी तथा डिजिटल प्रमाणसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
खेलमा प्रभाव पार्ने प्रयासलाई प्रहरीले गम्भीर रूपमा लिएको
महाशाखाका प्रवक्ता एसपी काजीकुमार आर्चायका अनुसार— क्रिकेट लगायत खेलकुदमा फिक्सिङ प्रवेश गराउने प्रयास बढ्दै गएका छन्। यसले खेलको विश्वसनीयता तहस–नहस बनाउने खतरा भएकाले प्रहरी सधैं उच्च सतर्कतामा छ ।
उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यान आकर्षण गर्ने प्रतियोगितामा विदेशी नेटवर्क सक्रिय हुन खोजेको पाइएको छ, जसलाई समयमै नियन्त्रणमा लिनुलाई प्रहरीले सफलता मानेको छ।
सट्टाबाजी र खेल फिक्सिङसम्बन्धी अपराधलाई दण्डनीय मानिएको छ भने प्रहरीले यस्तो गतिविधिमा संलग्न जो–कोहीमाथि कडा कारबाही अघि बढाउने चेतावनी पनि दिएको छ।











प्रतिक्रिया