मधेशको मुख्यमन्त्री कार्यालयमा तालाबन्दी, मन्त्रालयमा तोडफोड


काठमाडौँ।
मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीको नियुक्तिविरुद्ध विरोध प्रदर्शन तीव्र बनेको छ। विरोधका क्रममा मुख्यमन्त्री कार्यालयमा तालाबन्दी र तोडफोड भएको छ।

नेपाली कांग्रेसलगायत सात दलका नेता तथा कार्यकर्ताले सोमबार बिहान मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्दै तोडफोड गरेका हुन्। तोडफोडबाट कार्यकक्षमा सामान्य क्षति पुगेको छ।

निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलसहितका सांसदहरूले नयाँ मुख्यमन्त्रीलाई कार्यालय प्रवेश गर्न नदिने रणनीति बनाएका छन्।

प्रदेश प्रमुख सावित्रा भण्डारीले आइतबार एमालेका सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। सोमबार बिहान राजधानी बाहिर एक होटलमा यादवले पद तथा गोपनीयताको शपथ लिएका थिए।

हतारमा मुख्यमन्त्री नियुक्ति र राजधानी बाहिर शपथ ग्रहण गराइएको भन्दै मधेशकेन्द्रित दलहरूले विरोध सुरू गरेका हुन्। यस क्रममा केही मन्त्रालयमा पनि तोडफोड भएको बताइएको छ।