पाटन अस्पतालमा पार्किङ ठेक्का लगाउन उच्च अदालतद्वारा रोक


  ललितपुर।

उच्च अदालत पाटनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको भूमिगत पार्किङ क्षेत्र भाडामा दिने सम्बन्धी बोलपत्र आहान तत्काल कार्यान्वयन नगर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाउँमा अन्तरकालीन आदेश जारी गरेको छ ।

प्रतिष्ठानले सो क्षेत्र भाडामा दिने विषयमा गत असोज २६ गते एक राष्ट्रिय दैनिक पत्रिकामा बोलपत्र आहवानको सूचना प्रकाशित गरेको थियो। भाडामा पार्किङठेक्का लगाउने कार्यले सर्वसाधारण जनतालाई पर्न  हैरानी हुने भएकोले कानुनी र नैतिक हिसाबले सो कार्य उचित होइन भन्दै दायर रिट निवेदनमा बहस हुँदा उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले सोमबार सो आदेश दिएको हो।अदालतले बोलपत्र सूचना हाललाई यथास्थितिमा राख्नु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको आदेशमा भनिएको छ ।

नारायण तण्डुकार समेतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत विपक्षी बनाई दर्ता गरेको सो मुद्दामा निवेदकका सम्बन्धमा वरिष्ठ अधिवक्ता श्री कपिलचन्द्र पोखरेल तथा विद्वान अधिवक्तात्रय राजु शाक्य, युद्धमान महर्जन र सुनिल महर्जनले बहस  गरेका थिए। अदालतले सो विवाद सार्वजनिक सरोकारको रहेको उल्लेख गर्दै अन्तरिम आदेशको निरन्तरताको सम्बन्धमा छलफल गर्न यही कार्तिक ३० गते दुवै पक्षलाई बोलाएको छ।

‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुदं प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाको म्याद बाहेक १५ दिनभित्र विपक्षी नं. १ र ४ लाई आफै वा कानून बमोजिमको प्रतिनिधि मार्फत र विपक्षी नं. २ र ३ लाई उच्च सरकारी वकिल कार्यालय ललितपुर मार्फत लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र निवेदनको प्रतिलिपि समेत साथै. राखी विपक्षीहरुका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार गरी पेस गर्नु ।’ अदालतको  आदेशमा भनिएको छ ।