विराटनगर किंग्सको रवाफिलो जित


काठमाडौं।

नेपाल प्रिमियर लिग (एनपीएल २) दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा एभेन्जर्समाथि रवाफिलो जित निकालेको छ । मंगलबार त्रिवि रंगशालामा भएको खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको हो ।

पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । यसको जवाफमा पोखरेली टोली १ सय ६७ रन जोड्दै अलआउट भएको थियो । योसँगैं पोखराको लागि एनपीएल २ मा पनि अझ मेहनत गर्नु पर्ने देखिएको छ । पोखराको पहिलो संस्करणमा पनि राम्रो प्रदर्शन भएको थिएन ।

पोखरा हार्नुको कारण जेम्स निशाम शून्यमै आउट हुनु मुख्य रह्यो । गत संस्करणमा ब्याटिङले दर्शकको मन जितेका निशामलाई सन्दीप लामिछानेले आउट गरेका थिए । सन्दीपले टोलीको आठौं ओभरमा निशामको विकेट लिनुका साथै तिर्थराज दासलाई पनि शून्यमै आउट गरेर पोखरालाई ब्याकफुटमा पारेका थिए ।
पोखराका कप्तान कुशल भुर्तेलले टोलीलाई केहा आसमा राखेपनि उनी पनि सातौं विकेटका रूपमा ५९ रन बनाएर आउट भए । कप्तान आउट हुनाले पोखरा पराजिततिर अग्रसर भइसकेको थियो । उनको विकेट लिएपछि विराटनगरले जितको औपचारिकता पूरा गर्न मात्रै बाँकी रहेको थियो । बाँकी तीन विकेटले पोखरालाई १ सय ६७ रनसम्म पु¥याउन सके ।

विराटनगरको बलिङमा सबै बलरले विकेट लिएका थिए । जसमा, सन्दीप र शुभम् रन्जने, मर्चान्ट डी लान्ज र प्रतिश जिसीले २–२ विकेट लिए भने बसिर अहमद र सूर्य तामाङले १–१ विकेट हासिल गरेका थिए ।

छक्काको वर्षा

यसअघि विराटनगर किंग्सका लागि मार्तिन गप्टिल, लोकेस बम, शुभम् रन्जने र बसिर अहमदले आक्रमक ब्याटिङ गरे । जुन टी २० फरम्याटमा दर्शकलाई मनोरन्जन गराउन आवश्यक थियो । उनीहरूले त्रिवि रंगशालाको फ्लडलाइटमा चौका र छक्काको वर्षा गरिरहँदा दर्शकलाई सिटबाट उठेर नाच्न बाध्य तुल्याइएको थियो ।

यसमा ओपनर लोकेसले सर्वाधिक रन र सर्वाधिक छक्का प्रहार गरे । उनले ७ छक्का र १ चौका प्रहार गर्दै ४८ बलमै ७२ रन बनाए । यस्तै, गप्टिलले ३५ बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै ६१ रन बटुलेका थिए । यसैगरी शुभमले १६ बलमै ३८ रन र बसिरले १३ बलमा २३ रन बनाएका थिए ।

पाँचालको ९० रन खेर गयो

मंगलबार भएको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हरायो । योसँगैं चितवनले एनपीएल २ मा जितबाट शुरुआत पनि ग¥यो । अन्तसम्म प्रयत्न गरेपनि चितवनका राइनोज कर्णालीका याक्समाथि भारी नै प¥यो । बलिङ र ब्याटिङ दुबैमा चितवनले राम्रो प्रदर्शन गरेको थियो ।

१ सय ६७ रनको विजयी लक्ष्य चितवनले १९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । जसमा, बोपराले सर्वाधिक ५२ रन जोड्दा बोहराले ४२ रन बनाएका थिए । यस्तै, सैफ जेबले ३८ र कप्तान कुशल मल्लले २० रनको योगदान दिएका थिए । कर्णालीको बलिङमा सोमपालले २ विकेट लिए भने उनिश, मार्क वाट र युवराजले एक–एक विकेट लिए ।

त्यसअघि कर्णालीले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । जसमा, ओपनर प्रियांक पाञ्चलले ९० रन बनाए । उनको यो रन पछि बलिङ त्यति असरदार नहुँदा खेर पनि गयो । पाञ्चाललाई अर्को इण्डबाट गतिलो सहयोग नमिल्नु नै उनलाई दबाब धेरै परेको थियो । उनी टोलीको रन गति बढाउने सुरमा आउट भएका थिए । बलिङमा सोहेल तनवीर, सैफ र बोपराले एक–एक विकेट लिए ।

एनपीएलमा उच्चतम स्कोर

विराटनगर किंग्सले २ सय २० रन बनाउनु एनपीएलमा अहिलेसम्मकै उच्चतम स्कोर हो । अघिल्लो उच्चतम रन पहिलो संस्करणको एनपीएलमा विराटनगरले नै बनाएको थियो । विराटनगरले लुम्बिनी लायन्सविरुद्ध १ सय ९३ स्कोर गरेर लुम्बिनीकै १ सय ९१ स्कोरलाई पछि पारेको थियो ।