प्रलयका उथुलपुथुलले ठडिएका गगनचुम्बी हिमशृङ्ला, ग्ल्यासियर आदिको दृश्यावलोकन, चौरी गाई, लोपोन्मुख वन्यजन्तुको आश्रयस्थल कतै झुरुप्प त कतै अलि बाक्लो बस्ती, पदमार्गका वरिपरि रहेका माने, छुर्तेन, गोम्बा, लालीगुँरास, मार्गको नजिकै रहेको नदीको सुस्याहट, चराचुरुङ्गीको गायन, हिमचितुवा, घोरल, थारल, बँदेल, भालु, लङ्गुर बाँदर यहाँका मुख्य आकर्षण हुन् ।
३ हजार १ सय ६५ मिटरको उचाइमा रहेको नागथली रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर १ थुमनमा पर्छ । यो ठाउँ हाइकिङ र प्राकृतिक सौन्दर्यसँग रमाउन सकिने उत्कृष्ट गन्तव्य हो ।
थुमन गाउँबाट ४ घण्टाको ठाडो उकालो चढेपछि पुगिने नागथली स्थानीयले नगथली भन्ने गर्दछन् । गुम्बानजिकै नागको थान रहेकाले यो ठाउँको नामकरण भई नागथली भनिएको हो । चन्द्रपात्रोअनुसार वैशाख र असोज महिनाको पूर्णिमाका दिन यहाँ मेलासहित गुम्बामा विशेष पूजा हुन्छ । गुम्बाभित्र भगवान् बुद्व, चेरेसी र गुटासिङतोङको मूर्ति रहेको छ । उहिले गुरु रिम्बोर्छे यस क्षेत्रमा तपस्या गर्न आएको र आफूले गुम्बा निर्माण गरेको भन्ने जनविश्वास रहेको छ ।
उक्त गुम्बा नागथली गुम्बादेखि उत्तर पश्चिमको कुनामा छ । यसवरपर गुरु रिम्बोर्छेको पैतालाको डोब, पापधर्म छुट्याउने सुरुङ, खण्डोमो क्षाम्सा अर्थात् देवी नाच्ने थान, ढुङगे गुफा, गुरु रिम्बोर्छेले मन्त्र गरी निकालेको कहिल्यै नसुक्ने तर सानो पानीको मुहान, जसलाई पवित्र जलको रूपमा प्रयोग गरिन्छ । याक÷चौंरी, भेडा चरन र खर्क, विभिन्न किसिमका फूल,
लालीगुँरास आदिका बृक्षको दृश्य यहाँका महत्वपूर्ण आकर्षण हुन् ।नागथलीबाट गणेश हिमालको फेँदी करीब १ दिनको पैदलयात्रामा अवस्थित छ । यहाँबाट करीब २ घण्टा पैदलयात्रा गरी मनोरम दृश्यावलोकनको थलो तरुचे पुग्न सकिन्छ । जहाँबाट चीनतर्फका ठोङ्सा, नेस्यारगाउँ, च्याङगाउँ वरपरका दृश्यहरू देख्न सकिन्छ ।
प्रलयका उथुलपुथुलले ठडिएका गगनचुम्बी हिमशृङ्ला, ग्ल्यासियर आदिको दृश्यावलोकन, चौरी गाई, लोपोन्मुख वन्यजन्तुको आश्रयस्थल कतै झुरुप्प त कतै अलि बाक्लो बस्ती, पदमार्गका वरिपरि रहेका माने, छुर्तेन, गोम्बा, लालीगुँरास, मार्गको नजिकै रहेको नदीको सुस्याहट, चराचुरुङ्गीको गायन, हिमचितुवा, घोरल, थारल, बँदेल, भालु, लङ्गुर बाँदर यहाँका मुख्य आकर्षण हुन् । तिब्बतीयन÷शेर्पा संस्कृति, भेषभूषा र रहनसहन पनि यहाँको आकर्षण हो, होटल, लज तथा रेष्टुरेन्टको व्यवस्था रहेको छ ।
पासाङल्हामू राजमार्ग स्याफ्रुबेंसी–टिमुरे खण्डमा पर्ने रोङ्गाबाट मेन्दो, थुमन हुँदै, पासाङल्हामू राजमार्ग स्याफ्रुबेंसीबाट गोल्जुङ÷गतलाङ, चिलिमे (तातोपानी) हुँदै अर्थात् तामाङ सम्पदा मार्गको प्रयोग गरेर पनि पुग्न सकिन्छ । यो आन्तरिक तथा बाह्य पर्यटनका लागि निकै उत्कृष्ट घुम्न जाने ठाउँमा पर्दछ । यसकारण पारिवारिक रूपमा घुम्न सकिन्छ, यसैले एकपटक समय मिलाएर जानै पर्ने ठाउँ रहेको नागथली ऐतिहासिक र सांस्कृतिक रूपले पनि ऐतिहासिक कुरा जान्न पाइन्छ र माला गढीसमेत हेर्न पाइन्छ ।











प्रतिक्रिया