काठमाडौँ।
राहदानी विभाग, त्रिपुरेश्वरको मुलगेट बाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भन्दै ठगी गर्ने ८ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। अतिरिक्त रकम लिएर सेवाग्राहीलाई हैरान बनाउँदै विभागका कर्मचारीको कामकारबाहीमा समेत अवरोध पुर्याउँदै आएको विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पाँचथर, फाल्गुनन्द–४ घर भइ हाल ललितपुर महानगरपालिका–९ बस्ने सन्जय आङ्देम्बे (२६ वर्ष), काठमाडौं, शंखरापुर–६का ख्याम बहादुर श्रेष्ठ (३२ वर्ष), सिन्धुपाल्चोक, चौतारासाँगाचोकगढी–३ घर भइ हाल काठमाडौं महानगरपालिका–३२ बस्ने प्रेम बहादुर लामा (२५ वर्ष), सिन्धुपाल्चोक,चौतारासाँगाचोकगढी–६ घर भइ हाल काठमाडौं महानगरपालिका–२८बस्ने भगवान तामाङ (१८ वर्ष), सुर्खेत, बराहताल–१०घर भइ हाल काठमाडौं महानगरपालिका–२६ बस्ने टेक बहादुर सुनार (२९ वर्ष), दोलखा, भिमेश्वर–२का साजन श्रेष्ठ (३० वर्ष), रामेछाप नगरपालिका–५ का गोकुल बहादुर श्रेष्ठ (४० वर्ष, सिन्धुपाल्चोक, चौतारासाँगाचोकगढी–३ का जिवन लामा (३८ वर्ष) रहेका छन्।
सोमबार पक्राउ गरी प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।
सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार, राहदानी प्रक्रियालाई सहज र पारदर्शी बनाउने उद्देश्यमाथि अफर–ठगी गर्ने बिचौलियाले नकारात्मक प्रभाव पारिरहेको हुँदा यस्ता अवैध क्रियाकलापविरुद्ध कडाइका साथ कारबाही अघि बढाइएको छ।











प्रतिक्रिया