भक्तपुरमा मतदाता नामावली दर्ताका लागि बढ्यो भीड

846
Shares

भक्तपुर ।

जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्नेको भीड दिनप्रतिदिन बढ्दै गएको छ । दैनिक डेढ–दुईसय जनाबाट सुरु भएको भिड अहिले ८ सयभन्दा माथि पुगिसकेको छ ।

कार्यालयमा हाल दुई स्थानबाट फोटो खिच्ने कार्य हुँदै आएकोमा सेवा द्रुत बनाउन सोमबारदेखि थप दुई स्थानमा फोटो खिच्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । प्रजिअ ढकालले निर्वाचन कार्यालयको भीड व्यवस्थापन गर्दै कामको गति बढाउन निर्वाचन कार्यालय पुगेरै आवश्यक निर्देशन दिएको बताए ।

स्थलगतरुपमा मतदाता नामदर्ता कार्य अवलोकन गर्दा भीड बढ्दै गएको देखिएपछि तत्काल कार्यक्षमता वृद्धि गर्ने निर्णय गरेको र सुरक्षा व्यवस्थापन पनि कडा पारिएको प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ ।

जिल्ला निर्वाचन अधिकारी प्रकाश मगरका अनुसार हालसम्म ७ हजारभन्दा बढी नयाँ मतदाता थपिईसकेका छन् । उनका अनुसार दैनिक डेढ–दुई सय जना नाम दर्ता गर्न आउने गरे पनि शुक्रबारदेखि यो संख्या बढेर ८ सय ६५ पुगेको छ । भीड बढेसँगै बिहान ८ बजेदेखि नै नामदर्ता सेवा सुरु गरिएको छ ।
मतदाता नामावलीमा दर्ता गर्न आएकाहरुको एउटै माग छ, ‘काम छिटो छरितो भए अरु केही चाहिँदैन ।’

जिल्ला प्रशासन कार्यालयले ब्यवस्था गरेको थप जनशक्ति र प्राविधिक सहयोगले आगामी दिनमा सेवाग्राहीलाई थप सहज हुने अपेक्षा सेवाग्राहीले गरेका छन्।