बागमतीको आर्थिक वृद्धिमा सुधार


काठमाडौं ।

बागमती प्रदेशको आर्थिक वृद्धिमा गत आर्थिक वर्षको तुलनामा उल्लेखनीय सुधार भएको छ । नेपाल राष्ट्र बैंकको ‘बागमती प्रदेश आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार प्रदेशको आर्थिक वृद्धि ५.२ प्रतिशत रहने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा यो वृद्धि ३.७ प्रतिशतमा सीमित थियो ।

प्रतिवेदनअनुसार बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्र प्रमुख रहँदै ७७.१ प्रतिशत योगदान गर्नेछ । कृषि क्षेत्रमा ११.८ प्रतिशत र उद्योग क्षेत्रमा ११.१ प्रतिशत योगदान रहने अनुमान छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा देशको आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहनेछ । यस वर्ष राष्ट्रिय जीडीपीमा कृषि क्षेत्रको योगदान २५.२ प्रतिशत, उद्योग १२.८ प्रतिशत र सेवा क्षेत्र ६२.० प्रतिशत रहनेछ ।

समीक्षा वर्षमा बागमती प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल ७.५ प्रतिशत घटेको छ । यस्तै, यस्ता बालीको उत्पादन ६.५ प्रतिशतले घटेको छ । प्रमुख खाद्यान्न बालीमध्ये कोदो उत्पादन ५.२ प्रतिशतले बढे पनि धान १.१ प्रतिशत, मकै ५.० प्रतिशत, फापर ५.१ प्रतिशत, गहुँ १८.५ प्रतिशत तथा जौ ३२.६ प्रतिशतले घटेको छ । तरकारी तथा बागवानी उत्पादन १६.२ प्रतिशतले बढेको छ । दुध उत्पादन १.२ प्रतिशतले, मासु उत्पादन २.९ प्रतिशतले घटेको र अण्डा उत्पादन २.७ प्रतिशतले बढेको प्रतिवेदनले जनाएको छ । यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले कृषिमा ३.७ प्रतिशत कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै प्रतिवेदनअनुसार बागमती प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग ३८.७ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यो दर ४४.३ प्रतिशत थियो ।नमुना छनोटमा परेकामध्ये चाउचाउ उद्योगले सर्वाधिक क्षमता उपयोग गरेको छ भने वस्त्र समूहअन्तर्गत गार्मेन्ट उद्योगको क्षमता उपयोग सबैभन्दा न्यून देखिएको छ ।

उद्योगहरूले समीक्षा वर्षमा ६,२६६ जनालाई रोजगारी प्रदान गरेकोमा १८८ विदेशी र बाँकी स्वदेशी रहेका छन् । प्रदेशमा दर्ता भएका उद्योगमध्ये चाउचाउ, बिस्कुट, पेय पदार्थ, इँटा, औषधी, सिमेन्ट, पृथक किसिमका जुत्ता, कपडा तथा पश्मिना उत्पादन प्रमुख रहेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०८१÷८२ मा कुल ५४३ नयाँ उद्योग दर्ता भएका छन् ।

प्रदेशमा प्रवाहित कुल कर्जामध्ये ३६.४ प्रतिशत भाग औद्योगिक क्षेत्रमा गएको छ । औद्योगिक कर्जामध्ये ९२.४ प्रतिशत काठमाडौंमा रहेको छ । विद्युत्, ग्यास तथा पानी क्षेत्रले सबैभन्दा बढी ३६.५ प्रतिशत कर्जा लिएपछि गैरखाद्य वस्तु उत्पादन ३१.५ प्रतिशत, कृषि तथा पेय पदार्थ उत्पादन १५ प्रतिशत, निर्माण १२.८ प्रतिशत, धातु तथा मेसिनरी ३.५ प्रतिशत र खानी ०.७ प्रतिशतले कर्जा उपयोग गरेका छन् । असार मसान्तसम्म प्रदेशमै औद्योगिक कर्जा १३.८ प्रतिशतले बढेर १२ खर्ब ११ अर्ब ५ करोड पुगेको छ । निक्षेप संकलन १०.८४ प्रतिशत र कर्जा प्रवाह ११.३५ प्रतिशतले बढेको छ । कर्जा–निक्षेप अनुपात ६९.२७ प्रतिशत रहेको छ । समीक्षा वर्षमा नमुना छनोटमा परेका होटलहरूको औसत क्षमता उपयोग ५७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यो ५१.९ प्रतिशत थियो ।

पछिल्लो वर्ष बागमती प्रदेशमा ९०.४२ किलोमिटर नयाँ सडक निर्माण भएको छ । साथै, १४८.९३ किलोमिटर ग्राभेल तथा ३६२.२३ किलोमिटर कालोपत्रे सडक स्तरोन्नति गरिएको छ । सोही अवधिमा ३७ सडक पुल तथा ७ झोलुंगे पुल निर्माण भएका छन् । पछिल्ला तीन वर्षमा १२३५.४८ किलोमिटर नयाँ सडक निर्माण भएको छ ।

यसैगरी आर्थिक वर्ष २०८१÷८२ मा १ लाख ३७ हजार ६ सय व्यक्तिले वैदेशिक रोजगार स्वीकृति लिएका छन्, जुन कुल श्रम स्वीकृतिको १६.३९ प्रतिशत हो । गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड बजेट विनियोजन गरेकोमा ७३.७९ प्रतिशत अर्थात् ४७ अर्ब ६२ करोड खर्च भएको छ । असार मसान्तसम्म २८ अर्ब ३५ करोड राजस्व संकलन भएको छ । प्रतिवेदनअनुसार मुद्रास्फीति वाञ्छित सीमाभित्र रहनु, ब्याजदर घट्नु, जलविद्युत् उत्पादन तथा विदेशी पर्यटक आगमन बढ्नु, निर्यात तथा विप्रेषण बढ्नु सकारात्मक पक्ष हुन् । तर, पछिल्ला वर्ष उद्योग तथा निर्माण क्षेत्रको विस्तार कमजोर रहँदा समग्र अर्थतन्त्रमा दबाब कायम छ ।