काठमाडौं ।
मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले वैकल्पिक सरकार गठनको लागि आह्वान नगरी नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक रहेको जिकिर गर्दै सर्वोच्च अदालतमा दुईवटा रिट दर्ता भएको छ । सो रिटमाथि आज बिहान १० बजेका लागि पेशी तोकिएको छ ।
प्रदेश प्रमुख भण्डारी संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रक्रिया नअपनाई उपधारा ३ अन्तर्गत मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक रहेको जिकिर गर्दै अर्जुन शाहले सर्वोच्च सोमबार सो रिट दायर गर्नुभएको हो । त्यसै गरी रक्कीप्रसाद साह र सुजित यादवले पनि उक्त नियुक्तिविरुद्ध रिट दायर गर्नुभएको थियो । मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरिएको थियो ।
प्रदेश प्रमुखले उक्त आह्वान नगरी धारा १६८ को उपधारा ३ अन्तर्गत एमाले संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गरेको रिट निवेदनमा भनिएको छ । रिटमा नेपालको संविधानको धारा १३३ को उपधारा २ बमोजिम उत्प्रेषण आदेश जारी गरी यादवलाई मुख्यमन्त्री नियुक्ति गर्ने प्रदेश प्रमुखको निर्णय बदर गर्न माग गरिएको छ । रिटमा प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मधेस प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइएको छ ।
तर रिट निवेदनअनुसार, प्रदेश प्रमुख सुवेदीले नयाँ सरकार गठनका लागि आह्वान नगरी प्रत्यक्ष रूपमा नेकपा (एमाले) का संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । रिटमा भनिएको छ, ‘प्रदेश प्रमुखले संविधानअनुसार आह्वान नगरी प्रत्यक्ष रूपमा उपधारा ३ अन्तर्गत मुख्यमन्त्री नियुक्त गर्नु संविधानको मर्म, प्रक्रिया र विधिको शासनको सिद्धान्त विपरीत छ ।’
रिटमा भनिएको छ, ‘प्रदेश प्रमुखले आह्वान नै नगरी उपधारा ३ अन्तर्गत मुख्यमन्त्री नियुक्त गरेकी छन्, जुन कार्य असंवैधानिक, मनपरी र अधिकार क्षेत्रबाहिरको हो ।’ शाहका अनुसार, यस कार्यले नेपालको संघीय लोकतान्त्रिक संविधानमा उल्लिखित संवैधानिक शासन, निष्पक्षता, विधिको शासन र लोकतान्त्रिक उत्तरदायित्वका सिद्धान्तको उल्लंघन गरेको छ ।
प्रदेश प्रमुखद्वारा गरिएको मुख्यमन्त्री नियुक्ति बदर गरी उक्त कार्यलाई असंवैधानिक र अमान्य घोषणा गर्न रिट निवेदनमा माग गरिएको छ । यस्तै उपधारा २ अन्तर्गतको संवैधानिक प्रक्रिया पूरा नगरी गरिएको कुनै पनि नियुक्ति शून्य र अमान्य ठहर गर्न पनि माग गरिएको छ ।

प्रदेश प्रमुख भण्डारी पदमुक्त
मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त हुनुभएको छ । पदीय गरिमाविपरीत होटेलमा बसेर एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियक्त गरी शपथ गराएपछि सरकारले उहाँलाई पदमुक्त गरेको हो ।
मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले उहाँलाई पदमुक्त गर्ने निर्णय गर्दै सुरेन्द्र लाभलाई नयाँ प्रदेश प्रमुखको रूपमा सिफारिस गरेको छ । एमाले कोटाबाट प्रदेश प्रमुख बनेकी भण्डारीले प्रदेश प्रमुखको कार्यालयभन्दा बाहिर गएर बर्दिवासको एउटा होटलमा नयाँ मुख्यमन्त्रीको नियुक्ति र शपथ गराउनुभएको थियो ।











प्रतिक्रिया