नेपालका पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौँ ।

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण नेपालका पहाडी भूभागमा आंशिक बदली र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने र कोशी, गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको छ। आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम सफा रहने महाशाखाले जनाएको छ।